धादिङ- निर्माण सामग्रीको अभावका कारण प्रभावित बनेको नागढुङ्गा-मुग्लिन सडक निर्माण कार्य पुनः सुचारु भएको छ। बिटुमिन र पेट्रोलियम पदार्थको आपूर्ति सहज हुन थालेपछि कालोपत्रे लगायतका निर्माण कार्यले गति लिन थालेको हो ।
यससँगै आगामी आर्थिक वर्षको पहिलो चौमासिकसम्म नौबिसे-मलेखु सडक खण्डमा पहिलो तहको कालोपत्रे पुर्ण सम्पन्न हुने लक्ष्यका साथ काम भइरहेको छ ।
कालोपत्रे गर्न आवश्यक बेस सामग्री, गिट्टी, ढुङ्गा तथा बिटुमिनको अभावका कारण लामो समयसम्म निर्माण कार्य प्रभावित बनेको थियो । मध्यपूर्वी देशहरूमा जारी द्वन्द्वका कारण पेट्रोलियम पदार्थ र बिटुमिनको आपूर्तिमा समस्या उत्पन्न हुँदा निर्माण कम्पनीहरूले कामको गति सुस्त बनाएको थियो ।
निर्माण कम्पनीका अनुसार अहिले महँगो मूल्यमा भए पनि पेट्रोलियम पदार्थ र बिटुमिन उपलब्ध हुन थालेपछि निर्माण कार्यलाई पुनः तीव्रता दिइएको हो ।
नदीजन्य निर्माण सामग्रीको आपूर्ति सहज भएसँगै ग्राभेल, बेस बिछ्याउने, खाल्टा-खुल्टी पुर्ने तथा कालोपत्रेका लागि आवश्यक पूर्वतयारीका काम भइरहेको छ ।
केही स्थानमा कालोपत्रे कार्य धमाधम भइरहेको छ भने नौबिसेदेखि मलेखुसम्म कालोपत्रे हुन बाँकी सडक खण्डमा आवश्यक तयारी गरीरहेको छ ।
चालु आर्थिक वर्षको अन्त्यसम्म धार्केबजारदेखि जुङ्गेखोला तथा गल्छीदेखि मलेखुसम्म पहिलो तहको कालोपत्रे सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य अघि बढाइएको छ ।
नागढुङ्गा–मुग्लिन सडकअन्तर्गत नागढुङ्गा–नौबिसे खण्डमा पर्ने त्रिभुवन राजपथमा पहिलो तहको कालोपत्रे सम्पन्न भइसकेको छ। उक्त खण्डमा सडक संकेतचिन्ह तथा सुरक्षा बार जडानको काम पनि जारी रहेको छ।
यस्तै, पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मलेखु खण्डमा चालु महिनाको अन्त्यसम्म करिब ३० किलोमिटर सडकमा कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
तीमध्ये २२ किलोमिटर सडकमा पहिलो तहको कालोपत्रे भइसकेको छ भने बाँकी ८ किलोमिटर सडकमा कालोपत्रे गर्न आवश्यक तयारी भइरहेको छ। यस सडक खण्डमा २ किलोमिटर सडक ढलानको काम पनि सम्पन्न भइसकेको छ ।
बाँकी ११ किलोमिटर क्षेत्रमा आगामी आर्थिक वर्षभित्र कालोपत्रे सम्पन्न गरिने नागढुङ्गा-मुग्लिन सडक योजना पूर्वी खण्डले जनाएको छ ।।

