विपद्को पीडामा खल्लो बन्दै तीज

विपद्को पीडामा खल्लो बन्दै तीज

काठमाडौँ– सामान्यतया भदौ लागेसँगै नेपाली समाजमा तीजको रौनक छाउँथ्यो । घर,आँगनदेखि बजारसम्म रातो साडी, चुरा, पोते र गरगहनामा सजिएका महिलाको चहलपहल देखिन्थ्यो । तीजका गीत घन्किन्थे, दिदीबहिनी भेला भएर दर खान्थे, नाचगान गर्थे । कार्यालय, संस्था र समुदायमा तीज विशेष कार्यक्रम आयोजना हुन्थे । तर यसपटकको तीजको माहोल फरक छ ।

रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएपछि त्यसको त्रास र पीडाले मुलुकका धेरै परिवारलाई रुवाएको छ । विशेषगरी रसुवा, नुवाकोट, धादिङलगायतका बाढी प्रभावित क्षेत्रमा तीजको उल्लासभन्दा आफन्तको खोजी, विस्थापनको पीडा र भोलिको चिन्ताले ठाउँ लिएको छ । अन्य जिल्लाका नागरिक पनि बाढीमा परेकाले देशभर शोक छाएको छ ।

आज तीज दर खाने दिन । विगतमा यही दिन दिदीबहिनीहरू एकै ठाउँमा जम्मा भएर दर खाने, सुखदुःख साट्ने र तीजको गीतमा रमाउने गर्थे । यसपटक भने कतिपय परिवारका लागि दर खाने दिन पनि हराएका आफन्तको सम्झनामा बितिरहेको छ । नुवाकोटकी सुकुमाया तामाङको आँखामा तीजको रौनक होइन, हराइरहेका आफन्त भेटिने आशा छ । “कि सास, कि लास भए पनि भेटियो”, भन्ने आशामा दिन बिताइरहेका परिवारका लागि चाडपर्वको खुसी कसरी सम्भव होस् ?

यस्तै, पीडा नुवाकोट र धादिङका प्रभावित परिवारमा पनि छ । कतिपयका घर बगेका छन्, कतिपयका व्यवसाय र रोजगारीका आधार गुमेका छन् । कतिपय परिवारका सदस्य घाइते भएर अस्पतालमा उपचाररत छन् । ज्यान जोगाएर बाँचेकाहरू पनि घटनाको त्रासबाट अझै मुक्त हुन सकेका छैनन् ।

बाढीका कारण विस्थापित भएका सयौँ नागरिक अहिले अस्थायी सेल्टरमा बसिरहेका छन् । उनीहरूका लागि चाडपर्व मनाउनु प्राथमिकता होइन । बिहान बेलुका खानेकुरा, सुरक्षित बसोबास, स्वास्थ्योपचार र हराइरहेका आफन्तको खोजी नै अहिलेको मुख्य आवश्यकता बनेको छ ।

काठमाडौँ उपत्यकामा तीजको चहलपहल देखिए पनि बाढी प्रभावित परिवारमा त्यसको प्रभाव न्यून छ । विगतमा तीजका लागि महिनौँअघि नै तयारी गर्ने महिला यसपटक आवश्यकताअनुसार मात्र घरभित्र भेटघाट गरिरहेका छन् । कतिपय महिलाले सामान्य रूपमा रातो पहिरन लगाएका छन्, हातमा चुरा पनि लगाएका छन् । तर त्यो सजावटमा विगतको उत्साह छैन । उनीहरूको मनमा बाढीले दिएको चोट, गुमाएका घर–सम्पत्ति र हराइरहेका आफन्तको सम्झना छ ।

“चाड त आयो, तर मनमा खुसी छैन”, गोङ्गबुकी  राधा खत्री भन्नुहुन्छ । यसपटकको तीजको वास्तविकता राधाको यही भनाइले झल्काउँछ । तीज नेपाली महिलाको सांस्कृतिक पर्व मात्र होइन, भेटघाट, आत्मीयता र दुःखसुख साट्ने अवसर पनि हो । यही कारण विपत्तिमा परेका महिलाका लागि यस वर्ष तीज झनै भावुक बनेको छ । कतिपयले आफ्नो पीडा अरूसँग साटिरहेका छन् भने कतिपयले मौनरूपमै दुःख सहिरहेका छन् ।

बाढीबाट ज्यान जोगाएर फर्किएका महिलाका कथा पनि कम पीडादायी छैनन् । कसैले परिवारका सदस्य गुमाएका छन्, कसैले घरबास । कसैले घाइते अवस्थाबाट उपचारपछि बल्ल सामान्य जीवनतर्फ फर्किने प्रयास गरिरहेका छन् । बाढीको समयमा ज्यान जोगाउन भागेका महिला अहिले सुरक्षित स्थानमा भए पनि त्यो क्षणको त्रास सम्झँदा झस्किन्छन् । उनीहरूका लागि तीजका गीतभन्दा बाढीको गर्जन र भागदौडको स्मृति अझै ताजा छ ।

अस्थायी शिविरमा बसिरहेका महिला आफ्ना बालबालिकालाई सम्हालिरहेका छन् । राहतबाट प्राप्त खाद्यान्न र अन्य सामग्रीको व्यवस्थापन गर्दै उनीहरू परिवारको दैनिक जीवनलाई पुनःसामान्य बनाउने प्रयासमा छन् । चाडपर्व आए पनि उनीहरूका लागि सबैभन्दा ठूलो उत्सव आफ्ना परिवारका सदस्य सुरक्षित हुनु र हराइरहेकाहरू सकुशल भेटिनु हो ।

चाडपर्व दुःख बिर्साउने अवसर पनि हो । तर दुःख अत्यन्तै गहिरो हुँदा उत्सवभन्दा सहानुभूति र साथ आवश्यक हुन्छ । यसपटकको तीजले यही सन्देश दिएको छ–विपत्तिमा परेका परिवारलाई एक्लो नछाडौँ, उनीहरूको पीडामा साथ दिऔँ र पुनःस्थापनाका लागि हातेमालो गरौँ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

बाँदरले दुःख दिएपछि भोजपुरका किसान बेसार खेतीतर्फ आकर्षित

बाँदरले दुःख दिएपछि भोजपुरका किसान बेसार खेतीतर्फ आकर्षित

भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन

भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन

विपद्को पीडामा खल्लो बन्दै तीज

विपद्को पीडामा खल्लो बन्दै तीज

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि गृह कार्य तीव्र

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि गृह कार्य तीव्र

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

बाढीका कारण क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा

बाढीका कारण क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने