निजी क्षेत्रका लागि बजेट सकारात्मक छ-उद्योगी व्यवसायी

निजी क्षेत्रका लागि बजेट सकारात्मक छ-उद्योगी व्यवसायी

चितवन– सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटपछि यहाँका उद्योगी व्यवसायीले बजेट सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । उद्योगी व्यवसायीसँगै पेसाकर्मी पनि बजेटबाट लाभान्वित भएका सरोकार भएकाहरूले भन्दै खुसी व्यक्त गरेका हुन् ।

उद्योगलाई लक्षित गरी सरकारले भन्सार दर घटाउने, अन्तःशुल्क हटाउनेलगायत नीति लिएसँगै प्रत्यक्ष रूपमा उद्योगी व्यवसायी लाभान्वित भएका उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुमनकुमार श्रेष्ठले बताउनुभयो । व्यक्तिगत करमा ठूलो राहत मिलेको छ । वार्षिक रूपमा रु छ लाखबाट बढाएर रु १० लाख आम्दानी हुनेलाई न्यून कर दायरामा ल्याउनु सकारात्मक रहेको उहाँले प्रतिक्रिया दिनुभयो ।

अधिकतम आयकर दर ३९ प्रतिशतबाट २९ प्रतिशतमा ल्याइँदै गर्दा यहाँका चिकित्सक, इञ्जिनियरलगायत ठूलो आम्दानी गर्ने पेसाकर्मी प्रत्यक्ष लाभान्वित भएका श्रेष्ठको भनाइ छ । उहाँले अन्तःशुल्क ३६० प्रकारका वस्तुमा हटाउने र उद्योगका लागि कर प्रणाली सरल बनाउने प्रयास स्वागतयोग्य भएको बताउनुभयो ।

यो बजेटबाट बजारमा उपभोग र माग बढ्ने सम्भावना देखिएको भन्दै उहाँले बैंकिङ, अटोमोबाइल र घरजग्गा कारोबारी लाभान्वित हुने महासङ्घका केन्द्रीय सदस्य श्रेष्ठले धारणा राख्नुभयो । देवघाटलगायत धार्मिक क्षेत्रको प्रवर्द्धन र भरतपुर विमानस्थल विस्तार गरी रात्रिकालीन उडान गर्दा यहाँको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने उहाँको बुझाइ छ ।

बागमती प्रदेश उद्योग परिसङ्घका अध्यक्ष त्रिलोचन कँडेलले यो बजेटबाट उत्पादनको लागत घट्ने, केही वस्तु सस्तो हुने र घरेलु उद्योग प्रतिस्पर्धी बन्ने बताउनुभयो । दुई सय ७३ औद्योगिक कच्चापदार्थमा भन्सार दर घट्नु र तयारी वस्तुभन्दा कच्चापदार्थ सस्तो हुनुले यहाँका उद्योग प्रत्यक्ष लाभान्वित हुने उहाँले उल्लेख गर्नुभयो ।

परिसङ्घका अध्यक्ष कँडेलले भन्नुभयो, “यो बजेटसँगै उद्योग सञ्चालनमा लागत घट्ने छ ।” उत्पादन तथा निर्यात बढ्नसक्ने र पुँजीबजारमा सुधार आउने उहाँको भनाइ छ ।

उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजन गौतमले हालसम्मकै सबैभन्दा उत्कृष्ट बजेट आएको भन्दै यसले आमनागरिकको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने धारणा राख्नुभयो । पहुँचका आधारमा आफ्नो क्षेत्र केन्द्रित बजेट वितरण नगरिएको बताउँदै उहाँले आवश्यकताका आधारमा बजेट विनियोजन गरिएकाले समग्र नेपाली प्रत्यक्ष लाभान्वित हुने प्रतिक्रिया दिनुभयो ।

बजेटले कृषि क्षेत्रलाई समयानुकूल प्रोत्साहन दिएको पूर्वअध्यक्ष गौतमको भनाइ छ । उहाँले रु दुई करोडसम्म लगानी गर्ने किसानलाई ४० प्रतिशत अनुदान दिइएको जनाउँदै यसले कृषिमा व्यवसायीकरण बढ्ने, खाद्य सुरक्षामा सुधार हुने बताउनुभयो । उहाँले भन्नुभयो, “यो बजेटले ग्रामीण अर्थतन्त्रलाई सक्रिय बनाउँछ ।”

बजेटले सबै क्षेत्रलाई सम्बोधन गर्न सकेको भन्दै अब सरकारले सोहीअनुरुप कार्यान्वयनमा लैजानुपर्नेमा पूर्वअध्यक्ष गौतमले जोड दिनुभयो । यसअघिका वर्षमा पनि बजेट सकारात्मक हुँदाहुँदा पनि अस्थिर सरकारका कारण कार्यान्वयन पक्ष फितलो भएको भन्दै उहाँले अब यो समस्या नआउने विश्वास व्यक्त गर्नुभयो ।

च्याम्बर अफ कमर्स चितवनका अध्यक्ष गोपाल भट्टराईले बजेट आशावादी र तुलनात्मक रूपमा सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो । उहाँले बजेटले मध्यमवर्गलाई सम्बोधन गरेको भन्दै उद्योगी व्यवसायी पनि लाभान्वित भएका बताउनुभयो । उहाँले भन्नुभयो, “बजेट सकारात्मक छ, कार्यान्वयन पक्ष सवल बन्छ भन्ने हामी विश्वस्त छौँ ।”

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रधानमन्त्री शाह – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री शाह – सार्वजनिक सेवा प्रसारण संस्था

विद्युत् खपत अभिवृद्धिका लागि प्रोत्साहन नीति ल्याउन अध्यक्ष घिसिङको सुझाव

विद्युत् खपत अभिवृद्धिका लागि प्रोत्साहन नीति ल्याउन अध्यक्ष घिसिङको सुझाव

सभापति थापा – सार्वजनिक सेवा प्रसारण संस्था

सभापति थापा – सार्वजनिक सेवा प्रसारण संस्था

मुक्तिनाथमा दर्शनार्थी खचाखच – सार्वजनिक सेवा प्रसारण संस्था

मुक्तिनाथमा दर्शनार्थी खचाखच – सार्वजनिक सेवा प्रसारण संस्था

पत्रकारले कलमको शक्ति र लेखनको सार्थकतामा ध्यान दिनुपर्छ-पूर्वप्रधानन्यायाधीश सिंह

पत्रकारले कलमको शक्ति र लेखनको सार्थकतामा ध्यान दिनुपर्छ-पूर्वप्रधानन्यायाधीश सिंह

निजी क्षेत्रका लागि बजेट सकारात्मक छ-उद्योगी व्यवसायी

निजी क्षेत्रका लागि बजेट सकारात्मक छ-उद्योगी व्यवसायी

एमाले केन्द्रीय सदस्यहरूको कार्यविभाजन – सार्वजनिक सेवा प्रसारण संस्था

एमाले केन्द्रीय सदस्यहरूको कार्यविभाजन – सार्वजनिक सेवा प्रसारण संस्था