इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

लमजुङ- लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडा पछिल्ला केही वर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । राष्ट्रिय विभूति भक्ति थापाको बाल्यकालसँग जोडिएको यो ऐतिहासिक डाँडा प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, शान्त वातावरण र ऐतिहासिक महत्वका कारण पर्यटकको आकर्षण बन्दै आएको छ । हालैमात्र राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेपछि हरसिङडाँडाको परिचयमा नयाँ आयाम थपिएको छ ।

नेपाल विद्युत् प्राधिकरण, लमजुङ वितरण केन्द्रले केही दिनअघि हरसिङडाँडामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार गरेसँगै साँझपख डाँडा झिलीमिली बन्न थालेको छ । लामो समयसम्म सोलारको भरमा दैनिक काम चलाउँदै आएका स्थानीयले अहिले नियमित विद्युत् पाएका छन् । यसले स्थानीयको दैनिकीमात्र सहज बनाएको छैन, पर्यटन व्यवसायमा नयाँ ऊर्जा दिएको छ ।

प्राधिकरण लमजुङका प्रमुख सोवितबहादुर क्षेत्रीका अनुसार पर्यटकीय सम्भावना भएका स्थानलाई प्राथमिकतामा राखेर विद्युत् विस्तार गर्ने योजनाअनुसार हरसिङडाँडामा राष्ट्रिय प्रसारण लाइन पुर्याइएको हो । उहाँका अनुसार यसअघि बजेट अभावका कारण काम अघि बढ्न सकेको थिएन । अहिले करिब रु १० लाख लागतमा १८ वटा पोल गाडेर विद्युत् विस्तार गरिएको हो । आगामी दिनमा बजेटको उपलब्धताअनुसार जिल्लाका अन्य पर्यटकीय क्षेत्रमा पनि विद्युत् सेवा विस्तार गरिने उहाँले बताउनुभयो ।

हरसिङडाँडामा पर्यटन व्यवसाय सञ्चालन गर्दै आउनुभएका पूर्णबहादुर गुरुङका अनुसार विद्युत् पुगेपछि स्थानीय र पर्यटक दुवैलाई सहज भएको छ । “पहिले सोलारको भरमा काम चलाउनुपथ्र्यो । अहिले बिजुली आएपछि पर्यटकलाई सेवा दिन सहज भएको छ । मोबाइल चार्ज गर्न, खाना पकाउने, रातिको उज्यालो र अन्य सेवा प्रभावकारी भएका छन् । डाँडा झिलीमिली बनेपछि यहाँको आकर्षण पनि बढेको छ”, उहाँले भन्नुभयो ।

सो स्थानमा केही वर्षअघि पूर्णबहादुर गुरुङ, सुमन गुरुङ, सुरज गुरुङ र इन्द्रबहादुर गुरुङ गरी चार जना युवाले संयुक्त रूपमा करिब रु ११ लाख लगानी गरी ३५ जनासम्म अट्ने हल निर्माण गर्दै खाना र बासको व्यवस्था गरेका थिए । स्थानीय युवाको यही पहलपछि आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । अहिले विभिन्न मौसममा सयौँ पर्यटक यहाँ पुग्ने गरेका छन् ।

विद्युत् पुगेपछि पर्यटन व्यवसाय थप व्यवस्थित हुने अपेक्षा गरिएको छ । स्थानीय कृषि तथा पशुपालनबाट उत्पादित वस्तुको बिक्री बढ्ने, युवाले गाउँमै रोजगारी पाउने र गाउँको आर्थिक गतिविधि विस्तार हुने विश्वास स्थानीयवासीको छ । पहिलेजस्तो साँझ पर्नासाथ सुनसान हुने हरसिङडाँडा अहिले उज्यालोले मनमोहक भएको छ ।

हरसिङडाँडामा पुग्ने पर्यटकहरू यहाँको प्राकृतिक सौन्दर्यबाट लोभिने गरेका छन् । उनीहरूका अनुसार मनास्लु हिमशृङ्खला, बुद्ध हिमाल, डा हर्क पिक, मस्र्याङ्दी नदीको नागबेली, घलेगाउँ, कल्मेडाँडा, बेँसीसहर बजार तथा तनहुँको बन्दीपुरसम्मको दृश्यले मनै लोभ्याउँछ । सूर्योदय र सूर्यास्तको मनोरम दृश्यले यहाँ पुगेका जोकोहीलाई फेरि फर्केर आउन मन लाग्ने बनाउँछ ।

पर्यटकहरूका अनुसार हरसिङडाँडा घुमफिरका लागिमात्र होइन, साथीभाइ र परिवारसँग एकदुई रात बसेर रमाउन मिल्ने उत्कृष्ट गन्तव्य बनेको छ । यहाँको शान्त वातावरण, स्थानीय आतिथ्यता, प्राकृतिक सौन्दर्य र भक्ति थापासँग जोडिएको इतिहासले थप मनोरम बनाएको छ ।

