
काठमाडौं । भारतले बाढीका कारण नेपालको जलविद्युत् उत्पादन क्षमतामा कमी आएपछि नेपाललाई आवश्यक थप विद्युत् उपलब्ध गराउने भएको छ।
भारतको विद्युत् मन्त्रालयले भारतबाट नेपाल विद्युत् प्राधिकरणलाई आगामी डिसेम्बर ३१ सम्म दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न स्वीकृति दिएको हो। भारतको प्रेस इन्फर्मेसन ब्युरो (पीआईबी) का अनुसार उक्त स्वीकृति सेप्टेम्बर १३ देखि लागू भएको छ।
स्वीकृतिअनुसार मुजफ्फरपुर–ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत थप ५४ मेगावाटसम्म विद्युत् भारतबाट नेपाल निर्यात गर्न सकिनेछ। यसअनुसार भारतबाट नेपालले अधिकतम ६५४ मेगावाटसम्म विद्युत् आयात गर्न सक्नेछ।
भारतले सन् २०२७ जनवरीदेखि हुने विद्युत् निर्यातको परिमाणबारे भने डिसेम्बर २०२६ मा पुनरावलोकन गर्ने जनाएको छ।
हालै आएको विनाशकारी बाढीका कारण नेपालको जलविद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेको र आन्तरिक विद्युत् उत्पादन क्षमता घटेकाले थप विद्युत् आवश्यक परेको भारतको विद्युत् मन्त्रालयले जनाएको छ।
नेपालको कठिन परिस्थितिमा विद्युत् आवश्यकता पूरा गर्न स्वीकृतिले सहयोग पुग्ने तथा भारत र नेपालबीचको दीर्घकालीन ऊर्जा सहकार्यलाई थप मजबुत बनाउने भारतको भनाइ छ।
भारतले ऊर्जा क्षेत्रमा नेपाललाई सहयोग गर्दै द्विपक्षीय सहकार्यलाई थप सुदृढ गर्न प्रतिबद्ध रहेको जनाएको छ।



