काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील रहेको बताउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूका जिज्ञासाको जवाफ दिँदै उहाँले देशमा शान्तिसुरक्षा कायम राख्न गृहमन्त्रालय क्रियाशील रहेको बताउनुभयो ।
गृहमन्त्री गुरुङले संवेदनशील विषयमा प्रश्न उठाउँदा सांसदहरू पनि संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।
सांसदहरुले उठाउनुभएका विषय निकै संवेदनशील भएको भन्दै कुनै व्यक्तिको परिवारको सदस्यको निधन हुँदा र त्यस विषयलाई बारम्बार सम्झाइरहँदा पीडित परिवारलाई शान्ति नमिल्ने गृहमन्त्रीको धारणा थियो ।
गृहमन्त्री गुरुङले उक्त विषयमा अनुसन्धान जारी रहेकाले त्यसमा टिप्पणी गर्न उपयुक्त नहुने बताउनुभयो । “यस विषयमा सूक्ष्म रूपमा अनुसन्धान भइरहेको छ,” उहाँले भन्नुभयो, “प्रतिनिधिसभा र राष्ट्रियसभाका सम्पूर्ण माननीयज्यूहरूलाई यो विषय बारम्बार उठान नगर्न अनुरोध गर्दछु ।” यद्यपि उहाँले यस्ता विषयमा व्यक्तिगत रूपमा पनि आफूलाई सोध्न सकिने बताउनुभयो ।
गृहमन्त्री गुरुङले निर्मला पन्त प्रकरणबारे टिप्पणी गर्न नचाहेको पनि बताउनुभयो।
सांसद विष्णुबहादुर विश्वकर्माले मन्त्रीको अभिव्यक्तिबाट आफ्नो विधायकीय अधिकार हनन भएको महसुस गरेको बताउँदै प्रश्न गर्ने सांसद र त्यसको उत्तर दिने मन्त्रीको अधिकार संसदीय अभ्यासको स्वाभाविक प्रक्रिया भएको स्मरण गराउनुभयो ।
फरक प्रसङ्गमा गृहमन्त्री गुरुङले मानसिक स्वास्थ्यका विषयमा सङ्घ, प्रदेश र स्थानीय तहका सरकारबीच समन्वय आवश्यक छ भन्नुभयो ।।

