
बारा-बाराको जितपुरसिमरा १ दुसधराकी तीन वर्षीया बालिका गढिमा चौधरीको जघन्य अपराध पछि हत्या घटनाका आरोपितको संवेदनशील बयानको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक घटनामा एक प्रहरी हवल्दार पक्राउ परेका छन ।
बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले प्रादेशिक अस्पताल कलैयामा अनुसन्धानका क्रममा अस्पतालको ओसीएमसी कक्षमा लिइएको बयानको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सुरक्षा समितिको बैठक बसी प्रहरीले छानबिन थालेको बताउनु भएको छ ।
छानबिनका क्रममा भिडियो सार्वजनिक गर्न प्रहरीकै कर्मचारी संलग्न रहेको खुलेपछि बारा प्रहरीले आफ्नै मातहतमा कार्यरत प्रहरी हवल्दार कुमार विकलाई नियन्त्रणमा लिएको प्रजिअ मिश्रले जानकारी दिनु भएको छ ।
संवेदनशील बयानको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी अनुसन्धानको गोपनीयता र संवेदनशील घटनालाई लिएर प्रहरी प्रशासनमाथि प्रश्न उठेकोले छानविनका क्रममा प्रहरीले हवल्दार विकमाथि आन्तरिक कार्वाही शुरु गरिएको प्रहरी उपरिक्षक नरेन्द्र कुवरले जानकारी दिनु भएको छ ।
प्रहरी उपरिक्षक कुवरले बालिका हत्याको आरोपमा अहिलेसम्म नौ जान पक्राउ गरिएको समेत जानकारी दिनु भएको छ । हत्याको घटनामा सम्लग्न सबैलाई पक्राउ गरिएको र छानविन तिब्र पारिएको उहाँले बताउनु भएको छ ।