नयाँ पुस्ताले नेपालको वीर इतिहास बुझ्न पनि हरसिङडाँडा एकपटक पुग्नैपर्ने स्थल भएको उनीहरू बताउँछन् । हरसिङडाँडाको अर्को महत्त्वपूर्ण पक्ष यसको ऐतिहासिक महत्व हो । विसं १८०२ मा मस्र्याङ्दी गाउँपालिका–३ खुदीको ढुङ्गेबेँसीमा जन्मनुभएका राष्ट्रिय विभूति भक्ति थापाले बाल्यकालका धेरै समय यही डाँडामा गाईवस्तु चराउँदै बिताउनुभएको इतिहासमा उल्लेख छ । सोही स्थानमा उहाँले छेलो हान्ने, साथीहरूसँग खेल्ने र गाउँको परिवेशमा हुर्किने अवसर पाउनुभएको स्थानीयको विश्वास छ ।

भक्ति थापाको वीरताको सम्मानस्वरूप लमजुङका विभिन्न स्थानमा उहाँका सालिक तथा स्मृति पार्क निर्माण गरिएका छन् । तर उहाँको बाल्यकाल बितेको हरसिङडाँडाले भने अहिलेमात्र विकासको लय समात्न थालेको छ । सडक, विद्युत् र पर्यटन पूर्वाधार विस्तारसँगै यो स्थलको महत्व झन् बढ्दै गएको स्थानीय बताउँछन् ।

मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङका अनुसार हरसिङडाँडा गाउँपालिकाको प्रमुख ऐतिहासिक तथा पर्यटकीय गन्तव्य हो । राष्ट्रिय विभूति भक्ति थापाको इतिहाससँग जोडिएको यस क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्ने योजना गाउँपालिकाले अघि बढाएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार हरसिङडाँडासम्म पुग्ने सडकलाई थप स्तरोन्नति गर्ने, पर्यटकलाई सहज हुने पूर्वाधार निर्माण गर्ने, आवश्यक बजेट व्यवस्थापन गर्ने तथा देशव्यापी रूपमा प्रचारप्रसारलाई प्रभावकारी बनाउने तयारी भइरहेको छ ।

विद्युत् पुगेपछि पर्यटन विकासले थप गति लिने विश्वास व्यक्त गर्दै उहाँले स्थानीय सरकार यस क्षेत्रलाई गण्डकी प्रदेशकै आकर्षक ऐतिहासिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

अध्यक्ष गुरुङले विद्युत् सेवा विस्तारले पर्यटनसँगै स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने बताउनुभयो । पर्यटकको सङ्ख्या बढ्दै जाँदा स्थानीय उत्पादनले बजार पाउने, होटल तथा होमस्टे व्यवसाय विस्तार हुने, युवाले गाउँमै रोजगारी सृजना गर्ने र समग्र गाउँको आर्थिक गतिविधि चलायमान बन्ने उहाँको विश्वास छ । स्थानीयका अनुसार केही वर्षअघिसम्म सुनसान देखिने हरसिङडाँडा अहिले विस्तारै चहलपहलले भरिन थालेको छ । सडक पुगेको छ, विद्युत् पुगेको छ, बास र खानाको व्यवस्था भएको छ । थपिँदो पूर्वाधारले एक दिन घुमेर फर्किनेमात्र होइन, एकदुई रात बसेर प्राकृतिक सौन्दर्य, हिमालको दृश्य र स्थानीय संस्कृतिको अनुभव लिन आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ ।

इतिहास, प्रकृति, संस्कृति र आधुनिक पूर्वाधारको सुन्दर सङ्गम बनेको हरसिङडाँडा अब केवल भक्ति थापाको बाल्यकालसँग जोडिएको ऐतिहासिकस्थलमात्र होइन, उज्यालोसँगै नयाँ सम्भावनाको ढोका खोल्दै अघि बढिरहेको पर्यटकीय गन्तव्य पनि बनेको छ ।

प्राकृतिक सौन्दर्य, ऐतिहासिक गौरव र स्थानीय आतिथ्यतालाई एकैसाथ अनुभव गर्न चाहनेका लागि हरसिङडाँडा आज लमजुङको मात्र होइन, गण्डकी प्रदेशकै उदाउँदो गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । विकासका योजनाले निरन्तरता पाए र आवश्यक पूर्वाधार थपिँदै गए, राष्ट्रिय विभूति भक्ति थापाको सम्झना बोकेको यो डाँडा निकट भविष्यमै नेपालको प्रमुख ऐतिहासिक तथा पर्यटकीय गन्तव्यको सूचीमा दरिन सक्ने प्रबल सम्भावना देखिन्छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी

गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

नेप्से परिसूचक १९ अङ्कले घट्यो

नेप्से परिसूचक १९ अङ्कले घट्यो