
काठमाडौँ- नेपाल आयल निगमले भोटेकोशी नदीमा बाढी गएपछि खोज तथा उद्धारमा संलग्न हेलिकप्टरका लागि ४० हजार ८४० लिटर हवाई इन्धन नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमा पठाएको छ ।
निगमले आज प्रेस विज्ञप्ति जारी गरेर खोज तथा उद्धारका लागि गत भदौ १० गतेदेखि नियमित रुपमा नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमा उपलब्ध गराउँदै आइरहेको जनाएको छ ।
सोही ठाउँबाट हेलिकप्टरका लागि हवाई इन्धन रिफिलिङको काम हुँदै आइरहेको छ । निगमका अनुसार भदौ १० मा १२ हजार लिटर, भदौ ११ मा हेलिकप्टर र ट्रयाङकरमार्फत १० हजार ८४० लिटर पठाएको थियो ।
त्यसैगरी भदौ १२ गते नौ हजार लिटर र भदौ १३ गते नौ हजार लिटर हवाई इन्धन उपलब्ध गराएको छ । निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयबाट बाढी प्रभावित क्षेत्रमा रहेका पेट्रोलपम्पलाई भदौ १३ गतेसम्म ७२ हजार लिटर पेट्रोल र ६२ हजार लिटर डिजेल उपलब्ध गराइएको निगमले जनाएको छ ।
निगमले बाढी प्रभावित स्थानमा रहेका सेल्टरमा नेपाल ग्यास उद्योगबाट नुवाकोटमा २३२ थान सिलिण्डर ग्यास उपलब्ध गराएको छ । त्यसैगरी एलपी ग्यास उद्योग सङ्घबाट पनि नुवाकोट र रसुवाका लागि १५० थान सिलिण्डर राहत कार्यमा पठाइएको जनाएको छ ।

