भोजपुरमा दुई शीत भण्डारण निर्माण

भोजपुरमा दुई शीत भण्डारण निर्माण

भोजपुर– स्थानीयस्तरमा उत्पादन हुने कृषि उपजको भण्डारण र बजारीकरण सहज बनाउने उद्देश्यका साथ भोजपुरको रामप्रसादराई गाउँपालिकाले दुईवटा शीत भण्डारण (कोल्ड स्टोर) निर्माण गरेको छ । उत्पादन भएका कृषि उपजलाई सुरक्षित रूपमा भण्डारण गरी बेमौसममा समेत उचित मूल्य पाउने वातावरण सृजना गर्ने लक्ष्यका साथ शीत भण्डारण केन्द्र निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका वडा नं १ ओख्रेमा एक करोड ५० लाख रुपैयाँको लागतमा ७२ हजार केजी भण्डारण क्षमताको शीत भण्डारण निर्माण गरिएको छ । गाउँपालिका केन्द्र वैकुण्ठेमा चिस्यान केन्द्रसम्म पुग्ने पहुँचमार्ग ढलानसहित तीन करोड रुपैयाँको लागतमा ३६ हजार केजी क्षमता भएको अर्को शीत भण्डारण केन्द्र निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत आङलाक्पा तामाङले जानकारी दिनुभयो ।

दुवै शीत भण्डारण केन्द्र सञ्चालनको अन्तिम तयारीमा रहेको उहाँले बताउनुभयो । “स्थानीय कृषि उपजको भण्डारणका लागि दुईवटा शीत भण्डारण निर्माण गरेका छौँ, ओख्रेको शीत भण्डारण केही दिनमा प्रयोगमा आउने छ भने वैकुण्ठेस्थित केन्द्र पनि छिट्टै सञ्चालनमा ल्याइनेछ”, उहाँले भन्नुभयो ।

शीत भण्डारणलाई व्यवस्थित र पारदर्शी रूपमा सञ्चालन गर्न गाउँपालिकाले ‘शीत भण्डारण सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०८२’ तयार गरी लागू गरेको छ । कार्यविधिअनुसार छुट्टै शीत भण्डारण सञ्चालन कोषको व्यवस्था गरिएको छ । हाललाई रु तीन लाखको सञ्चालन कोष स्थापना गरिएको र आवश्यकताअनुसार त्यसलाई क्रमशः वृद्धि गर्दै लैजाने योजना रहेको तामाङले जानकारी दिनुभयो ।

कार्यविधिअनुसार गाउँपालिकाले किसानले उत्पादन गरेका कृषि उपज आफैँ खरिद गरी शीत भण्डारणमा राख्ने व्यवस्था गरिएको छ । किसानले आफ्नै इच्छाले उपज भण्डारण गर्न चाहेमा प्रतिकेजी रु पाँच शुल्क तिर्नुपर्ने व्यवस्था छ । किसानले शीत भण्डारणमार्फत बिक्री गरी आएको नाफाको ५० प्रतिशत हिस्सा गाउँपालिकालाई बुझाउनुपर्ने प्रावधान पनि कार्यविधिमा समावेश गरिएको छ ।

किसानले आफैँ भण्डारणका लागि राखेका कृषि उपज बिग्रिएमा त्यसको जिम्मेवारी गाउँपालिकाले लिने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत तामाङले बताउनुभयो । यसले किसानलाई जोखिममुक्त भएर उत्पादन भण्डारण गर्न प्रोत्साहन गर्ने विश्वास लिइएको छ ।

गाउँपालिका अध्यक्ष थामबहादुर राईका अनुसार किसानले उत्पादन गरेका कृषि उपजको सहज भण्डारणसँगै बजारीकरण सुनिश्चित गर्ने उद्देश्यले शीत भण्डारण केन्द्र निर्माण गरिएको हो । “किसानले उत्पादन गरेका कृषि उपजको भण्डारण तथा बजारीकरणमा गाउँपालिकाले आवश्यक भूमिका खेल्नेछ”, अध्यक्ष राईले भन्नुभयो, “यहाँ सङ्कलन र भण्डारण गरिएका उपजलाई बेमौसममा बजार पुर्याएर किसानलाई राम्रो मूल्य दिलाउने हाम्रो लक्ष्य हो ।”

उहाँका अनुसार गाउँपालिकाको कृषि एम्बुलेन्समार्फत किसानको खेतबारीदेखि शीत भण्डारण केन्द्रसम्म उपज ढुवानी गर्ने व्यवस्था मिलाइएको छ । यसले किसानको ढुवानी लागत घटाउनुका साथै बजार पहुँचलाई थप सहज बनाउने गाउँपालिकाले जनाएको छ ।
शीत भण्डारण केन्द्रलाई दिगो र व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक कर्मचारीको व्यवस्था पनि गरिने गाउँपालिकाले जनाएको छ । यस पहलले स्थानीय कृषि उत्पादनको संरक्षण, मूल्य अभिवृद्धि र किसानको आम्दानी वृद्धि गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।

शीत भण्डारणको स्वमित्व हाल गाउँपालिकाको रहे पनि किसान, कृषि समूह, सहकारीले पूर्ण, आशिंक र साझेदारीमा सञ्चालन गर्न चाहेमा पनि सञ्चालन गर्न सक्ने व्यवस्था कार्यविधिमा रहेको छ । यहाँ किसानले सुन्तला, किवी, स्कुस, आलु, टमाटर, तरकारीलगायत नगदे बालीको व्यावसायिक रूपमा खेती गर्दै आएका छन् ।

किसानलाई व्यावसायिक रूपमा जैविकखेती प्रणालीमा लाग्न गाउँपालिकाले योजनाबद्ध रूपमा कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । व्यावसायिक रूपमा कृषिमा लागेका किसानले उत्पादन गरेका कृषि उपजलाई व्यवस्थित ढङ्गले बजारसम्म पुर्याउने लक्ष्यले शीत भण्डारणको अवधारणाअनुसार कामलाई अघि बढाएको जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित

परीक्षामा जफत गरिएको मोबाइल नष्ट गरेपछि विद्यार्थी आन्दोलित

परीक्षामा जफत गरिएको मोबाइल नष्ट गरेपछि विद्यार्थी आन्दोलित

बिपक्षी दलहरुको अबरोधका कारण प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

बिपक्षी दलहरुको अबरोधका कारण प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

रास्वपा सभापति लामिछानेले आह्वान गरेको सर्बदलीय बैठक सिंहदरवारमा

रास्वपा सभापति लामिछानेले आह्वान गरेको सर्बदलीय बैठक सिंहदरवारमा

शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो

शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा

नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा