प्यारातालः सीमाको पीडादेखि संरक्षणको उदाहरण

प्यारातालः सीमाको पीडादेखि संरक्षणको उदाहरण

कञ्चनपुर- बिहानको झुल्के घामसँगै प्यारातालमा विश्वमै दुर्लभ ओतको आखेट दृश्य र चराचुरुङ्गीको मधुर कलरवले प्रकृतिलाई जीवन्त बनाउँछ ।

केहि वर्षअघिसम्म सीमावर्ती हस्तक्षेप र विवादका कारण चिनिएको यो ताल आज स्थानीय समुदायको संरक्षणमा दुर्लभ वन्यजन्तु र चराचुरुङ्गीको सुरक्षित आश्रयस्थल बनेको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका ९ मा रहेको प्याराताल केवल एउटा जालशय मात्र होइन स्थानीय बासिन्दाले गरेको संरक्षण, संघर्ष र सम्भावनाको जीवित कथा पनि हो ।

दशगजा क्षेत्रमा रहेको ताल विवाददेखि ससंरक्षणसम्म 

प्याराताल नेपाल–भारत सीमास्तम्भ १९४ र १९५ को बीचमा पर्दछ । दुबै देशको दशगजा क्षेत्रमा पर्ने यो तालसँग भारतको दूधुवा नेशनलपार्क जोडिएको छ । फलस्वरुप यो ताल विश्वमै दुर्लभ जलचर र वन्यजन्तुको महत्वपूर्ण बासस्थान बनेको छ ।

सदाबहार जलाशय र दुर्लभ वन्यजन्तु पाइने भएकाले वन्यजन्तुहरुलाई पानीको व्यवस्थापनका लागि यो ताल अझ महत्वपूर्ण छ ।

फलस्वरुप २०६२/०६३ सालसम्म जिल्ला विकास समितिमार्फत नेपालीहरुले नै भोगचलन गर्दै आएको उक्त ताल झण्डै एक दशक सीमा विवादमा रुमलिएको पुनर्वास नगरपालिका वडा नम्बर ९ का पूर्व वडाअध्यक्ष नारायण प्रसाद जैशीको भनाई छ ।

आफ्ना वन्यजन्तुहरुलाई पानीको व्यवस्थापनका लागि विवाद भएको बताइएको छ ।

जैशीका विवादका कारण एक दशक बढी प्यारातालमा ठेक्का दिन र माछा मार्न रोक लगाइयो ।

पछि स्थानीय  जमिनको भोगचलन र प्यारातालको संरक्षणमा जुटे । प्यारातालको मुहार नै फेरियो ।

यसरी सुरु भयो संरक्षणको प्रयास

पुनर्वासका स्थानीयहरु २०८० मा तालको संरक्षणका लागि एकजुट भए । उनीहरुले स्वस्फूर्त रुपमा रकम उठाएर जलकुम्भीले भरिएको प्यारातालको सरसफाई र संरक्षणको अभियान सुरु गरे ।

स्थानीयस्तरबाट सुरु भएको अभियानमा देशविदेशबाट पनि आर्थिक सहयोग भयो । त्यसले तालको सरसफाईदेखि विभिन्न संरचनाहरु बनाइएका छन् । यसले प्रायः सुनसान देखिने प्यारातालमा पर्यटकको चहलपहल बढाएको छ ।

अहिले ताल र त्यहाँ पाइने जीवजन्तुको अवलोकनका लागि आउने आन्तरिक पर्यटकको संख्यामा पनि दिनानुदिन वृद्धि भइरहेको स्थानीय कृष्ण बस्नेतले बताउनुभयो ।
स्थानीयले तालको संरक्षण गर्न सुरु गरेपछि विवाद पनि कम हुँदै गएको र पयर्टकहरु बढ्दै गइरहेका छन् ।

सीमावर्ती दुर्लभ सीमसार

प्याराताल कञ्चनपुरको महत्वपूर्ण सीमसार क्षेत्रमध्ये एक हो । करिब ६ किलोमिटर लम्बाइ रहेको यस तालको चौडाइ ७० मिटर र गहिराइ १५ फिट रहेको छ । नेपाल–भारत सीमास्तम्भमा अवस्थित भएकाले यो ताल दुबै देशका जलचर र वन्यजन्तुको साझा बासस्थान बनेको छ ।

नेपाल–भारत सीमामा फैलिएको प्याराताल केवल एउटा ताल मात्रै होइन, सीमापार जैविक विविधतालाई जोड्ने प्राकृतिक सेतु पनि हो । वर्षभर पानी रहने विशेषताले माछा, ओद, कछुवा, जलचर तथा विभिन्न प्रजातिका चराचुरुङ्गीलाई यसले स्थायी आश्रय प्रदान गरेको छ ।

यही कारण प्याराताल सीमावर्ती क्षेत्रको महत्वपूर्ण सीमसार जैविक विविधिताको केन्द्रको रुपमा पनि रहेको छ । तर यसको अध्ययन तथा संरक्षणमा खासै ध्यान जान सकेको छैन ।

प्यारातालमा ओद, भुडिफोर गरुड, सेतो कण्ठे गरुड, सारसलगायतका दुर्लभ जीवजन्तु र चराचुरुङ्गी पाइने गरेपनि तिनहरुको संरक्षणका लागि ठूला खालका कुनै कार्यक्रम गर्न नसकिनएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मीराज जोशीले बताउनुभयो ।

उहाँका अनुसार कार्यालयले जनचेतनामुलक कार्यक्रम, वृक्षारोपण, झाडी तथा ताल सफा गर्नेलगायतका कामहरु मात्रै गर्दै आएको छ ।

जैविक विविधताको खानी

प्याराताल विविध जीवजन्तु र चराचुरुङ्गीको आश्रयस्थल हो । सुख्खा मौसममा समेत पानी नसुक्ने भएकाले जलचर, माछा, ओद, कछुवालगायतका जीवको स्थायी बासस्थान बनेको छ ।  यहाँ ३५ प्रजातिका माछा पाइन्छन् भने विश्वमै दुर्लभ मानिने ओद, पहेंलोधुरे कछुवा, गोही, जलकपुरजस्ता जलचर तथा सरीसृप जीवजन्तुले यहाँको जैविक महत्व बढाएका छन् ।

ताल आसपासका झाडी, घाँसे मैदान र वन क्षेत्र विभिन्न प्रजातीका स्थानीय तथा आगन्तुक चराचुरुङ्गीका लागि उपयुक्त बासस्थान बनेको छ । यस क्षेत्रमा जाडोयाममा विभिन्न जलपंक्षी र आगन्तुक चराहरु पनि आउने गरेका छन् भने अति संकटापन्न सेतो कण्ठे गरुडसमेत यस क्षेत्र वरपर देखिने गरेको स्थानीय दिपेन्द्र बस्नेतले बताउनुभयो ।

“यो ताल नेपालका लागि मात्रै होइन, विश्वका लागि पनि निकै महत्वपूर्ण छ,” बस्नेतले भन्नुभयो “यसले जलचरण प्राणीसँगै चराचुरुङ्गीको संरक्षण र जैविक विविधिता सन्तुलनमा पनि महत्वपूर्ण भूमीका खेलेको छ ।”

सदाबहार जलायश रहने यो तालमा हिउँदमा तातो र गर्मीयाममा चिसो पानी हुने स्थानीय बताउँछन् । उनीहरुका अनुसार ठाउँ ठाउँमा मुल फुटेर पानी आउने भएकाले यहाँ ताल सुक्ने वा पानीको अभाव हुदैँन ।

त्यस्तै प्राकृतिक सम्पदा संरक्षणमा स्थानीय समुदायको भूमीका उदाहरणीय बनेको यो ताल सीमावर्ती पर्यटन र पर्यावरणीय अध्ययनका लागि पनि महत्वपूर्ण स्थल बनेको छ ।

प्यारातालमा भौतिक संरचना निर्माणमा स्थानीय तह र प्रदेश सरकारले लगानी गरेपनि यसको खोजअनुसन्धान र संरक्षणमा खासै कसैको ध्यान जान सकेको देखिदैन ।

संरक्षणको क्षेत्रमा काम गर्दै आएको राष्ट्रिय प्रकृति संरक्षण कोषले पनि यस क्षेत्रमा वन्यजन्तु तथा जैविक विविधता संरक्षणका लागि कुनै काम गर्न नसकेको जनाएको छ ।

“प्यारातालमा आगन्तुक चराहरुको गणना हुँदा हामीले पनि गणना गर्छौ,” राष्ट्रिय प्रकृति संरक्षण कोष कञ्चनपुरका प्रमुख लक्ष्मी प्रसाद जोशीले भन्नुभयो “त्यसबाहेक अरु कुनै पनि कार्यक्रम गर्न सकेका छैनौ । ”

पर्यटनको बढ्दो सम्भावना

कुनै बेला संरक्षणको खोजीमा रहेको प्याराताल अहिले संरक्षण र पर्यटनको संगम बन्दै गएको छ । स्थानीयले सुरु गरेको संरक्षणमा स्थानीय तह र प्रदेश सरकारले पनि हातोमालो गरेका छन् । फलस्वरुप यस क्षेत्रमा अहिले पर्यटन प्रर्वद्धनका लागि थुप्रै कामहरु अघि बढाइएको छ ।

ताल क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तुको प्रतिमूर्ति, निर्माण, सभाहल निर्माण, पदमार्ग निर्माणलगायतका पूर्वाधार विकासका कामले प्यारा ताललाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने आधार तयार गरिरहेका छन् ।

यसले आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्ने अपेक्षा गरिएको छ । साथै संरक्षण र पर्यटनलाई सँगसँगै अघि बढाउने प्रयासले स्थानीय समुदायलाई आयआर्जसँग जोड्ने सम्भावना पनि बढाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना

भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना

हुरीबाट शुक्लाफाँटाका ८० परिवार प्रभावित

हुरीबाट शुक्लाफाँटाका ८० परिवार प्रभावित

प्यारातालः सीमाको पीडादेखि संरक्षणको उदाहरण

प्यारातालः सीमाको पीडादेखि संरक्षणको उदाहरण

नियन्त्रण गर्न स्वयमसेवक परिचालन गरिने – सार्वजनिक सेवा प्रसारण संस्था

नियन्त्रण गर्न स्वयमसेवक परिचालन गरिने – सार्वजनिक सेवा प्रसारण संस्था

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना

आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना

नेपाल–भारत सीमापार रेलमार्गसम्बन्धी परियोजना सञ्चालन समिति तथा संयुक्त कार्य समूहको बैठक सम्पन्न

नेपाल–भारत सीमापार रेलमार्गसम्बन्धी परियोजना सञ्चालन समिति तथा संयुक्त कार्य समूहको बैठक सम्पन्न