
काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ (युएन) को ८१औँ महासभामा भाग लिन आज बेलुकी संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ ।
मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रिस्तरीय कार्यक्रममा सहभागिता जनाउनुहुनेछ । साथै, उहाँले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्तासमेत गर्नुहुने कार्यक्रम छ ।
नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह भने मङ्गलबार (सेप्टेम्बर २२) अमेरिका प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई सेप्टेम्बर २४ मा सम्बोधन गर्नुहुनेछ । उहाँ नेतृत्वको प्रतिनिधिमण्डलमा मन्त्री खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यन्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुनुहुनेछ ।
यसपटक राष्ट्रसङ्घमा सहभागी हुन लागेको नेपाली प्रतिनिधिमण्डलको सङ्ख्या १४ रहेको छ । न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुने कार्यक्रमसमेत रहेको छ । प्रधानमन्त्री शाह सेप्टेम्बर २६ मा स्वदेश फर्किनुहुने कार्यक्रम छ भने परराष्ट्रमन्त्री खनाल सेप्टेम्बर २९ मा नेपाल आइपुग्नुहुनेछ ।

