
दाङ– लगातार वर्षा नहुँदा दाङका विभिन्न स्थानमा लगाइएको मकैबाली खडेरीका कारण सुक्न थालेको छ । विशेषगरी सिँचाइ सुविधा नपुगेका र आकाशे पानीको भरमा खेती गर्ने किसान सबैभन्दा बढी प्रभावित भएका छन् ।
राजपुर गाउँपालिका वडा नं. ७ को सिक्टा, लैवरुवा लगायतका बस्तीमा केही साताअघि लगाइएको मकै पर्याप्त पानी नपाउँदा बोट नै ओइलाउन थालेको छ । पानीको अभावका कारण मकैको वृद्धि रोकिएको छ भने धेरै ठाउँमा बाली पूर्ण रूपमा सुक्ने अवस्थामा पुगेको किसानले बताएका छन् ।यस वर्ष समयमै वर्षा हुने अपेक्षामा किसानले मकै रोपे पनि लामो समयसम्म पानी नपरेपछि उत्पादन गुम्ने चिन्ता बढेको छ । अधिकांश किसानसँग वैकल्पिक सिँचाइको व्यवस्था नभएकाले आकाशबाट पानी पर्ने आशामै खेत छाड्न बाध्य भएका छन् ।
स्थानीय किसानका अनुसार अहिलेको अवस्थामा केही दिनभित्र राम्रो वर्षा नभए मकैबाली जोगाउन कठिन हुने अवस्था छ । खडेरी लम्बिए खाद्यान्न उत्पादनमा समेत असर पर्ने उनीहरूको भनाइ छ ।
.

