वनक्षेत्रको वृद्धि र गरिबी निवारणको साधन बन्दै नेपालको सामुदायिक वन

वनक्षेत्रको वृद्धि र गरिबी निवारणको साधन बन्दै नेपालको सामुदायिक वन

काठमाडौँ — नेपालमा वनक्षेत्रको वृद्धि र ग्रामीण क्षेत्रका बासिन्दाहरूको आर्थिक विकासका लागि सामुदायिक वन महत्वपूर्ण साधनको रुपमा स्थापित हुँदै आएको छ । २०३५ सालबाट नेपालमा सामुदायिक वनको अवधारणा सुरु भए पनि यसको व्यावहारिक कार्यान्वयन बहुदलीय व्यवस्था पुनर्स्थापना (२०४७) पछि मात्र भएको हो ।

विशेषगरी देशका नाङ्गा डाँडामा वृक्षारोपण गरी हरियाली प्रवर्द्धन गर्न यो कार्यक्रम सुरु गरिएको थियो । यसका लागि सरकारले स्थानीय जनताको उपभोक्ता समूह गठन गरी बनको संरक्षण र उपभोगको जिम्मेवारी दिने नीति कार्यान्वयनमा ल्याएको थियो । नेपालले  सुरु गरेको यो सामुदायिक वनको अवधारणा र यसबाट हासिल गरिएका उपलब्धिका कारण बन, वातावरण जगत्‌मा नेपालको ख्याति बढ्दो छ ।

विश्वभर वनक्षेत्र मासिँदै गएको अवस्थामा नेपालले वनको संरक्षण, संवर्धन र विस्तारमा पाएको सफलता विश्वकै लागि अनुकरणीय छ ।सामुदायिक वन कार्यक्रम सुरु हुँदा नेपालको वनक्षेत्रफल कुल क्षेत्रफलको ३८ प्रतिशत थियो । कार्यक्रम सुरु भएको तीन दशकमा कुल बन क्षेत्र बढेर ४६.०८ प्रतिशत पुगेको छ । त्यसैगरी नागरिकको नेतृत्व विकास, महिला सशक्तिकरण र रोजगारी सिर्जनामार्फत गरिबी निवारणमा पनि सामुदायीक वनले उल्लेख्य योगदान पुर्याएको छ । यो कार्यक्रम सुरु हुँदा नेपालमा कुल जनसंख्याको  कुल ४२ प्रतिशत रहेको गरिवी हाल घटेर २० प्रतिशतमा झरेको छ । नेपालको गरिवी घट्उन एउटा सारथी सामुदायीक बन सहयोगी बनेको यस क्षेत्रका जानकारहरु दाबी रहेको छ ।

नागरिकको जीवनस्तर उकास्ने आधार सामुदायिक वन

नेपालको लुम्बिनी प्रदेशको पश्चिम पहाडी जिल्ला अर्घाखाँचीको सीतगंगा नगरपालिका–१३, भङ्गालाका ४३ वर्षीय गिरबहादुर रानाको जीवन सामुदायिक वनको सहयोगले बदलिएको छ । २ वर्षअघि खाडी मुलुक कतारबाट फर्किनुभएका राना अहिले आफ्नो गाउँमै व्यवसायकीक कृषक बनेका छन् । सामुदायिक वन क्षेत्रमा खेर जाने घाँस, पातपतिँगर र झाडी सङ्कलन गरेर उनले जैविक मल उत्पादन गर्दै व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । स्थानीय धिरीखोला सामुदायिक वन उपभोक्ता समितिले बनको आम्दानीबाट दिएको ट्र्याक्टरले उहाँको खेतीपातीमा थप सुविधा थपिदिएको छ ।

“धिरीखोला सामुदायिक वन मेरा लागि अवसर बनेर आयो । सामुदायिक वनको आम्दानीले दिएको ट्र्याक्टर र जैविक मलको उपलब्धताले तरकारी खेती सहज बनाइदिएको छ । तरकारी खेती नै आज मेरो आम्दानीको मुख्य आधार बनेको छ । बेमौसमी तरकारी खेतीबाट मासिक १ लाख कमाइ गर्दै आएको छु,” रानाले भन्नुभयो ।  रानाका अनुसार उहाँको परिवारको स्वास्थ्य बीमा समेत सामुदायिक वन उपभोक्ता समितिले गरिदिएको छ ।

सामुदायीक बनको आम्दानीबाट हाते ट्याक्टर वितरण गर्दै सामुदायीक वनको उभोक्ताहरु

वनको आम्दानीले स्थानीय सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि तथा अन्य पूर्वाधार विकासका क्षेत्रमा लगानी गरिएको धिरखोला सामुदायिक वनका अध्यक्ष नारायण पौडेल बताउनुहुन्छ । उहाँका अनुसार बनको आम्दानी वनको संरक्षणसँगै उपभोक्ताको जीवनस्तर उकास्ने योजनामा खर्च गर्दै आएको छ । व्यक्तिको जीवनस्तर उठाउनेदेखि विकास निर्माण र सामाजिक सुरक्षासम्मका क्षेत्रमा सामुदायिक वनले खेलेको भूमिकाको धिर खोला सामुदायीक बन त एउटा उदाहरण मात्र हो । यस्ता सयौँ उदाहरण देश भित्रका सामुदायीक बनका रहेका छन् । सामुदायिक वन उपभोक्ताहरूले विभिन्न समूह गठन गरी वनमा आधारित उद्यमहरू सञ्चालन गर्दै आएका छन् — लप्सी प्रशोधन महिला उद्यमी समूह, कुचो उत्पादन समूह, नेपाली कागज उत्पादन समूह, सालको पातबाट दुना–टपरी÷प्लेट बनाउने समूह लगायत विभिन्न उद्यमी समूह गठन गरी आर्थिक उपार्जन गरेका सयौँ उदाहरण देश भित्र रहेका छन् ।

महिलामा नेतृत्व विकास र अवसरमा समान सहभागिताको माध्यम सामुदायिक वन

हाल देशभर २३,०८९ सामुदायिक वन उपभोक्ता समूह रहेका छन् । यी उपभोक्ता समूहमा अध्यक्ष वा उपाध्यक्षमध्ये एक जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । यी उपभोक्ता समूहलाई कानुनतः सामुदायिक वनको संरक्षण, प्रयोग र संवर्धनको अधिकार दिइएको छ । उपभोक्ता समितिमार्फत २५,१७,७६५ हेक्टर वनक्षेत्र सामुदायिक वनका रूपमा व्यवस्थापन गरिएको छ, जसमा ३५,२०,०९६ घरधुरी संलग्न रहेका छन् । वन मन्त्रालयका अनुसार नेपालको कुल ४६ प्रतिशत वनक्षेत्रमध्ये ३७ प्रतिशतभन्दा बढी वनक्षेत्र सामुदायिक वन उपभोक्ता समूहमार्फत व्यवस्थापन भइरहेको छ ।

नेपालमा सामुदायिक वनले व्यक्ति वा समुदायको आर्थिक विकास मात्र नभई समुदायलाई एकीकृत सामूहिक भावना र सहभागितामूलक विकासमा समेत अभ्यस्त बनाउँदै लगेको छ । सामुदायिक वनले वनमा सहभागी उपभोक्ताहरूलाई प्रजातान्त्रिक प्रक्रियामा आबद्ध गराई वनको संरक्षण, विकास र व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियामा सहभागी हुने अवसर प्रदान गरेको छ भने आफ्नो क्षेत्रको सामाजिक, आर्थिक तथा शैक्षिक विकास, भौतिक पूर्वाधार र वातावरणीय पुँजी निर्माणमा पनि उपभोक्ताहरूलाई स्वतःस्फूर्त सहभागी बनाउँदै आएको छ ।

अर्घाखाँचीका विभिन्न सामुदायिक वनको सुरक्षाका लागि खटिएका जनशक्ति

नाङ्गा डाँडापाखामा बिरुवा रोपेर हरियाली बनाउने तथा घाँस–दाउरा जस्ता दैनिक आवश्यकता पूर्ति गर्ने उद्देश्यले सञ्चालित सामुदायिक वनले हाल आएर पर्यटन प्रवर्द्धन, गरिबी निवारण, महिला जागरण र पिछडिएका समुदायलाई विभिन्न सीपमूलक तालिममा सहभागी गराई आयआर्जनमा सक्षम बनाउने जस्ता काम पनि गरिरहेको छ ।

नेपाल सरकारका पूर्व वन तथा वातावरण मन्त्रालयका सह सचिव डा. सिन्धु ढुंगानाका अनुसार महिला नेतृत्व विकास र महिला सशक्तिकरणको क्षमता विकासमा सामुदायिक वनको उल्लेख्य योगदान रहेको छ ।

“सामुदायिक वनको अवधारणाले नेपालमा सहभागितामूलक विकास र प्रजातान्त्रिक मूल्यमान्यता सिकाउने काम गर्‍यो । महिलामा नेतृत्व विकाससँगै गरिबी निवारणमा पनि यसले महत्वपूर्ण सहयोग पुर्‍याएको छ । प्रत्यक्ष–अप्रत्यक्ष रूपमा लाखौँ रोजगारी पनि यस क्षेत्रले सिर्जना गरेको छ,” ढुंगानाले भन्नुहुन्छ । ढुंगानाका अनुसार सामुदायिक वनबाट प्राप्त आम्दानीको ५० प्रतिशत रकम महिला, दलित तथा आदिवासी एवम् पिछडिएको वर्गको हितमा लगानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

वार्षिक ५ अर्बभन्दा बढी आम्दानी, दिगो विकास लक्ष्य (SDG) प्राप्तिमा सहयोग

नेपालका सामुदायिक वन उपभोक्ता समूहहरूको वार्षिक कुल आम्दानी करिब रु. ५ अर्ब  हाराहारी रहेको छ । यो रकम काठ, दाउरा, गैरकाष्ठ वन पैदावार, सदस्यशुल्क तथा अन्य स्रोतबाट प्राप्त हुन्छ । नेपालका जङ्गलबाट वार्षिक करिब १५ करोड घनफिट काठ निस्कने गर्दछ ।

सामुदायिक वनको योगदान र वनको आम्दानीबाट सञ्चालित विकास निर्माण तथा रोजगारीको प्रतिफललाई  अंकमा सीमित गर्न नसकिने सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारीको भनाइ छ । दिगो विकास लक्ष्य (SDGs) का सबै १७ वटा लक्ष्य हासिल गर्न सामुदायिक वनको योगदान महत्त्वपूर्ण  रहँदै आएको बताउनु हुन्छ ।

“सामुदायिक वनको आम्दानीबाट देशका विभिन्न ठाउँमा विद्यालय स्थापना, छात्रवृत्ति व्यवस्था, व्यक्तित्व विकास तथा बाटोघाटो निर्माण जस्ता कार्य भइरहेका छन् । रोजगारी सिर्जना र स्वावलम्बनदेखि जैविक विविधता संरक्षण, जलस्रोत संरक्षण तथा खनिज र इन्धनको स्रोत संरक्षणसम्म वातावरणीय सन्तुलनमा यसले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । यसको योगदानलाई कुल जिडिपीमा कति भनेर सीमित गरेर हेर्न मिल्दैन । दिगो विकास लक्ष्यका सबै लक्ष्य प्राप्तिको यो बलियो माध्यम बनेको छ,” भण्डारीले भन्नुभयो ।

सामुदायिक वन क्षेत्रबाट १५ देखि २० हजार व्यक्तिले पूर्णकालीन प्रत्यक्ष रोजगारी पाएको र अप्रत्यक्ष रोजगारी भने लाखौँको संख्यामा रोजगारी सिर्जना गरेको छ ।

यता सरकारले भने सामुदायीक वनलाई हरित अर्थतन्त्रको आधार बनाउनुपर्ने भन्दै वन व्यवस्थापनमा युवालाई आकर्षित गर्ने नीति अघि सारेको छ । वन व्यवस्थापन र संरक्षणमा युवाको अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्न वनमा आधारित सामग्रीको उत्पादन, बिक्री तथा वितरणमार्फत हरित रोजगारी विस्तार गर्ने नीति सरकारले अघि सारेको वन तथा भू–संरक्षण विभागका निर्देशक धीरेन्द्रकुमार प्रधानले बताउनुभयो ।

यस्तो छ स्थानीय उपभोक्ता समुहलाई सामुदायिक वन हस्तान्तरण गर्ने विधि

बन कानुन अनुसार सरकारले राष्ट्रिय वनलाई स्थानीय उपभोक्ताको आवश्यकताअनुसार सामुदायिक वनका रूपमा जिम्मा लगाउने गर्दछ । यसका लागि सरकारले पहिला स्थानीय उपभोक्ता पहिचान गरी उपभोक्ता समूह गठन गराउँछ र वन उपभोक्ताहरूको भेलाबाट राष्ट्रिय वनलाई सामुदायिक वन बनाई उपभोक्तालाई जिम्मा लगाइन्छ । वनको संरक्षण, उपयोग र व्यवस्थापनसम्बन्धी कार्ययोजना स्वीकृत गरेपछि सरकारले उक्त वन उपभोक्ता समूहलाई हस्तान्तरण गर्छ । हस्तान्तरणपछि उपभोक्ता समूहले आफ्नो स्वीकृत कार्ययोजनाअनुसार वनको संरक्षण, विकास, उपयोग तथा आम्दानी परिचालन गर्छ ।

यसरी हस्तान्तरण गरिएको सामुदायिक वनको अन्तिम स्वामित्व नेपाल सरकारमै रहन्छ, तर वनको संरक्षण, व्यवस्थापन र उपयोग गर्ने अधिकार भने सामुदायिक वन उपभोक्ता समूहसँगै रहन्छ । उपभोक्ता समितिले वनको आम्दानी समुदायको विकास, वन संरक्षण र गरिबमुखी कार्यक्रमहरूमा खर्च गर्नुपर्ने बाध्यकारी कानुनी व्यवस्था रहेको छ ।

 

Source link

संबधित खबर

धेरै पढ़िएको

सामुदायिक वनलाई हरित अर्थतन्त्रको आधार बनाइनेः मन्त्री चौधरी

सामुदायिक वनलाई हरित अर्थतन्त्रको आधार बनाइनेः मन्त्री चौधरी

वनक्षेत्रको वृद्धि र गरिबी निवारणको साधन बन्दै नेपालको सामुदायिक वन

वनक्षेत्रको वृद्धि र गरिबी निवारणको साधन बन्दै नेपालको सामुदायिक वन

पशुपतिनाथलगायत देशका शिवालयहरुमा दर्शनार्थीको घुइँचो – सार्वजनिक सेवा प्रसारण संस्था

पशुपतिनाथलगायत देशका शिवालयहरुमा दर्शनार्थीको घुइँचो – सार्वजनिक सेवा प्रसारण संस्था

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षा हुने, सतर्क रहन आग्रह

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षा हुने, सतर्क रहन आग्रह

गुल्मी अस्पतालको ठेक्का तोडन मन्त्री लम्सालको निर्देशन

गुल्मी अस्पतालको ठेक्का तोडन मन्त्री लम्सालको निर्देशन

नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

दोलालघाटबाट सुनकोसीमा बेपत्ता तिलकुमारीको शव ओखलढुंगामा फेला

दोलालघाटबाट सुनकोसीमा बेपत्ता तिलकुमारीको शव ओखलढुंगामा फेला