पेसा फेरियो, दलन फेरिएन – सार्वजनिक सेवा प्रसारण संस्था

पेसा फेरियो, दलन फेरिएन – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायले पुस्तौँदेखि आफ्नो श्रम, सीप र उत्पादनबाट समाजको दैनिक जीवन सञ्चालनमा सहज गरे । आज उनीहरू नै समाजमा सामाजिक सम्मान, सामूहिक अवसर र समानताबाट सबैभन्दा बढी बन्चित छन् । यतिसम्म कि उनीहरूको परम्परागत पेसा, श्रम र सीप आधुनिक बजारमा मूल्यवान् बन्दै गएपछि त्यसको आर्थिक लाभ कथित उच्च समुदायहरूले लिन थालेका छन् । पेसा फेरिएको छ, प्रविधि फेरिएको छ, बजार फेरिएको छ तर विभेद र विभेद्कारी मानसिकता भने अपेक्षित रूपमा फेरिन सकेको छैन । आजको लोकतान्त्रिक समाजमा यसले एउटा गम्भीर प्रश्न र बहस जन्माएको छ । दलित शिल्पी समुदाय आफ्नो पेसा र श्रमबाट मात्र वञ्चित भएका छन् कि आफ्नो पेसा र श्रमको स्वामित्वबाट पनि बन्चित छन् ? र, अहिलेको आधुनिकताले उनीहरूलाई विभेदबाट मुक्त ग¥यो कि उनीहरूको परम्परागत पेसा नै खोस्यो ?

जातीय व्यवस्थामा आधारित बलियो नेपाली समाज र यहाँको समाजिक संरचनामा पेसा र जातबीच लामो समयसम्म गहिरो सम्बन्ध छ । कामका आधारमा समुदायहरूलाई वर्गीकृत गरियो र त्यसलाई जन्म र मृत्युुसँग जोडेर पुस्तान्तरण गरियो । पहाडमा कामी, दमाईं, सार्की, गाइनेलगायत समुदायका परम्परागत जातीय सीप र श्रम समाजका लागि अपरिहार्य थिए । कामी लोहार तथा धातुका काममा, दमाईं कपडा सिलाउने र बाजा बजाउने काममा तथा सार्की छाला र जुत्ता बनाउने काममा परिचित थिए ।

यस्तै, मधेसमा पनि डोम, दुसाध, चमार, मुसहर, बाँतर, खत्वे, धोवीलगायत समुदायलाई जातिगत पेसाका आधारमा वर्गीकृत गरियो । चमारले छाला, जुत्ता तथा बाजागाजाको काम गर्थे । दुसाधले नाचगानलगायतका काम गर्थे । मुसहर र बाँतरले माटो तथा श्रमसँग सम्बन्धित काम गर्थे । धोवीले कपडा धुने काम गर्थे । डोमले बाँसका सामग्री बनाउनेदेखि मृतकको शव जलाउनेसम्मका काम गर्थे । यस्ता विभिन्न अध्ययन तथा अनुसन्धानहरूले पनि यी समुदायका परम्परागत पेसा जातीय संरचनासँग जोडिएको र उनीहरू श्रम गरे पनि सामाजिक रूपमा न्यून दर्जामा राखिएको देखाएका छन् । अर्थात्, उनीहरूको श्रम समाजका लागि आवश्यक थियो । तर उनीहरूको सामाजिक हैसियत स्वीकार्य थिएन । यही नै नेपाली जातीय वर्ण व्यवस्थाको सबैभन्दा ठूलो विरोधाभास हो ।

कपडा सिलाउने दमाई चाहिन्थ्यो तर उसलाई घरभित्र प्रवेश गर्ने अधिकार थिएन । हलो, कोदालो, हँसिया र कृषि औजार बनाउने कामी चाहिन्थे तर उसले छोएको पानी अशुद्ध मानिन्थ्यो । जुत्ता बनाउने चमार र सार्की चाहिन्थे तर उनीहरूलाई सामाजिक रूपमा अछूत बनाइन्थ्यो । उनीहरूले बनाएका वस्तु प्रयोग गर्न हुन्थ्यो तर उनीहरूले समान नागरिकको व्यवहार पाउँदैन्थ्यो । यो केवल सामाजिक अपमान मात्र थिएन्, यो श्रम र श्रमिकमाथिको कठोर तथा अमानवीय संरचनात्मक नियन्त्रण पनि थियो ।

