उत्तर कोरियाली नेता किम जोङ उनले देशको सैन्य क्षमतालाई अझ आक्रामक र विनाशकारी बनाउने आह्वान गर्नुभएको छ । उता दक्षिण कोरियाले पनि उत्तरबाट बढ्दो सुरक्षा चुनौतीको सामना गर्न आफ्नो ड्रोन युद्ध क्षमता व्यापक रूपमा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ । यससँगै कोरियाली प्रायद्वीपमा सैन्य तनाव थप चर्किने सङ्केत देखिएको छ ।
राज्य सञ्चारमाध्यम केसीएनएका अनुसार किमले बिहीबार विभिन्न हतियार परीक्षणको अवलोकन गर्दै सेनाको ‘घातक र विनाशकारी आक्रामक क्षमता’ सुदृढ बनाउन निर्देशन दिनुभएको हो । उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकासँग वार्तामा फर्किन अस्वीकार गर्दै आणविक तथा परम्परागत सैन्य शक्ति विस्तारलाई प्राथमिकता दिइरहेको समयमा यो सन्देश आएको हो ।
किमले अवलोकन गर्नुभएको परीक्षणमा रणनीतिक ब्यालेस्टिक क्षेप्यास्त्रका लागि विशेष वारहेड, उन्नत बहु–रकेट प्रक्षेपण प्रणाली तथा स्वचालित होवित्जरका लामो दूरीका गोलाहरूको प्रहार क्षमता परीक्षण गरिएको केसीएनएले जनाएको छ । परीक्षणले दक्षिणी सीमावर्ती क्षेत्रमा उत्तर कोरियाको आक्रमण क्षमता बढेको देखाएको दाबी गरिएको छ ।
केसीएनएका अनुसार किमले कुनै पनि शत्रुले आक्रमण गर्ने साहस नगर्ने गरी सेनाको आक्रामक क्षमता विकास गर्नुपर्ने बताउनुभएको छ । उहाँले शत्रु पक्षलाई निरन्तर भय र असुरक्षाको अवस्थामा राख्नु युद्ध रोकथामको महत्त्वपूर्ण उपाय भएको धारणा व्यक्त गर्नुभएको छ ।
परीक्षण गरिएको विशेष वारहेड शत्रुको हवाई क्षेत्र, बन्दरगाह तथा ऊर्जा पूर्वाधारजस्ता महत्त्वपूर्ण संरचनालाई लक्षित गरी ठूलो क्षति पुर्याउन सक्षम रहेको उत्तर कोरियाले जनाएको छ ।
यसैबीच दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तर कोरियाबाट बढ्दो सैन्य चुनौती र रुसबाट प्राप्त प्रविधि सहयोगलाई ध्यानमा राख्दै आफ्नो ड्रोन क्षमता विस्तार गर्ने योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत लामो दूरीका विस्फोटक ड्रोन विकास गर्ने, २० हजारभन्दा बढी कम लागतका निगरानी तथा आक्रमण ड्रोन खरिद गर्ने तथा करिब पाँच लाख सैनिकलाई ‘ड्रोन योद्धा’ का रूपमा तालिम दिने लक्ष्य राखिएको छ ।
रक्षामन्त्री आहन ग्यु–ब्याकले उत्तर कोरियाले रुसबाट प्रविधि हस्तान्तरण प्राप्त गरिरहेको भन्दै बदलिँदो युद्ध प्रवृत्तिअनुसार दक्षिण कोरियाले सक्रिय रूपमा प्रतिक्रिया दिन आवश्यक रहेको बताउनुभएको छ ।
उहाँका अनुसार आधुनिक युद्धमा कम लागतका ड्रोन र लोयटरिङ हतियारको महत्त्व तीव्र रूपमा बढिरहेको छ । रुस–युक्रेन युद्धले पनि यस्ता प्रविधिको प्रभावकारिता स्पष्ट पारेको उहाँले उल्लेख गर्नुभयो । दक्षिण कोरियाली सेनाले भविष्यमा सेना, नौसेना, वायुसेना र मरीन फौजमा गरी पाँच लाख सैनिकलाई व्यक्तिगत हतियारसरह ड्रोन सञ्चालन गर्न सक्षम बनाउने योजना बनाएको छ ।
सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको उच्चस्तरीय वार्ता असफल भएपछि उत्तर कोरियाले आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई तीव्रता दिएको छ । त्यसयता किमले आधुनिक परम्परागत हतियार विकासलाई पनि उत्तिकै महत्व दिँदै आउनुभएको छ ।
यसै साता उत्तर कोरियाले पाँच हजार टन क्षमताको नयाँ विध्वंसक युद्धपोतलाई औपचारिक रूपमा सेवामा समावेश गरेको थियो । किमले उक्त युद्धपोतलाई देशको बढ्दो नौसैनिक तथा आणविक क्षमताको प्रतीकका रूपमा व्याख्या गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले पटक–पटक वार्ताको प्रस्ताव गरे पनि किमले उत्तर कोरियाको आणविक निशस्त्रीकरणलाई पूर्वसर्त बनाउने नीति त्यागिएमा मात्र वार्ता सम्भव हुने सङ्केत गर्नुभएको छ । उहाँले दक्षिण कोरियालाई आफ्नो देशको प्रमुख शत्रुका रूपमा चित्रण गर्दै सीमावर्ती क्षेत्रमा थप सैन्य संरचना निर्माणलाई पनि निरन्तरता दिनुभएको छ ।
पछिल्ला वर्षहरूमा किमले युक्रेन युद्धमा रुसलाई समर्थन गर्दै मस्कोसँग सम्बन्ध विस्तार गर्नुभएको छ । यसै महिनाको प्रारम्भमा चिनियाँ राष्ट्रपति सी चिनफिङले सात वर्षपछि पहिलोपटक उत्तर कोरियाको भ्रमण गर्दै किमसँग भेटवार्ता गर्नुभएको थियो ।
–––

