काभ्रे (बनेपा)- प्राकृतिक विपद् व्यहोरेका काभ्रेपलाञ्चोकका सात वटा स्थानीय तहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् ।
जिल्लाका विभिन्न वडा तथा सामाजिक, सहकारी तथा निजी संस्थाले बाढी प्रभावितका लागि राहत रकम उपलब्ध गराउने घोषणा गरेका छन् ।
धुलिखेल नगरपालिकाले बाढी प्रभावितको उद्धार तथा राहतका लागि रु १० लाख सहयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाका कार्यवहाक नगर प्रमुख निराजन जङ्गमले नगर कार्यपालिकाको बैठकले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँले भोटेकोशी बाढीपछि धुलिखेलका चार जना अझै सम्पर्कविहीन रहेको बताउनुभयो । उनीहरूको खोजतलासका लागि राज्यका सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सहयोग गरिनेछ ।
यसैगरी, बेथानचोक गाउँपालिकाले बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु ३५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।
गाउँपालिका अध्यक्ष भगवान अधिकारीले गाउँ कार्यपालिकाको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गाउँपालिकाको विपद् कोषबाट रु १५ लाख तथा जनप्रतिनिधि, शिक्षक र कर्मचारीले पाउने सेवा–सुविधा तथा पारिश्रमिकबाट रु २० लाख गरी कुल रु ३५ लाख सहयोग गर्ने निर्णय गरेको राससलाई जानकारी दिनुभयो ।
बेथानचोक गाउँपालिकाले २०८१ साल असोज दोस्रो साता विपद्को सामना गरेको स्मरण गर्दै पीडित नागरिकलाई सहयोग गर्नु स्थानीय सरकारको दायित्व भएको जनाएको छ ।
पनौती नगरपालिकाले बाढी प्रभावितको उद्धार तथा राहतका लागि रु ३० लाख सहयोग गर्ने निर्णय गरिसकेको छ । पाँचखाल नगरपालिकाले रु १० लाख, बनेपा नगरपालिकाले रु १५ लाख, रोशी गाउँपालिकाले रु १० लाख र चौरीदेउराली गाउँपालिकाले रु १० लाख सहयोग गर्ने निर्णय गरेका छन् ।
यस्तै, नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले केन्द्रीय समितिमार्फत रु १७ लाख ६६ हजार उपलब्ध गराएको छ । सामुदायिक साकोस पनौतीले रु पाँच लाख, मनकामना साकोसले रु एक लाख ५० हजार, अच्युतानन्द ज्योतिष आयुर्वेद औषधालयले रु पाँच लाख र चित्रन्य हार्डवेयरले रु तीन लाख ३३ हजार सहयोग गर्ने निर्णय गरेका छन् ।
त्यस्तै, पनौती नगरपालिका–२ ले रु एक लाख ५० हजार, धुलिखेल नगरपालिका–८ ले रु एक लाख, चौरीदेउराली गाउँपालिका–७ ले रु एक लाख र पनौती नगरपालिका–८ ले रु ८० हजार सहयोग गरेका छन् ।
यस्तै, बुडोल सामुदायिक साकोसले रु दुई लाख ५१ हजार, नमोबुद्ध नगरपालिका–६ स्थित चरङ्गे साकोसले रु एक लाख ११ हजार र धुलिखेलको अटल पाँचकुण्ड साकोसले रु एक लाख पाँच हजार सहयोग गर्ने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा जिल्लाभरबाट ५२ जना सम्पर्कविहीन रहेको विवरण दर्ता भएको थियो । तीमध्ये केही सम्पर्कमा आएका तथा केहीको मृत्यु भई शव फेला परेसँगै हाल सम्पर्कविहीनको सङ्ख्या ४१ रहेको छ ।

