इरानमाथि अमेरिकी आक्रमण तीव्र – सार्वजनिक सेवा प्रसारण संस्था

इरानमाथि अमेरिकी आक्रमण तीव्र – सार्वजनिक सेवा प्रसारण संस्था

एजेन्सी- अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मङ्गलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । साथै, इरानी बन्दरगाहतर्फ आउने–जाने जहाजहरू रोक्ने उद्देश्यसहित नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि वासिङ्टन र तेहरानबीचको तनाव थप चुलिएको छ । इरानी पक्षले यस कदमले युद्धविराम तथा शान्ति वार्ताका लागि भएको सहमति प्रभावकारी रूपमा समाप्त भएको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले वार्तामा नआए अर्को सातादेखि इरानका विद्युत् उत्पादन केन्द्र र रणनीतिक पुलहरूलाई लक्षित गरी आक्रमण अझ विस्तार गरिने चेतावनी दिनुभएको छ । फक्स न्युजसँगको अन्तर्वार्तामा उहाँले इरान वार्तामा सहमत नभएसम्म ऊर्जा पूर्वाधार र पुलहरू निष्क्रिय बनाउने अभियान जारी रहने बताउनुभयो । यसअघि हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि अतिरिक्त शुल्क लगाउने योजना भने उहाँले फिर्ता लिनुभएको छ ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले पछिल्लो आक्रमणको उद्देश्य हर्मुज जलघाँटीमा व्यावसायिक जहाजमाथि आक्रमण गर्न प्रयोग हुने इरानी सैन्य क्षमता कमजोर पार्नु रहेको जनाएको छ । सेन्टकमका अनुसार गत साताभित्र इरानले सातवटा व्यापारिक जहाजमाथि आक्रमण गर्दा करिब एक दर्जन चालकदलका सदस्यको मृत्यु, बेपत्ता वा घाइते भएका छन् । निर्दोष नागरिकको ज्यान जोखिममा पार्ने गतिविधिका लागि इरानलाई जवाफदेही बनाइएको सेन्टकमका प्रमुख एडमिरल ब्राड कुपरले बताउनुभयो ।

इरानी सरकारी सञ्चारमाध्यमहरूले बन्दर अब्बास, हर्मुज नजिकको केशम टापु तथा अन्य स्थानमा विस्फोट भएको जनाएका छन् । स्थानीय अधिकारीहरूका अनुसार अमेरिकी आक्रमण बुसेहर प्रान्तका विभिन्न स्थान, त्यहाँ रहेको इरानको एकमात्र नागरिक आणविक विद्युत् केन्द्र तथा इराक र कुवेत सीमावर्ती क्षेत्रमा समेत केन्द्रित थियो ।

इरानी सरकारी समाचार एजेन्सी इरनाले त्यसको प्रत्युत्तरमा इरानी सेनाले जोर्डनस्थित अमेरिकी लडाकू विमान रहेको सैन्य अड्डामा ड्रोन आक्रमण गरेको जनाएको छ । रिभोलुसनरी गार्ड्सले बहराइनमा अमेरिकी सैन्य सुविधा र आवासीय संरचनालाई लक्षित गरी मिसाइल तथा ड्रोन प्रहार गरिएको दाबी पनि गरेको छ ।

इरानका उपविदेशमन्त्री काजेम गरिबाबादीले अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू गर्ने निर्णयले वासिङ्टनसँग द्वन्द्व रोक्न भएको इस्लामाबाद सम्झौतालाई प्रभावहीन बनाएको बताउनुभयो ।

यसैबीच अन्तर्राष्ट्रिय समुद्री सङ्गठनका अनुसार हर्मुज जलघाँटीमा दुईवटा जहाजमाथि भएको आक्रमणमा दुई चालकदल सदस्यको मृत्यु भएको छ । ओमानको तट नजिक अज्ञात विस्फोटका कारण नर्वेली तेल ट्याङ्करमा क्षति पुगेको एमटिआई नेटवर्कले जनाएको छ भने कुवेतले इरानी क्षेप्यास्त्र र ड्रोन आक्रमणका क्रममा आफ्नो एउटा नौसैनिक जहाजमा प्रहार हुँदा चार सैनिक घाइते भएको जनाएको छ ।

ट्रम्पले सोमबार हर्मुज हुँदै आवतजावत गर्ने जहाजमाथि प्रस्तावित २० प्रतिशत शुल्क हटाएर त्यसको सट्टा खाडीका साझेदार राष्ट्रहरूसँग व्यापार तथा लगानी सम्झौता गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ती सम्झौतामार्फत अमेरिकी अर्थतन्त्रमा थप लगानी भित्र्याइनेछ ।

इरानी सञ्चारमाध्यम र सरकारी विवरणका आधारमा एएफपीले सङ्कलन गरेको तथ्याङ्कअनुसार गत सातादेखिको अमेरिकी आक्रमणमा इरानमा कम्तीमा २८ जनाको मृत्यु भइसकेको छ ।

तनाव क्षेत्रीय रूपमा फैलिँदै जाँदा बहराइनले इरानबाट प्रहार गरिएका धेरै हवाई आक्रमणहरू निष्क्रिय बनाइएको दाबी गरेको छ भने जोर्डनले पनि इरानबाट प्रहार गरिएका चारवटा क्षेप्यास्त्र खसालिएको जनाएको छ ।

यता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले इजरायलमाथि आक्रमण गरे कडा प्रतिकार गरिने चेतावनी दिनुभएको छ । दक्षिणी सहर डिमोनाबाट सम्बोधन गर्दै उहाँले इजरायलमाथि हुने कुनै पनि आक्रमणको निर्णायक जवाफ दिइने र विगतजस्तो मौन नबस्ने स्पष्ट पार्नुभयो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

इरानमाथि अमेरिकी आक्रमण तीव्र – सार्वजनिक सेवा प्रसारण संस्था

इरानमाथि अमेरिकी आक्रमण तीव्र – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधि सभा बैठक साउन १४ गतेसम्म स्थगित,जनतासँग निरन्तर संवाद गर्न सांसदहरुलाई सभामुखको आग्रह

प्रतिनिधि सभा बैठक साउन १४ गतेसम्म स्थगित,जनतासँग निरन्तर संवाद गर्न सांसदहरुलाई सभामुखको आग्रह

आईटी उद्योगसँग विश्वविद्यालय जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने

आईटी उद्योगसँग विश्वविद्यालय जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने

नेपाल–भारत ऊर्जा सहकार्य बैठक सम्पन्न, प्रसारण लाइन र विद्युत् व्यापारलाई तीव्रता दिने सहमति

नेपाल–भारत ऊर्जा सहकार्य बैठक सम्पन्न, प्रसारण लाइन र विद्युत् व्यापारलाई तीव्रता दिने सहमति