
काठमाडौँ- आइतबारबाट चितवनको भरतपुरमा सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेसँगै त्यहाँको चहलपहल बढेको छ । ९ गतेसम्म सञ्चालन हुने महाधिवेशनका लागि देशभरबाट नेता, कार्यकर्ता, प्रतिनिधि तथा शुभेच्छुकहरू चितवन पुग्न थालेका छन् । चितवनको गर्मीलाई ध्यानमा राख्दै सहभागीहरूलाई आवश्यक तयारी गर्न पार्टीले सर्कुलर समेत जारी गरेको छ ।
महाधिवेशनमा तीन हजार भन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ । तयारीका लागि १८ वटा उपसमिति परिचालन गरिएका छन् । महाधिवेशनलाई लक्षित गरी सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार प्रधानमन्त्री, मन्त्री, सांसद, उच्चपदस्थ व्यक्तित्व तथा विदेशी पाहुनाको सहभागिता रहने भएकाले चारवटै सुरक्षा निकायको समन्वयमा विशेष सुरक्षा योजना लागू गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले सुरक्षाका लागि एक हजार ८७ जना प्रहरी तथा ट्राफिक व्यवस्थापनका लागि १६५ जना ट्राफिक प्रहरी परिचालन गर्ने जनाएको छ ।
यसैबीच, महाधिवेशनमा विद्युतीय मतदानको व्यवस्था गरिएको छ । रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार प्रतिनिधिहरूले विद्युतीय उपकरण मार्फत उम्मेदवारको नाम र तस्वीरमा छोएर मतदान गर्न सक्नेछन् । विदेशमा रहेका र उपस्थित हुन नसकेका १७० प्रतिनिधिमध्ये केहीले पार्टीको एप मार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ । पहिलो चरणको मतदान सम्पन्न गर्न करिब छ घण्टा लाग्ने अनुमान गरिएको छ ।


