काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाली विद्यार्थी र युवालाई करिअर पथ छनोटसम्बन्धी सही, यथार्थपरक र जीवनोपयोगी जानकारी उपलब्ध गराउने उद्देश्यले करिअर मार्गनिर्देशन डिजिटल प्लेटफर्म सुरु गरेको छ।
मंगलबार आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुणामणि पौडेलले उक्त डिजिटल प्लेटफर्मको उद्घाटन गर्नुभयो।कार्यक्रममा मन्त्रालयका उच्च अधिकारीहरू, शिक्षा क्षेत्रका सरोकारवाला तथा विकास साझेदारहरूको सहभागिता रहेको थियो।
नेपाल सरकार र स्विस सरकारको सहकार्यमा सञ्चालित दीगो तथा सम्मानित रोजगारीका लागि सीप (ENSSURE) परियोजनाको सहयोगमा तयार गरिएको यो प्लेटफर्म मन्त्रालयको वेबसाइट www.moest.gov.np मार्फत उपलब्ध छ।
यो प्लेटफर्मले नेपालमा परम्परागत रूपमा विद्यार्थीहरूले सीमित जानकारी, साथीभाइको प्रभाव, अभिभावकको दबाब तथा परीक्षामा प्राप्त अंकका आधारमा उच्च शिक्षा र करिअर पथ छनोट गर्ने प्रवृत्ति रहेको छ। तर व्यवस्थित करिअर मार्गनिर्देशन सेवाले युवालाई उनीहरूको रुचि, क्षमता र आकांक्षाका साथै श्रम बजारको यथार्थलाई समेत ध्यानमा राखी निर्णय लिन सहयोग पुग्ने विश्वसा गरिएको छ । यसले अध्ययन बीचमै छाड्ने प्रवृत्ति घटाउन, सिकाइ उत्प्रेरणा बढाउन र दक्ष तथा उत्पादक जनशक्ति विकासमा योगदान पुर्याउने अपेक्षा मन्त्रालयले गरेको छ ।
राष्ट्रिय शिक्षा नीति २०७६, राष्ट्रिय पाठ्यक्रम प्रारूप, प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम क्षेत्रगत रणनीति (२०२३–२०३२) र १६औँ पञ्चवर्षीय योजनाले करिअर मार्गनिर्देशन सेवालाई मानव स्रोत विकासको मुख्य रणनीतिका रूपमा समेटेको मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालले जानकारी दिनुभयो।
डिजिटल प्लेटफर्ममार्फत मनोवैज्ञानिक परीक्षण (साइकोमेट्रिक टेस्ट), करिअर अन्वेषणका उपाय तथा मार्गनिर्देशन स्रोत सामग्री प्रयोग गरी विद्यार्थीलाई उनीहरूको योग्यता र क्षमताअनुसार शैक्षिक, प्राविधिक तथा व्यावसायिक करिअर छनोटमा सहयोग गरिनेछ। साथै रोजगारीका लागि आवश्यक सीप, तयारी र करिअर विकासका मार्गबारे जानकारी प्रदान गरिनेछ।

संघीय संरचनाअनुसार यो प्रणाली स्थानीय तहमा विद्यालयमार्फत सञ्चालन गरिनेछ भने प्रदेश सरकारमार्फत शिक्षक तालिम तथा क्षमता विकास कार्यक्रम अघि बढाइनेछ। संघीय सरकारले नीति निर्देशन, मापदण्ड निर्धारण र प्लेटफर्मको गुणस्तर सुनिश्चित गर्ने जिम्मेवारी लिनेछ।
कार्यक्रममा बोल्दै सचिव पौडेलले राष्ट्रिय विकासका लागि दक्ष र उत्पादक जनशक्ति अपरिहार्य रहेको उल्लेख गर्दै सूचित निर्णयका आधारमा करिअर छनोट गर्नु अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। स्विट्जरल्यान्डका कार्यवाहक राजदूत माथियास मेयरले डिजिटल युगमा तथ्यपरक श्रम बजार जानकारीसहितको समावेशी करिअर मार्गनिर्देशन प्रणालीमार्फत नेपाललाई विद्यालयदेखि रोजगारीसम्मको यात्रामा सहयोग गर्न स्विस सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
करिअर मार्गनिर्देशन सेवाबाट लाभान्वित दाङको राजपुर गाउँपालिकाका विद्यार्थी आकाश पुनले सुरुमा आफूले कुन दिशामा अघि बढ्ने भन्ने अन्योल रहेको तर यो सेवाले सही बाटो देखाएको अनुभव सुनाउनुभयो।
करिअर मार्गनिर्देशन डिजिटल प्लेटफर्मको स्थापना शिक्षा र रोजगारीबीचको दूरी घटाउँदै नेपालको दीगो विकास प्रयासमा महत्वपूर्ण कोशेढुंगा सावित हुने विश्वास मन्त्रालयले लिएको छ।


