खत्वेको लोभलाग्दो कृषि कर्म – सार्वजनिक सेवा प्रसारण संस्था

खत्वेको लोभलाग्दो कृषि कर्म – सार्वजनिक सेवा प्रसारण संस्था

धरान (सुनसरी)- नेपाल प्रहरीमा १६ वर्ष सेवा गरी हवल्दार पदबाट अवकाश पाएपछि बराहक्षेत्र नगरपालिका–११ मधुवनका महेन्द्र खत्वे विदेश जाने सोच त्यागेर स्वदेशमै कृषि व्यवसायमा लाग्नुभएको छ । विसं २०७५ मा स्थापना गर्नुभएको ‘खत्वे कृषि फार्म’ हाल उहाँ र उहाँको परिवारको मुख्य जीविकोपार्जनको आधार बनेको छ ।

प्रहरी सेवाका क्रममा छ महिना शान्ति सेनामा समेत सेवा गर्नुभएका खत्वेले अवकाशपछि नेपालमै केही गर्ने सोचका साथ कृषि फार्म दर्ता गरी व्यवसाय सुरु गरेको बताउनुभयो । फार्म सञ्चालनसँगै उहाँले स्कारपियो गाडी खरिद गरी करिब पाँच वर्ष आफैँ चलाउँदै यातायात व्यवसायसमेत गर्नुभएको थियो । पछि उक्त गाडी बिक्री गरे पनि कृषि फार्म सञ्चालन भने निरन्तर रूपमा अघि उहाँले बढाइरहेको बताउनुभयो ।

हाल खत्वेले साढे तीन बिघा क्षेत्रफलमा कृषि फार्म सञ्चालन गरिरहनुभएको छ । फार्मभित्र पाँच माछापोखरी रहेका छन्, जहाँ रौ, कमन, भ्याकुर, सिल्भर, ग्रासलगायत प्रजातिका माछापालन गरिएको छ । “माछा बिक्रीका लागि बजार धाउनु पर्दैन”, खत्वेले भन्नुभयो, पोखरीमै व्यापारी आउँछन् र माछा निकालेर लैजान्छन् ।”

हाल पोखरीबाटै प्रतिकिलो तीन सयदेखि तीन सय ५० रुपैयाँसम्ममा माछा बिक्री भइरहेको छ । सानो लगानीबाट सुरु गरिएको फार्मबाट अहिले वार्षिक सबै खर्च कटाएर रु ६ लाखदेखि रु सात लाखसम्म आम्दानी हुँदै आएको उहाँको भनाइ छ । फार्ममार्फत उहाँले एक जनालाई रोजगारीसमेत दिनुभएको छ ।

फार्म निकुञ्ज क्षेत्र नजिकै रहेकाले फिस क्याट, गोही, स्याल लगायत वन्यजन्तुले माछा खाइदिने समस्या छ । यसबाट केही क्षति त हुन्छ, तर समग्रमा फार्म नाफामै छ । उहाँले भन्नुभयो, “यही फार्मबाट घरखर्च, परिवार पाल्न र छोराछोरी पढाउन पुगेको छ ।”

माछापालनसँगै खत्वेले कृषि फार्ममा लोकल कुखुरा, हाँस, परेवा, गाई तथा भैँसीसमेत पाल्दै आउनुभएको छ । उहाँले माछाको भुरा कोसी गाउँपालिकाको स्थानीय बजारबाट खरिद गर्ने गरेको जानकारी दिनुभयो । हाल माछाको भुरा प्रतिकिलो चार सयदेखि पाँच सय रुपैयाँसम्म पर्ने गरेको छ ।

खत्वे कृषि फार्ममा उत्पादन भएको माछा कोसी प्रदेशका प्रायः सबै जिल्लामा बिक्री हुँदै आएको छ । सुनसरी कृषि ज्ञान केन्द्रले आर्थिक वर्ष २०७८/७९ मा बोरिङ र मोटर अनुदान उपलब्ध गराएकाले फार्म सञ्चालनमा थप सहजता पुगेको खत्वेले बताउनुभयो । पछिल्लो समय युवा ठूलो सङ्ख्यामा वैदेशिक रोजगारीमा जाने प्रवृत्ति छ ।

“मलाई अवकाशपछि विदेश जाने सोच कहिल्यै आएन । नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने आत्मविश्वास आयो, त्यसपछि फार्म दर्ता गरेर काम सुरु गरेँ,” उहाँले भन्नुभयो । नेपालमै सम्भावना प्रशस्त छ । स्थानीय सरकार र राज्यले किसानलाई नियमित अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउन सके युवालाई विदेश पलायन हुनुपर्ने अवस्था आउँदैन । नेपालमै अवसर र रोजगारी दुवै सम्भव रहेको खत्वेको भनाइ छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

भोटेकोशी बाढीपछि नेपाल–चीन सीमा क्षेत्रमा राष्ट्रिय झण्डा पुनर्स्थापित

भोटेकोशी बाढीपछि नेपाल–चीन सीमा क्षेत्रमा राष्ट्रिय झण्डा पुनर्स्थापित

रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

प्रधानमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति