बारा- बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गरी पक्राउ परेका दुवै जनालाई सार्वजनिक गरेको हो ।
जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरा बस्ने मनमती चौधरीकी छोरी गरिमा चौधरी साउन ३१ गतेदेखि हराइरहेकी थिइन ।
भदौ २ गते वीरबहादुर रोकाको एकतले घरको खाली कोठाभित्र बालिका मृत अवस्थामा फेला परेकी हुन ।
बालिकाको शव फेला परेपछि इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बारा लगायतको टोलीले शव फेला परेको दुई घण्टापछि उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।
अनुसन्धानका क्रममा प्रदेश प्रहरी कार्यालय वीरगञ्जबाट तालिम प्राप्त कुकुर सहितको टोलीसमेत परिचालन गरिएको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा जीतपुरसिमरा उपमहानगरपालिका –२ बस्ने १६ वर्षीय म्याजिक सहचालक सुमन थापाले बालिकालाई चकलेटको प्रलोभन देखाएर फकाई जबरजस्ती करणीपछि हत्या गरेको खुलेको बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिनु भएको छ ।
त्यसैगरी म्याजिक धनी जितपुर सिमरा-१ बस्ने बर्ष २४ को प्रोग्रेस चौधरी समेतलाई पक्राउ गरी अनुसन्धान भइरहेको एसपी कुँवरले जानकारी दिनुभयो ।
बालिकाको बलत्कार पछि हत्याको घटनाले स्थानीय आक्रोशित भएका छन ।
स्थानीयले पथलैया बिरगन्ज सडक खण्डमा टायर बालेर बिरोधसमेत गरेका छन । पक्राउ परेकाको सार्वजनिक भएसँगै अहिले अबस्था सामान्य रहेको छ ।
प्रहरीले घटनाको अनुसन्धान तिब्र पारेको जनाएको छ । बलत्कार पछि हत्याको आरोपमा पक्राउ परेका दुवैलाई अदालतबाट चार दिनको म्याद थप भएको छ ।।

