झापाको जलथलका सन्थाल समुदायमा नियमित बचत अभियान

झापाको जलथलका सन्थाल समुदायमा नियमित बचत अभियान

भद्रपुर (झापा)- यहाँको हल्दीबारी–४ जलथल क्षेत्रमा बसोबास गर्ने सन्थाल समुदायका एक सय २० परिवार मासिक रूपमा नियमित बचतमा आबद्ध छन् । सन्थाल सुधार समाज जलथलको अगुवाइमा सुरु भएको यो अभ्यास अहिले समुदायको दैनिकीको अभिन्न हिस्सा बनेको छ ।

समाजका अध्यक्ष कमल मुर्मुका अनुसार हरेक महिनाको पहिलो शनिबार सदस्यहरू भेला भएर बचत सङ्कलन गरिन्छ । “न्यूनतम दुई सय रुपैयाँदेखि सदस्यले आफूले सक्नेजति बचत गर्नुहुन्छ”, उहाँ भन्नुहुन्छ, “सानो रकम भए पनि नियमितता नै हाम्रो मुख्य शक्ति हो ।”

तीन वर्षअघि सुरु गरिएको यो बचत अभियानले हालसम्म १३ लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन गरिसकेको छ । ज्याला मजदुरीमा निर्भर समुदायका लागि यो रकम सामान्य नभई सामूहिक प्रयासको महत्त्वपूर्ण उपलब्धि हो । सङ्कलित रकम समाजकै सदस्यलाई आवश्यक पर्दा एक प्रतिशत ब्याजदरमा ऋणका रूपमा उपलब्ध गराइन्छ । यसले समुदायभित्र आर्थिक शोषण रोक्न प्रभावकारी भूमिका निर्वाह गरेको अध्यक्ष मुर्मु बताउनुहुन्छ । “बाहिरबाट महँगो ब्याजमा ऋण लिनुपर्ने बाध्यता कम भएको छ”, उहाँले भन्नुभयो ।

बचतकर्ता सपना हेमरका लागि यो व्यवस्था आर्थिक सुरक्षाको आधार बनेको छ । “समस्या पर्दा सजिलै सस्तो ब्याजमा रकम निकाल्न पाइन्छ”, उहाँ भन्नुहुन्छ, “कृषि र घरायसी कामका लागि समय–समयमा ऋण लिनुपर्छ, यही बचतले ठूलो सहयोग गरेको छ ।” आफ्नै समुदायभित्र गरिएको बचत सुरक्षित हुने अनुभूतिसमेत हुने उहाँ बताउनुहुन्छ ।

सपनाको अनुभव एक्लो होइन । अधिकांश बचतकर्ताका लागि यो कोष आकस्मिक आवश्यकता, सन्तानको शिक्षा, उपचार तथा रोजगारीका अवसरका लागि भरोसायोग्य माध्यम बनेको छ ।

अर्का बचतकर्ता वकिल सोरेनका अनुसार समुदायको बचतले जीवनका महत्त्वपूर्ण मोडमा ठूलो सहयोग पुर्याएको छ । “छोराछोरीको पढाइ, विदेश जान, दुःख–बिराम पर्दा यही बचत काम लाग्छ”, उहाँ भन्नुहुन्छ । समाजले वैदेशिक रोजगारीमा जान चाहने परिवारका सदस्यलाई बिनाधितो रु एक लाखसम्म ऋण दिने व्यवस्था गरेको छ । धितोको अभावका कारण धेरै सपना अधुरै रहने गरिब तथा मजदुर परिवारका लागि यो व्यवस्था ठूलो अवसर बनेको छ ।

यहाँ बसोबास गर्ने अधिकांश सन्थाल समुदायका मानिस दैनिक ज्याला मजदुरीमा निर्भर छन् । उनीहरू चिया बगान, निर्माण क्षेत्रमा मजदुरी, मिस्त्री, ट्रयाक्टर चालकलगायत श्रमप्रधान काममा संलग्न रहेको सोरेन बताउनुहुन्छ । आम्दानी सीमित भए पनि बचतलाई प्राथमिकता दिनु आफैँमा चेतनशील अभ्यास हो ।

समाजले बचतसँगै पारदर्शिता र विश्वासलाई पनि उत्तिकै महत्व दिएको छ । मासिक भेला, सार्वजनिक हिसाबकिताब र सामूहिक निर्णय प्रक्रियाले सदस्यहरूबीच भरोसा बढाएको अध्यक्ष मुर्मुको विश्वास छ । यसले समुदायभित्र एकताको भावना थप मजबुत बनाएको छ ।

यो अभ्यास आर्थिक पक्षमा मात्र सीमित छैन । यसले सन्थाल समुदायमा सामाजिक परिवर्तनको सङ्केत पनि दिएको छ । समुदायका परिवारहरूले आर्थिक अनुशासन सिक्दै गएको र सहकार्यको भावना बलियो बन्दै गएको हल्दीबारीका पत्रकार नेत्र विमली बताउनुहुन्छ ।

यद्यपि आम्दानी अनियमित हुँदा कहिलेकाहीँ बचत रकम घट्ने चुनौती रहेको छ । तर आपसी समझदारी र लचकताका माध्यमबाट समाजले यसलाई व्यवस्थापन गर्दै आएको छ । भविष्यमा बचत रकमलाई थप व्यवस्थित गर्दै साना उद्यम, कृषि प्रवर्द्धन र सामूहिक लगानीतर्फ लैजाने योजना रहेको अध्यक्ष मुर्मु बताउनुहुन्छ ।

आज जलथलका सन्थाल बस्तीमा बचत केवल आर्थिक क्रियाकलाप मात्र नभई भविष्यप्रतिको आशा बनेको छ । सानो रकमलाई ठूलो सपना बनाउँदै समुदाय आत्मनिर्भरतातर्फ अघि बढिरहेको छ । नियमित बचतको यो संस्कारले आर्थिक सुरक्षा मात्र होइन, सम्मान र आत्मविश्वास पनि दिएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

पहिरोले भेडेटार–रवि–राँके सडक अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

पहिरोले भेडेटार–रवि–राँके सडक अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

एमालेले छान्यो समानुपातिक सांसद – सार्वजनिक सेवा प्रसारण संस्था

एमालेले छान्यो समानुपातिक सांसद – सार्वजनिक सेवा प्रसारण संस्था

माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक

माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक

नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक

नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक