गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी

गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी

जानकी (बाँके)- थोरै लगानी, स्थानीय स्रोत–साधनको अधिकतम उपयोग र निरन्तर मेहनतबाट पनि उल्लेखनीय आर्थिक सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा नेपालगञ्ज उपमहानगरपालिका–१८, तेजनगरका वीरबहादुर हमाल रहनुभएको छ । विगत १२ वर्षदेखि उहाँ ‘एभरेष्ट अर्गानिक एग्रोफार्म’ सञ्चालन गर्दै गँड्यौला मल अर्थात् भर्मिक कम्पोष्ट मल उत्पादनमा सक्रिय हुनुहुन्छ ।

“गँड्यौला मल उत्पादन गर्न थोरै लगानीमै धेरै मुनाफा गर्न सकेको छु,” हमालले आत्मविश्वासका साथ भन्नुभयो, “यदि लगनशीलता र धैर्य छ भने कृषिमा सम्भावनाको कमी छैन ।” उहाँका अनुसार गँड्यौला मल माटोको उर्वराशक्ति वृद्धि गर्न, बालीबिरुवाको वृद्धि सन्तुलित बनाउन र वातावरण संरक्षणमा योगदान पु¥याउन अत्यन्त प्रभावकारी छ। रासायनिक मलको विकल्पका रूपमा जैविक मलको प्रयोग बढ्दै गएको सन्दर्भमा यसको माग क्रमशः विस्तार हुँदै गएको उहाँले बताउनुभयो ।

हमालका अनुसार वैदेशिक रोजगारीतर्फ आकर्षित हुँदै गएका युवालाई स्वदेशमै कृषि क्षेत्रमार्फत आत्मनिर्भर बनाउन सकिने सम्भावना प्रशस्त छ । “स्थानीय स्रोत–साधनको प्रयोग गरेर अर्गानिक मल उत्पादनमा जोड दिए युवालाई विदेशिनु पर्दैन,” उहाँले भन्नुभयो, “कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउने हो भने यहीँ राम्रो आम्दानी गर्न सकिन्छ ।”

गँड्यौला मल उत्पादनका लागि गाईको गोबर, पराल, झारपात तथा घरआँगनमा उपलब्ध जैविक पदार्थ प्रयोग गरिन्छ । विशेष जातको गँड्यौला ‘आइनिया फेटेटरी’ प्रयोग गरी जैविक मल तयार पारिँदै आएको उहाँले जानकारी दिनुभयो । “हामीले प्रयोग गर्ने गँड्यौला विशेष प्रजातिको हो, जसले छिटो मल तयार गर्छ,” उहाँले भन्नुभयो, “एक पटक गँड्यौला खरिद गरेपछि पटक–पटक लगानी गर्नुपर्दैन ।”

उद्योगको प्रारम्भिक चरण भने चुनौतीपूर्ण थियो । बजारको अभाव, आर्थिक कठिनाइ तथा प्राविधिक ज्ञानको कमीबीच हमालले कामको थालनी गर्नुभएको थियो । “सुरुमा कृषक र स्थानीयबासीलाई गँड्यौला मलका बारेमा खासै जानकारी थिएन,” उहाँले स्मरण गर्नुभयो, “धेरैले पत्याउँदैनथे, तर मलाई आफ्नै मेहनतमा विश्वास थियो ।” कठिन परिस्थितिका बाबजुद निरन्तर प्रयास र धैर्यका कारण आजको अवस्था सम्भव भएको हमालको भनाइ छ ।

सुरुआती समयमा उत्पादन गरिएका मल बजारसम्म पु¥याउन र उपभोक्ताको विश्वास जित्न समय लागेको उहाँ बताउनुहुन्छ । “टनका टन उत्पादन गरे पनि मागअनुसार बिक्री गर्न गाह्रो हुन्थ्यो,” हमालले भन्नुभयो, “तर अहिले प्रत्येक स्थानीय तहमा, विशेष गरी युवाहरूमा यसप्रति चासो बढेको छ ।” उहाँका अनुसार अहिले करिब २५ प्रतिशत कृषकमा जैविक मल प्रयोग गर्नुपर्छ भन्ने चेतनाको विकास भएको छ ।

हाल हमालले चार कठ्ठा जग्गा भाडामा लिएर ६० वटा वेडमार्फत मल उत्पादन गर्दै आउनुभएको छ । एक पटकमा १८ देखि २० ट्राली गाईको गोबर खरिद गरिन्छ, जसबाट प्रति ट्राली करिब १२ क्वीन्टलसम्म गँड्यौला मल उत्पादन हुने उहाँले जानकारी दिनुभयो । “एक पटक किनेको गोबरबाट चार पटकसम्म मल उत्पादन गर्न सकिन्छ,” उहाँले भन्नुभयो, “यसले लागत घटाएर आम्दानी बढाउन सहयोग गर्छ ।”

उत्पादित मल विशेष गरी हिमाली जिल्लामा ढुवानी हुने गरेको छ । उच्च मूल्यका स्याउका बोट तथा तरकारी बालीमा यसको प्रयोग व्यापक रहेको हमालले बताउनुभयो । “हिमाली क्षेत्रमा जैविक उत्पादनको माग धेरै छ,” उहाँले भन्नुभयो, “त्यहाँका कृषकले गुणस्तरीय मल खोज्ने भएकाले हाम्रो उत्पादनको बजार राम्रो बनेको छ ।”

आर्थिक पक्षसमेतमा हमालको यात्रा उल्लेखनीय देखिन्छ । उहाँका अनुसार तीन महिनामा करिब १६० क्विन्टल मल उत्पादन हुन्छ भने चार महिनामा ६४० क्विन्टलसम्म उत्पादन सम्भव हुन्छ । हाल बजार मूल्यप्रति क्विन्टल करिब रु दुई हजार ५०० रहेको छ । “वार्षिक रूपमा १५ लाखदेखि १६ लाख रुपैयाँ बराबरको मल बिक्री हुन्छ, समग्र कारोबार भने २० लाखदेखि रु २५ लाख रुपैयाँसम्म हुन्छ”, हमालले भन्नुभयो, “मल उत्पादनमा लागेका युवाहरूले सामान्यतया मासिक रु ४० हजारदेखि रु ५० हजारसम्म आम्दानी गर्न सक्छन् ।”

यसले युवालाई विदेशिनबाट रोक्न सहयोग पुग्ने उहाँको विश्वास छ । कृषि क्षेत्रमा सम्भावना भए पनि जानकारी र प्रेरणाको अभावका कारण धेरै युवा विदेशिने गरेका हमालको धारणा छ । विसं २०७१ मा केवल एक किलो गँड्यौला खरिद गरेर सुरुवात गर्नुभएका हमालले हालसम्म झन्डै ५० क्विन्टल गँड्यौला मल बिक्री गरिसक्नुभएको छ । सानो सुरुवातलाई निरन्तरता दिन सके ठूलो उपलब्धि हासिल गर्न सकिने उहाँको भनाइ छ । “मैले कहिल्यै पनि नाफालाई मात्र केन्द्रमा राखिनँ, सधैँ गुणस्तर र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिए”, हमालले भन्नुभयो ।

हमालका अनुसार सफलता हासिल गर्न इमानदारी, निष्ठा र दीर्घकालीन सोच आवश्यक हुन्छ । “काम सानो वा ठूलो हुँदैन,” उहाँले स्पष्ट पार्नुभयो, “त्यसमा देखाइने प्रतिबद्धताले नै परिणाम निर्धारण गर्छ ।”

गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी गर्दै आएका हमालको अनुभवले देखाएको छ–स्थानीय स्रोत–साधनको सदुपयोग, वैज्ञानिक विधिको प्रयोग र निरन्तर परिश्रमका माध्यमबाट कृषिलाई व्यावसायिक र सम्मानित पेशाका रूपमा स्थापित गर्न सकिन्छ । उहाँको सफलताले सङ्घर्षरत कृषक तथा युवालाई स्वदेशमै अवसर खोज्न प्रेरणा दिएको छ । उहाँले विदेशिने युवालाई धैर्य राखेर आफ्नै देशमा गर्न सके सबै कुराको सम्भावना रहेको बताउनुभयो ।

“कृषि क्षेत्रमा सम्भावना धेरै छ, आवश्यकता छ त केवल विश्वास र निरन्तरताको हो”, हमालले भन्नुभयो, “दृढ इच्छाशक्ति र सकारात्मक सोच भए सामान्य अवस्थाबाट पनि उल्लेखनीय उपलब्धि हासिल गर्न सकिन्छ ।”

Source link

संबधित खबर

धेरै पढ़िएको

मासिक ४० हजार रुपैयाँ आम्दानी – सार्वजनिक सेवा प्रसारण संस्था

मासिक ४० हजार रुपैयाँ आम्दानी – सार्वजनिक सेवा प्रसारण संस्था

सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा ४९ वर्षीय पुरुषको मृत्यु

सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा ४९ वर्षीय पुरुषको मृत्यु

मतदाताका प्राथमिकतामा सडक निर्माण र वन्यजन्तु नियन्त्रण

मतदाताका प्राथमिकतामा सडक निर्माण र वन्यजन्तु नियन्त्रण

निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो -पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ

निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो -पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ

गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी

गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी

रङ्गशाला बनेसँगै भोजपुरमा खेल गतिविधि बढ्यो

रङ्गशाला बनेसँगै भोजपुरमा खेल गतिविधि बढ्यो

खाँदबारी नगरपालिकाद्वारा अनुदानमा मौरीसहितका घार वितरण

खाँदबारी नगरपालिकाद्वारा अनुदानमा मौरीसहितका घार वितरण