बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान

बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान

बाजुरा-धार्मिक तथा पर्यटकीय क्षेत्रका धरोहर मानिने बडीमालिकामा पूजा सामग्रीसहित बाजुराको सरकारी टोली प्रस्थान गरेको छ ।

सदरमुकाम मार्तडीस्थित मालिका मन्दिर पूजाआजा गरी सरकारी टोली आज त्यसतर्फ लागेको हो । सुरक्षाकर्मीको सलामी, बाजागाजासहित, फूलमालामा सजिएका जमराको टोकरी शिरमा राखेर पञ्चकन्या र महिलाले सरकारी टोलीको बिदाइ गरेका हुन् ।

बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्का, उपप्रमुख नन्दा थापा, जिल्ला प्रहरी प्रमुख शैलेश्वरी बोहरासहितको एकीकृत रुपमा सरकारी टोली बडीमालिकातर्फ गएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो ।

देशका विभिन्न जिल्लासहित छिमेकी देश भारतबाट समेत सयौँको सङ्ख्यामा तीर्थयात्रा केही दिन पहिलादेखि नै बडीमालिका, बुढीनन्दा जान थाले पनि औपचारिक यात्रा आजबाट सुरु गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी निरौलाले प्रहरी प्रमुखको नेतृत्वमा नै टोली  गएकाले बडीमालिकामा सुरक्षा व्यवस्था प्रभावकारी तुल्याइएको बताउनुभयो । बुढीनन्दामा भने आइतबार नै जिल्लाको सरकारी टोली हिडिसकेको छ । बडीमालिका र बुढीनन्दा दुवै धार्मिक शक्तिपीठमा तीन दिन पहिला नै यात्रा प्रारम्भ गर्नु पर्ने मान्यता छ । जिल्लाको टोली बडीमालिका प्रस्थान गरेको अवसरमा आज नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको छ ।

टोली पहिलो दिन सोता पाटन, दोस्रो दिन त्रिवेणी पाटन र तेस्रो दिन बडीमालिका मन्दिर पुग्ने गरेको नगरपालिका प्रमुख खड्काले जानकारी  दिनुभयो । बडीमालिका, बुढीनन्दासहित जिल्लाका दर्जन बढी धार्मिक शक्तिपीठमा हरेक वर्ष मुख्य पूजा जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दर्शीका दिन हुने परम्परा छ  । आफ्नो मनोकाङ्क्षा पुरा हुने विश्वासका साथ धार्मिक शक्तिपीठमा भक्तजनले पूजापाठ गर्ने प्रचलन छ ।

जिल्लाको प्रसिद्ध धार्मिक एवं पर्यटकीय तीर्थस्थल बुढीनन्दा करिब चार हजार ८८८ मिटर उचाइमा अवस्थित छ । यस्तै सत्य युगमा भगवान् शिवले सतीदेवीको शरीरलाई संसार भर घुमाउने क्रममा पर्वत शृङ्खलामा शरीरका अङ्ग खसेको र सोही स्थानमा देवीको फेरि अवतार भएको धार्मिक विश्वासका आधारमा बडीमालिकामा पूजापाठ गर्ने गरिएको मान्यता रहेको बडीमालिकाका पुजारी नेत्र पाध्यायले बताउनुभयो ।

बडीमालिका क्षेत्रमा २२ आकर्षक पाटन, खेतीबेती, त्रिवेणी धामलगायत धार्मिक तथा पर्यटकीय स्थल  छन् । धार्मिक पूजाआरधानाका साथै सोही स्थानको अवलोकन गर्न तीर्थयात्री बडीमालिका आउने  गरेको पाइन्छ ।

बडीमालिकाको दर्शनपछि मनोकाङ्क्षा पूरा हुने अद्भूत दैवी शक्ति भएकाले अधिकांश श्रद्धालु भक्तजन दर्शन गर्न आउने गरेको पुजारी नेत्रप्रसाद पाध्यायको भनाइ छ । बडीमालिकाले सबै तह र तप्काका व्यक्तिलाई आफ्नो  मनोकाङ्क्षा पुरा गर्दिने जनविश्वास भएकाले श्रद्धालु भक्तजन यस मेलामा घुइँचो लाग्ने गरेको भनाइ रहेको छ ।

बडीमालिका पूजाका लागि डोटी, जुम्ला र कालिकोटसहित कैलालीको धनगढी उपमहानगरपालिकाको सरकारी टोलीसमेत यसअघि नै प्रस्थान गरिसकेको छ । यस्तै बडीमालिका भगवतीको पूजाका लागि सुदूरपश्चिम प्रदेश सरकारले पनि आइतबार पूजा सामग्रीसहित सरकारी टोली पठाएको छ ।

बडीमालिका र बुढीनन्दा दिदीबहिनी भएकाले मुख्य पूजा यहीँ भदौ ११ गते हुनेछ ।  भक्तजनको चाप बढ्न थालेपछि एकैदिन पूजा गर्न नसकिने भन्दै भदौ १ गतेबाट नै पूजा प्रारम्भ गरिएको नगरप्रमुख खड्काले जानकारी दिनुभयो । बडीमालिका माताको दर्शनका लागि दर्शनार्थीहरुको सङ्ख्या विगतका वर्षभन्दा यस वर्ष झन् बढ्ने अनुमान गरिएको छ । यस पटक बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा  विस्तारका लागि नेपाल टेलिकमको ‘फोरजी’ टावर जडानसमेत भइरहेको छ । बडीमालिका मन्दिर चार हजार २०० मिटर उचाइमा छ ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले यसअघि धनगढीमा चुनावी अभियानका क्रममा बडीमालिकालाई नेपालको ‘स्विट्जरल्यान्ड’ भनेर उल्लेख गर्नुभएपछि त्यस क्षेत्रले थप चर्चा पाएको स्थानीयको भनाइ छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार आवश्यक:

सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार आवश्यक:

परराष्ट्रमन्त्री खनाल सर्बिया जानुहुने – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल सर्बिया जानुहुने – सार्वजनिक सेवा प्रसारण संस्था

बागमती प्रदेशसभाको बैठकमा आज मुख्यमन्त्री थापाले विश्वासको मत लिने

बागमती प्रदेशसभाको बैठकमा आज मुख्यमन्त्री थापाले विश्वासको मत लिने

बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान

बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान

प्रहरी महानिरीक्षक कार्की – सार्वजनिक सेवा प्रसारण संस्था

प्रहरी महानिरीक्षक कार्की – सार्वजनिक सेवा प्रसारण संस्था

भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ: मन्त्री रावल

भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ: मन्त्री रावल

अपाङ्गता भएका करिब एकचौथाइ बालबालिका विद्यालय शिक्षाबाट वञ्चित

अपाङ्गता भएका करिब एकचौथाइ बालबालिका विद्यालय शिक्षाबाट वञ्चित