
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विष्वराज पोखरेलले हालै सार्वजनिक भएको भिडियोमा आफ्नो अभिव्यक्ति र व्यवहारप्रति दुःख व्यक्त गर्दै क्षमायाचना गर्नु भएको छ ।
सांसद पोखरेलले एक विज्ञप्ति मार्फत सामाजिक संजालमा भइरल भएको भिडियोलाई लिएर सार्वजनिक जीवनमा आफ्नो बोली, व्यवहार र संयम उच्च स्तरको हुनुपर्ने स्वीकार गर्दै यदि आफ्नो व्यवहारका कारण कसैको आत्मसम्मान, भावना वा मर्यादामा चोट पुगेको भए त्यसप्रति हृदयदेखि क्षमा माग्नु भएको हो ।
उहाँले आफू जनताको सेवाका लागि राजनीतिमा आएको उल्लेख गर्दै विगत, वर्तमान र भविष्यमा पनि जनताको सेवामै समर्पित रहने प्रतिबद्धता समेत जनाउनु भएको छ ।
घटनाका कारण पार्टी, शुभेच्छुक, समर्थक, विद्यालय परिवार तथा स्थानीय समुदायमा परेको असरप्रति पनि उहाँले क्षमा याचना गर्दै आगामी दिनमा अझ संयमित, जिम्मेवार र संवादमुखी भएर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।
शनिबार उहाँले जारी प्रेस विज्ञप्तिमा पोखरेलले संघीय संसदको बैठक स्थगित भएको समयमा जिल्लाबासीसँग भेटघाट, अन्तरक्रिया तथा स्थानीय सेवा–सुविधाको अवस्थाबारे जानकारी लिन ओखलढुंगास्थित एक विद्यालय पुगेको र सोही क्रममा खिचिएका केही दृश्य सामाजिक सञ्जालमा आंशिक रूपमा सार्वजनिक हुँदा घटनाको पूर्ण सन्दर्भ विकृत भएको समेत जिकिर गर्नु भएको छ ।
पोखरेलले ओखलढुङ्गास्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरलाई गेटमा स्वागत गर्न नआएको भन्दै थर्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि पार्टी पक्तिबाट पनि आलोचना भएपछि उहाँले यस्तो धारणा सार्वजनिक गर्नु भएको हो ।