श्रम थियो, मूल्य थिएन

परम्परागत ग्रामीण अर्थतन्त्रमा ‘बालीघरे’ जस्ता व्यवस्थाले दलित शिल्पी समुदाय र गैरदलित परिवारबीच आर्थिक सम्बन्ध बनाएको थियो । तर त्यो सम्बन्ध बराबरीको आर्थिक कारोबार थिएन । एकातिर सेवा र सीप थियो, अर्कोतिर आश्रय र निर्भरता । अनुसन्धानहरूले बालीघरे तथा हलीजस्ता व्यवस्थालाई नगदविहीन, असमान संरचनासँग जोडेर हेरेका छन्, जहाँ दलित समुदायले आफ्नो श्रमको उचित आर्थिक मूल्य पाउन कठिन थियो र भूमिस्वामित्वमा पनि उनीहरू पछाडि थिए ।

यतिसम्म कि श्रमिकसँग आफ्नो श्रमको उचित मूल्य निर्धारण गर्ने अधिकार समेत थिएन । उनीहरू उत्पादन गर्थे, तर त्यसको मूल्य कथित उच्च समुदायका मालिकले निर्धारण गर्थे । उनीहरू सेवा गर्थे, तर सामाजिक प्रतिष्ठा पाउँदैनथे । उनीहरूले सीप पुस्तान्तरण गर्थे, तर त्यो सीपलाई औपचारिक ज्ञानको मान्यता दिइएन । उनीहरू सीपले समाजलाई चलाए, तर समाजको नेतृत्व गर्ने अवसर पाएनन् । यही कारणले दलित शिल्पी समुदायको इतिहास केवल गरिबीको इतिहास मात्र होइन्, यो श्रमको अवमूल्यन र सामाजिक बहिष्करणको इतिहास पनि हो ।

पेसा बदलियो तर स्वामित्व आएन

समय बदलियो । गाउँको परम्परागत अर्थतन्त्र विस्तारै बजार अर्थतन्त्रमा बदलियो । हातले बनाउने वस्तुको स्थान मेसिनले लिन थाल्यो । सिलाइ व्यवसाय उद्योगमा बदलियो । फलामका औजार कारखानामा उत्पादन हुन थाले । छालाका सामग्री उद्योग र ब्रान्डमा परिणत भए । सङ्गीत र बाजागाजाको क्षेत्र व्यावसायिक भयो । जुन सीपलाई पुस्तौँसम्म दलित शिल्पी समुदायले जोगायो आज त्यही उत्पादन आधुनिक बजारमा फेरिएपछि त्यसको व्यावसायिक मूल्य पनि बढ्यो । तर त्यसको स्वामित्व र लाभ भने दलित शिल्पी समुदायले पाउन सकेन । अर्थात् पेसा फेरियो तर दलन फेरिएन् । युगसापेक्ष विभेद पुस्तान्तरण भयो ।

एक समय ‘तल्लो जातको काम’ भनेर हेपिएका पेसाहरू आज व्यवसाय, उद्योग र उद्यमका रूपमा स्थापित भइरहेका छन् । जुत्ता बनाउने काम ‘सार्कीको काम’ मात्र रहेन्, त्यो ठूलो बजार भएको व्यवसाय बन्यो । कपडा सिलाउने काम ‘दमाईको पेसा’ मात्र रहेन्, फेसन उद्योग बन्यो । धातु तथा हस्तकलाको काम ‘कामीको काम’ मात्र रहेन्, उद्योग र कलाका रूपमा स्थापित भयो । बाजागाजा तथा नाट्यकलाको काम झसार्की र चमारको काम’मात्र रहेन्, आधुनिकीकरण भयो । तर विडम्बना के छ भने पेसा आधुनिक भयो तर पेसा गर्ने व्यक्ति आधुनिक समानतामा पुगेन । यसले आजको आधुनिक समाजलाई गम्भीर मोडमा झन पुर्याएको छ । दलित शिल्पी समुदाय आफ्नो पेसा श्रमबाट वञ्चित भयो तर विभेदबाट वञ्चित हुन सकेको छैन ।

तथ्याङ्कले बोलेको असमानता

राष्ट्रिय जनगणना २०७८ ले नेपालमा पहाडी दलितको जनसङ्ख्या २५ लाख छ हजार ६१२ अर्थात् ८.५९ प्रतिशत र मधेसी दलितको जनसङ्ख्या १३ लाख ९२ हजार ३७८ अर्थात् ४.७८ प्रतिशत देखाएको छ । अर्थात् यी दुई समूह जोड्दा दलित जनसङ्ख्या ३८ लाख ९८ हजार ९९० पुग्छ । विश्वकर्मा १४ लाख ७० हजार १०, परियार ५ लाख ६५ हजार ९३२ र मिजार चार लाख ५२ हजार २२९ जनसङ्ख्याका ठूला पहाडी दलित समुदाय हुन् । तराईतर्फ चमार÷हरिजन÷राम तीन लाख ९३ हजार २५५, मुसहर दुई लाख ६४ हजार ९७४ र दुसाध÷पसवान÷पासी दुई लाख ५० हजार ९७७ जनसङ्ख्या भएका प्रमुख समुदाय हुन् । उनीहरूको बाक्लो जनसङ्ख्या हुनु तर राज्य अवसरमा उनीहरूको समान पहुँच हुन नसक्नु अदृश्य विभेदको ठूलो लोकतान्त्रीकरण भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले पनि दलित समुदायको जनसङ्ख्याको आधारमा राज्य संयन्त्रमा सम्मान प्रतिनिधित्व निकै कम रहेको उल्लेख छ । उक्त प्रतिवेदनअनुसार निजामती सेवामा दलित प्रतिनिधित्व करिब दुई प्रतिशत, नेपाल प्रहरीमा नौ प्रतिशत, नेपाली सेनामा आठ प्रतिशत र न्यायपालिकामा एक प्रतिशत मात्र रहेको छ । सोही प्रतिवेदनमा कोभिड१९ को समयमा अभिलेख भएका दलित मानवअधिकार उल्लङ्घनका घटनामध्ये ३१ प्रतिशत जातीय विभेदसँग सम्बन्धित रहेको छ । यसले के देखाउँछ भने समस्या केवल ‘पुरानो पेसा’ को होइन ।

समस्या सम्मान अवसर, स्रोत, शिक्षा, रोजगारी, प्रतिनिधित्व र सामाजिक न्याय र सम्मानमा ठूलो को छ भन्ने हो । यतिसम्म कि एक समय समाज र राज्यका शासकहरूले शिक्षा र सम्पत्ति राख्न नपाउने अधिकार समेत खोसिँदा यसको मार आजसम्म यो समुदाय भोग्न विवश छन् । तर अझै पनि तिनका आजका पुस्ताले भन्दैछन्, दलित शिल्पी समुदायले सबै कुरा पाइसक्यो । अगाडि बढ्न कसले र केले रोकेको छ भनेर । पुस्तौंसम्म ढाड भाँच्ने गरी सामाजिक, आर्थिक, राजनीतिक र अमानवीय विभेदको जाँतोमा पिल्सियो तर आज पनि उस्तै भनिदैछन् । झारा टारिरहेका छन् ।

कानुन फेरियो तर मानसिकता फेरिएन

नेपालको संविधानले जातीय आधारमा हुने सबैखाले विभेद र छुवाछूतलाई निषेध गरेको छ । जात, जाति, समुदाय वा पेसाका आधारमा हुने विभेद कानुनी रूपमा निशेध गरिएको छ । छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८ ले सार्वजनिक तथा निजी जीवनमा जातीय आधारमा गरिने छुवाछूत, बहिष्कार र विभेद्लाई दण्डनीय बनाएको छ । तर कानुन बन्नु र सामाजिक चेतना बदलिनु एउटै कुरा होइन ।

राष्ट्रिय मानव अधिकार आयोगकै पुरानो अध्ययनले पीडितहरू आर्थिक निर्भरता, सामाजिक दबाब र चेतनाको अभावका कारण विभेदका घटना उजुरी गर्न हिच्किचाउने गरेको देखाएको छ । आयोगले यसलाई विभेदबाट वञ्चिती र वञ्चितीबाट पुनः विभेद पैदा हुने चक्रका रूपमा औँल्याएका छन् । अर्थात् विभेद केवल एउटा व्यक्तिको व्यवहार होइन्, यो आर्थिक निर्भरता, सामाजिक सम्बन्ध, विवाह, शिक्षा, रोजगारी, सहभोज, धार्मिकस्थलमा सामूहिक प्रवेश र राजनीतिक शक्तिसँग गाँसिएको संरचनात्मक समस्या हो ।

जातीय पेसा होइन, अधिकार

दलित शिल्पी समुदायलाई फेरि पुरानै जातीय पेसामा फर्काउने होइन । आधुनिक समाजले सबै पेसालाई खुला, सम्मानित र बजारमुखी बनाउनुपर्छ । कामीको सीप केवल ‘कामीको काम’ होइन, त्यो आधुनिक धातु उद्योग, इन्जिनियरिङ र हस्तकलाको आधार बन्न सक्छ । दमार्इंको सिलाइ सीप फेसन उद्योग र उद्यमशीलतासँग जोडिन सक्छ । सार्की र चमारको छाला प्रशोधन र जुत्ता निर्माणको ज्ञान आधुनिक उद्योगमा रूपान्तरण हुन सक्छ । तर त्यसका लागि राज्यले केवल आरक्षणको संख्या गन्ने होइन, सीप, पुँजी, प्रविधि, बजार र स्वामित्वमा पनि पहुँच सुनिश्चित गर्नुपर्छ । परम्परागत सीपको दस्तावेजीकरण, प्राविधिक शिक्षा, सहुलियतपूर्ण ऋण, उत्पादनमा सहकारी वा सामुदायिक स्वामित्व, ब्रान्ड निर्माण, बजार पहुँच र सरकारी खरिदमा प्राथमिकता जस्ता कार्यक्रम आवश्यक छन् । परम्परागत शिल्पलाई ‘गरिबको पेसा’ होइन, राष्ट्रिय उत्पादन र सांस्कृतिक सम्पदाका रूपमा पुनःपरिभाषित गर्नुपर्छ र विभेदलाई व्यवहारमै न्यूनीकरण गर्दै जानुपर्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा के छ भने श्रमको सम्मान र श्रमिकको सम्मानलाई अलग गर्न मिल्दैन । जुन हातले समाजका लागि जुत्ता बनायो, त्यस हातलाई अपमान गरेर जुत्ताको मूल्य बढाउन सकिँदैन । जुन हातले औजार बनायो, त्यस हातलाई अछूत बनाएर आधुनिक उद्योगको गौरव गर्न सकिँदैन । जुन हातले कपडा सिलायो, त्यस हातलाई जातका आधारमा तल राखेर फेसन उद्योगको आधुनिकता पूरा हुँदैन । जुन श्रम र पसिनाले जङ्गल फाँडेर जमिन बनायो, उनीहरूलाई भूमिहीन सुकुम्बासी बनाउनु हुँदैन ।

नेपालको सामाजिक रूपान्तरणको असली परीक्षा दलितलाई पुरानो पेसाबाट मुक्त गरियो कि गरिएन भन्ने मात्र होइन । उनीहरू आफ्नो श्रमको मालिक बने कि बनेनन्, आफ्नो सीपको मूल्य पाए कि पाएनन्, राज्यका अवसरमा बराबरी पुगे कि पुगेनन् र आफ्ना सन्तानले जातभन्दा माथि उठेर जीवनसाथी रोज्दा समाजले स्वीकार ग¥यो कि गरेन भने हो । किनभने नेपालले अब जातीय पेसाको विगतबाट आर्थिक समानताको भविष्यतर्फ जानुपर्छ । पेसा बदलियो तर जातीय दृष्टि बदलिन सकेन भने त्यो रूपान्तरण होइन्, विभेदको नयाँ रूपान्तरण मात्र हो । त्यसैले आजको सबैभन्दा असहज तर निर्णायक प्रश्न भनेको दलित शिल्पी समुदायको पेसालाई व्यावसायिक रुपमा आधुनिकीकरण त गरियो, तर उनीहरूलाई अमानवीय विभेदबाट मुक्त गरेर उनीहरूको जीवनलाई आधुनिकीकरण किन गर्न सकिएन ? आफूसरह किन समाजमा सामाजिक हैसियत निर्माण गर्न सकिएन ?

Source link

संबधित खबर

धेरै पढ़िएको

पेसा फेरियो, दलन फेरिएन – सार्वजनिक सेवा प्रसारण संस्था

पेसा फेरियो, दलन फेरिएन – सार्वजनिक सेवा प्रसारण संस्था

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

मकवानपुरको जुरिखेतमा ‘स्कारपियो’ दुर्घटनामा छ जना घाइते

मकवानपुरको जुरिखेतमा ‘स्कारपियो’ दुर्घटनामा छ जना घाइते

तरकारी बेचबिखनमा बिचौलियाको हालीमुहाली, किसान मर्कामा

तरकारी बेचबिखनमा बिचौलियाको हालीमुहाली, किसान मर्कामा

कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छः सभामुख अर्याल

कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छः सभामुख अर्याल

मुलुकीसंहिता समयअनुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम

मुलुकीसंहिता समयअनुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम