बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी झरना’ यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ । हेटौँडासँगै आसपासका जिल्लाबाट झरना हेर्नका लागि पर्यटकको आगमन बढ्न थालेपछि यस क्षेत्रले पर्यटकीय गन्तव्यका रूपमा चर्चा कमाउन थालेको हो ।
हेटौँडाको मुख्य बजारबाट ३० किलोमिटर दूरी र मनहरीबाट करिब १० किलोमिटर दूरी पार गरेपछि जलपरी झरना आउन सकिने राक्सिराङ-३ का वडाध्यक्ष उत्तम वाइबाले जानकारी दिनुभयो । प्रशस्त रूपमा पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परिरहेको यस झरनाको प्रवर्द्धनसँगै यहाँकोे पूर्वाधार विकासका लागि वडा कार्यालय निरन्तर लागिरहेको उहाँले बताउनुभयो ।
झरनासँगै यहाँको चमेरे गुफासमेतलाई समेटेर पर्यटकीय विकासका योजना अघि बढाइएको वडाध्यक्ष वाइबाले बताउनुभयो । “जलपरी झरनाको पर्यटकीय उपयोगलाई लक्षित गरी विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरी यसको संरक्षण र प्रवर्द्धनका लागि २०७४ सालयता निरन्तर प्रयास गरिएको छ”, उहाँले भन्नुभयो, “यहाँको पूर्वाधार विकासका लागि प्रदेश तथा पालिकाबाट हालसम्म रु एक करोड २७ लाख बजेट विनियोजन भई विभिन्न काम सम्पन्न भएका छन् ।”
झरना परिसरमा वडा कार्यालयका तर्फबाट बुद्धको मूर्ति राखिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत परिसरमा पदमार्ग निर्माणसँगै विभिन्न फूलका बिरुवा रोपिएका छन् । पछिल्ला वर्षमा पर्यटकको बढ्दो आकर्षणलाई दृष्टिगत गरी वनभोजस्थल पनि निर्माण गरिएका जानकारी दिँदै वडाध्यक्ष वाइबाले हाल परिसरमा दुईवटा वनभोजस्थल व्यवस्थित रूपमा रहेको जानकारी दिनुभयो ।
“जलपरी झरना परिसरमा घुम्न र वनभोजका लागि आउने सर्वसाधारणको आकर्षण बर्सेनि बढ्दो छ”, उहाँले भन्नुभयो, “अत्यावश्यकीय पूर्वाधार विकाससँगै राम्रो प्रवर्द्धन गरिएमा यो हेटौँडाकै एउटा महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास हुने पक्का छ ।”
जलपरी झरना र चमेरे गुफालाई पर्यटनसँग जोड्दै तल गाउँमा घरबास सञ्चालन गर्नु अपरिहार्य भएको स्थानीयवासी रामकुमार एलनले बताउनुभयो । “जलपरी झरनालाई पर्यटनसँग जोड्न सकेमा यसले राक्सिराङ गाउँपालिकासँगै मकवानपुरकै पर्यटनमा विशिष्ट योगदान दिने देखिन्छ”, उहाँले भन्नुभयो, “१२ महिना नै अटुट रूपमा पानी झरिरहने यो झरनालाई पर्यटकीय उपयोगका लागि स्थानीय सरकारसँगै प्रदेश र सङ्घको संयुक्त सहयोग र सहकार्य अपरिहार्य छ ।”
यहाँको पर्यटकीय विकासले ग्रामीण अर्थतन्त्रमा पनि विशिष्ट योगदान पुग्ने उहाँले बताउनुभयो । पछिल्ला समयमा वनभोजका लागि निर्माण गरिएका टहरासँगै पदमार्गलाई व्यवस्थित गरिएका कारण आउने पर्यटकलाई झरनासम्म पुग्न सहज भएको छ ।
वडाध्यक्ष वाइबाका अनुसार यहाँको समग्र विकाससँगै व्यवस्थापनमा हरियाली सामुदायिक वनले महत्त्वपूर्ण सहयोग गरिरहेको छ । झरनाभन्दा तल विशेषगरी तामाङ, मगर र चेपाङको बस्ती रहेको जानकारी दिँदै उहाँले ती वस्तीमा घरबास सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो ।
“हामीले घरबास सञ्चालनका लागि स्थानीयवासीलाई अभिप्रेरित गरिहेका छौँ”, उहाँले भन्नुभयो, “जलपरी झरना र चमेरो गुफाको विकाससँगै पूर्वाधार निर्माण, प्रचारप्रसार र पर्यटन प्रवर्द्धन गर्दै यहाँ आउने पर्यटकका लागि घरबास सञ्चालन गर्न सकिएमा यसले गाउँमा पर्यटकको चहलपहल पनि बढ्ने, रोजगारीका अवसर सिर्जना भई स्थानीयको आयआर्जन वृद्धि हुने थियो ।”
झरना परिसरमा राखिएको बुद्धको मूर्तिसँगै मृगलाई झम्टँदै गरेको बाघको मूर्ति, झरनाको छेउमा राखिएको जलपरीको मूर्तिका साथै तस्बिर खिच्नका लागि बनाइएको आकर्षक स्थान आदिले यहाँ आउने पर्यटकलाई लोभ्याइरहेको छ । पछिल्ला समयमा हेटौँडाका साथै चितवनलगायतका स्थानबाट दिनानुदिन पर्यटकहरू आउने गरेका छन् । विशेषगरी सार्वजनिक बिदाको दिन यहाँ आउने पर्यटकको सङ्ख्या बढी हुन्छ ।
बर्दघाटबाट जलपरी झरना घुम्नका लागि आउनुभएका प्रदीप विकले यो झरना तथा यहाँको परिवेशले आफूलाई निकै मोहित बनाएको अनुभव सुनाउनुभयो । चितवनमा आफन्तकामा आउँदा केही समय छुट्याएर आफू झरनामा आइपुगेको बताउँदै उहाँले यसको प्रचारप्रसार गर्न सकिएमा आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने धारणा राख्नुभयो ।
झरनामा परिसरमा भेटिनुभएका चितवन भण्डाराका अभिशेक सुनारले आफू दोस्रोपटक यहाँ आएको बताउनुभयो । “केही समय पहिला साथीहरूसँग यहाँ घुम्न आएको थिएँ”, उहाँले भन्नुभयो, “झरना तथा यहाँको परिवेश लोभ्याउने खालको छ । दोस्रोपटक आफन्तहरू लिएर घुम्न आएको हुँ ।”
जलपरी झरना तथा चमेरो गुफा पार्क क्षेत्रमा पर्यटकको सुविधालाई लक्षित गरी बिजुली बत्तीको लाइन विस्तार गर्न लागिएको छ । झरनाका कारण गाउँमा चहलपहल बढ्दै गएपछि स्थानीयवासीले चिया तथा खाजा पसल थप्ने क्रम पनि बढेको छ । आगामी दिनमा पर्यटकीय चहलपहल बढ्ने देखेर स्थानीयवासी छेकु दोर्जे पाख्रिनले गाउँमा चिया तथा खाजा पसल सञ्चालन सुरु गरेको जानकारी दिनुभयो ।
“ठाउँठाउँबाट झरना तथा पार्कमा पर्यटक आउन थालेका कारण चहलपहल बढिरहेको छ”, उहाँले भन्नुभयो, “आउने पर्यटकलाई चिया तथा खाजाको सुविधा उपलब्ध गराउने उद्देश्यका साथ मैले चिया तथा खाजा पसल सुरु गरेको छु ।” यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि तीनै तहका सरकारले योजनाबद्ध काम गर्न सके रोजगारीका अवसर सिर्जना हुनुका साथै आयआर्जन बढ्ने, आर्थिक गतिविधि चलायमान हुने उहाँको भनाइ छ ।

