क्षतिग्रस्त बिपी राजमार्गको स्थायी पुनर्निर्माण तीव्र

क्षतिग्रस्त बिपी राजमार्गको स्थायी पुनर्निर्माण तीव्र

काभ्रेपलाञ्चोक- पटक-पटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको दुई महिनाअघि स्थायी रूपमा निर्माण सुरु गरिएको थियो । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट थालिएको स्थायी पुनर्निर्माणकार्यलाई तीव्रता दिइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

राजमार्गको काभ्रेपलाञ्चोक र सिन्धुलीको क्षतिग्रस्त सडकखण्डको आगामी दुई वर्षभित्र पुनर्निर्माणको काम सक्ने लक्ष्य राखिएको छ । कार्यालयका अनुसार क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माणका लागि हाल तीन खण्डमा काम सुरु गरिएको छ । कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बाढीले बिपी राजमार्गको पुनर्निर्माणका लागि तीन निर्माण व्यवसायी कम्पनी कार्यक्षेत्रमा खटेर तीव्र रूपमा काम गरेको बताउनुभयो । उहाँका अनुसार जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले भने पुनर्निर्माण गर्ने भनिएको एक खण्डको काम सुरु हुनसकेको छैन ।

“जाइकाले थप अध्ययन गरिरहेको छ, केही समयमै उसले पनि काम सुरु गर्ने जनाएको छ”, योगेशले भन्नुभयो । उहाँले गत वर्षको बाढीले क्षति पुर्याएको विभिन्न स्थानमा ‘आरसिसी’ पर्खाल लगाउने काम भइरहेको छभने चौकीडाँडामा खोलाबाट प्लम्प पर्खाल लगाउन तथा चारसयबेँसी र भकुण्डेबेँसीमा पनि ‘आरसिसी’ पर्खाल लगाउन सुरु गरिएको जानकारी दिनुभयो । यस्तै डालावेँसी, मङ्गलटार खण्ड, चारसयबेँसीदेखि नार्के खण्डमा सडक चौडा बनाउने कामसमेत भइरहेको उहाँले बताउनुभयो ।

गत वर्ष र यस वर्षको बाढीले ‘वासआउट’ (सडक पूर्ण क्षति) भएको स्थानमा बाढीले क्षति नगर्ने संरचना निर्माणको डिजाइन गरिएको छ । यस्तै आगामी वैशाखसम्म बाढीले क्षति पुर्याएको स्थानमा संरचना निर्माण गरिसक्ने जसबाट अब आउने वर्षायाममा खोलाको किनारबाट यातायात सञ्चालन गर्न नपर्नेगरी साविककै स्थानबाट यातायात सञ्चालन लक्ष्य लिइएको जनाइएको छ ।

यस वर्ष क्षतिग्रस्त स्थानमा संरचना निर्माण गर्ने, सडक चौडा गर्नेलगायतका काम सम्पन्न गर्ने र आगामी वर्ष बाँकी रहेका केही स्थानमा संरचना बनाइ कालोपत्र गरी कामलाई तीव्रता दिइएको योगेशले बताउनुभयो । बाढीपहिराले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो । बाढीपहिराले सडकको विभिन्न खण्ड बगाएपछि गत सालदेखि अस्थायी रूपमा सञ्चालनमा ल्याइएको क्षतिग्रस्त राजमार्ग स्थायी रूपमा निर्माण सुरु गरिएको कार्यालयले जनाएको हो ।

अबको पुनर्निर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने योगेशको भनाइ छ । “पुनर्निर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्ने छ भने यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाई पनि दुई लेनको निर्माण गरिनेछ”, उहाँले भन्नुभयो । उहाँका अनुसार पाँचवटा पुललाई दुई लेनमा परिणत गर्न अध्ययन भइरहेको छ ।

डालाबेँसीदेखि चारसयबेँसीसम्म ८.५ किमी सडक पुनर्निर्माणका लागि खानी–एवन–कमलजीत जेभीले रु एक अर्ब ४२ करोड ३७ लाख (भ्याटसहित) मा निर्माण गर्नेगरी ठेक्का पाएको छ । यस्तै चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११.०८ किमी सडक पुनर्निर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई एक अर्ब ३३ करोड ५३ लाख रुपैयाँमा ठेक्का दिइएको छ । नेपालथोकदेखि बर्खेखोलासम्म ४.९० किमी सडक पुनर्निर्माणका लागि ६१ करोड रुपैयाँमा निर्माण गर्नेगरी खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको बताइएको छ ।

क्षतिग्रस्त कुल २९.५ किमी सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किमी सडक भने जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले निर्माण गरिदिने भएको छ । यस लम्बाइको क्षतिग्रस्त सडकको ठेक्का प्रक्रियाको काम भइरहेको योगेशले जानकारी दिनुभयो । उहाँका अनुसार यस खण्डको पुनर्निर्माणका लागि जापानले रु दुई अर्ब ६३ करोडबराबरको अनुदान उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । कार्यालयले जाइकाले निर्माण गर्ने सडकखण्डबाहेकका अन्य खण्डमा सरकारले गत असोजअघि नै ठेक्का लगाइसकेको छ ।

क्षतिग्रस्त खण्ड पुनर्निर्माणका लागि सरकारले आठ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति दिइसकेको छ । जसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई सात अर्ब ५० करोड रुपैयाँ र सिन्धुलीको एक सडकखण्डलाई एक अर्ब रुपैयाँको स्रोत सहमति दिइएको हो । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको २०७२ असार १८ गते औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा लिइएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

पहिरोले भेडेटार–रवि–राँके सडक अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

पहिरोले भेडेटार–रवि–राँके सडक अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

एमालेले छान्यो समानुपातिक सांसद – सार्वजनिक सेवा प्रसारण संस्था

एमालेले छान्यो समानुपातिक सांसद – सार्वजनिक सेवा प्रसारण संस्था

माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक

माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक

नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक

नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक