
भक्तपुर- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । बोर्डका अनुसार परीक्षामा सहभागी कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थी मध्ये २ लाख ३१ हजार ७७० जना उत्तिर्ण भएका छन् ।
यसैगरी १ लाख ४७१ विद्यार्थी ननग्रेडेड भएको बोर्डले जनाएको छ । उत्तिर्ण परीक्षार्थी मध्ये १७ हजार ७८६ विद्यार्थीले ३.६१ देखि ४ जिपिए प्राप्त गरेका छन् । यसैगरी ३.२१ देखि ३.६० जिपिए ल्याउने विद्यार्थीको संख्या ६४ हजार ८२१ रहेको छ । यसैगरी २.८१ देखि ३.२० जिपिए प्राप्त गर्ने विद्यार्थीको संख्या ९४ हजार २४९ छ ।
यस्तै ५० हजार ५९७ जनाले २.४१ देखि २.८० जिपिए प्राप्त गरेका छन् भने ४ हजार ३०८ जनाले २.०१ देखि २.४० जिपिए प्राप्त गर्दा ९ जनाले २ जिपिए भन्दा कम अङ्क प्राप्त गरेका छन् ।
गत वैशाख महिनामा भएको कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी थिए । जसमा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए । त्यसमा १ लाख ७२, हजार ०१२ छात्र र १ लाख ६० हजार १३७ छात्रा र अन्य २९० जना थिए ।
देशभर १ हजार ४२० र जापानमा १ समेत गरी कूल १ हजार ४२१ परीक्षा केन्द्र थियो । सबैभन्दा बढी काठमाडौंमा १६१ र सबैभन्दा कम मनाङ र मुस्ताङ जिल्लामा १–१ केन्द्र निर्धारण गरिएको थियो । बोर्डले परीक्षा भएको ३५ दिनमै नतिजा प्रकाशन गरेको हो ।।


