काठमाडौँ- नेपाली युवालाई प्रविधिका माध्यमबाट अवसरसँग जोड्न उडान परियोजना सुरु भएको छ ।
युवाहरुलाई रोजगारी तथा उद्यमशीलताका लागि आवश्यक प्राविधिक सीप प्रदान गर्ने परियोजनाले उत्कृष्ट युवालाई आफ्नो सोच व्यवसायमा परिणत गर्न आर्थिक सहयोग तथा विज्ञ सहायता समेत गर्नेछ ।
नेपाली युवाहरुको डिजिटल गतिशिलता र महत्वाकांक्षालाई उजागर गर्न भन्दै शुरु गरिएको उडान परियोजना नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोको उपस्थितिमा सार्वजनिक गरिएको हो।
सातै प्रदेशमा चार वर्षसम्म सञ्चालन हुने परियोजनाबाट करिब ४५ हजार युवाले डिजिटल सीप प्राप्त गर्ने छन ।
यसैगरी, ४ सय २० युवालाई उद्यम स्थापनामा सहायता तथा आठ सयलाई उच्च शिक्षा पछि निजी क्षेत्रमा प्रशिक्षार्थीका रुपमा रोजगारी प्रदान गरिने परियोजनाको लक्ष्य छ ।
मधेश, कर्णाली तथा सुदुर पश्चिमप्रदेशका १४ पालिकामा युवाहरुलाई अवसरसँग जोड्न इनोभेशन हबसमेत स्थापना गरिनेछ ।
युवाहरुलाई डिजिटल अर्थतन्त्रसँग जोड्न देखिएका अवरोधहरु र नीतिगत विषयमा सुधारका लागि नीतिगत बहससमेत गर्ने उद्देश्य परियोजनाले लिएको छ ।
उडान अन्तर्गत सञ्चालन गरिने पाठशालाले युवाहरुलाई निःशुल्क रुपमा एआई, कोडिङ्ग तथा एनिमेशनजस्ता सीपहरु निःशुल्क प्रदान गर्नेछ ।
परियोजना अन्तर्गत निजी क्षेत्रमा उच्च शिक्षापछि युवाहरुले प्रशिक्षार्थीका रुपमा रोजगारी र सीप निखार्ने अवसर पाउनेछन् ।
यसैगरी, नीतिशाला अन्तर्गत परियोजनाले स्थानीय सरकारका पाठ्यक्रममा कोडिङ्ग, एआईजस्ता प्राविधिक विषय समावेश गर्दै युवालक्षित प्राविधिक शिक्षामा योगदान दिएर नीतिगत सुधारमा पहल गर्नेछ ।
परियोजना सार्वजनिक गर्न आयोजित कार्यक्रममा नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोले नेपालमा खासगरी ग्रामीण क्षेत्रका युवाहरु अवसरबाट बञ्चित रहेको बताउनुभयो ।
उहाँले परियोजनाले कम अवसर पाएका युवाहरुलाई प्रविधिको ज्ञान दिँदै अवसरसँग जोड्न भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

परियोजनाको नेतृत्व गरिरहेको युथ इन्नोभेशन ल्यावका कार्यकारी निर्देशक प्रदीप खतिवडाले अवसरको अभाव नै युवाहरुका लागि मुख्य चुनौती रहेको भन्दै परियोजनाले युवाहरुलाई प्राविधिक हिसाबले दक्ष बनाउँदै अर्थतन्त्रमा समेत योगदान दिने गरी अवसरसँग जोड्ने लक्ष्य लिएको उल्लेख गर्नुभयो ।
परियोजनाले अब देशैभर युवासमक्ष पुगेर उनीहरुलाई प्रविधिका माध्यमबाट अवसरसँग जोड्न गतिविधिहरु शुरु गर्ने कार्यक्रम निर्देशक गोमा कार्कीले जानकारी दिनुभयो ।।


