
काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीको नक्कली लेटरप्याड बनाएर नपाएको हैसियतमा अनाधिकृत बक्तव्य जारी गरेको भन्दै नेता पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
सानेपामा बुधबार बसेको अनुशासन समिति बैठकले खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको समितिका संयोजक तारामान गुरूङले जानकारी दिनुभयो ।
यसअघि पार्टीले सचेत गराउँदा गराउँदै पनि खड्काले कार्यवाहक सभापतिको हैसियतमा पटकपटक विज्ञप्ति जारी गर्दै आउनु भएको अनुशासन समितिले पनि यसरी विज्ञप्ति जारी नगर्न सचेत गराएको थियो। चैत ३० गते फेरि विज्ञप्ति जारी गरेपछि समिति बैठकले आज खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
‘अनधिकृत रुपमा मिति २०८२/१२/३० गते प्रेस विज्ञप्ति जारी गर्ने कार्य पार्टीको विधान विपरित देखिएकोले नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ७ (सात) दिने स्पष्टिकरण सोध्ने निर्णय गर्दछ,’ अनुशासन समिति सभापति गुरूङले भन्नुभयो।
तत्कालीन उपसभापति खड्कालाई असोज २८ गते तत्कालीन सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी दिए पनि पुसमा विशेष महाधिवेशन भएर गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति आएको थियो। जसलाई निर्वाचनन आयोगले बैधता दिएसँग थापाको नेतृत्वमा पार्टी निर्वाचनमा गएको थियो ।
अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा पार्टीका सदस्यहरुले अनुशासन उल्लंघन गरेका भए २०८२ चैत्र मसान्तभित्र नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा उजुरी पठाउन निर्देशन गरिएकोमा त्यसको समयावधि २०८३ वैशाख मसान्तसम्म थप गर्ने निर्णय गरिएको पनि गुरुङले बताउनु भयो।


