फास्ट ट्रयाकको भौतिक र वित्तीय दुबै प्रगति ५० प्रतिशत भन्दा कम

फास्ट ट्रयाकको भौतिक र वित्तीय दुबै प्रगति ५० प्रतिशत भन्दा कम

मकवानपुर- नेपालको पूर्वाधार विकासको इतिहासमै सबैभन्दा महत्वाकांक्षी तथा रणनीतिक महत्व बोकेको काठमाडौँ-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को हालसम्मको भौतिक प्रगति ४७ दशमलव ५६ प्रतिशत मात्र देखिएको छ ।

राजधानी काठमाडौँलाई तराईसँग छोटो दूरीमा जोड्ने यो राष्ट्रिय गौरवको आयोजनाको वित्तीय प्रगति भने ४८ दशमलव ४५ प्रतिशत रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभयो ।

कुल ७० दशमलव ९७७ किलोमिटर लम्बाइ रहेको आयोजनाको परिमार्जित लागत दुई खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । प्रारम्भिक लागतभन्दा दुई अर्ब दुई करोड रुपैयाँ घटाइएको हो । हालसम्म आयोजनामा ८६ अर्ब ८६ करोड रुपैयाँ खर्च भइसकेको छ ।

एशियन हाइवे डिजाइन स्ट्यान्डर्ड ‘प्राइमरी क्लास ए’ अनुसार निर्माण भइरहेको यस आयोजनामा सात स्थानमा सुरुङमार्ग निर्माण कार्य भइरहेको छ ।

सुरुङहरूको कुल लम्बाइ १० दशमलव ९७९ किलोमिटर रहेको छ भने दुईतर्फी लम्बाइ २१ दशमलव ९५८ किलोमिटर रहेको छ ।

हरेका तीन सय मिटरको दूरीमा एकबाट अर्को सुरुङमा आपतकालिन अवस्थामा जानका लागि क्रस प्यासेज पनि बनाइएको छ ।

आयोजनाअन्तर्गत देवीचौर, सिसौटार, चन्द्रमभिर, महादेवडाँडा र मौरीभिरमा सुरुङमार्ग निर्माण भइरहेको छ । धेद्रे र लेनडाँडामा भने ‘ब्रेक-थ्रु’ भइसकेको छ ।

हालसम्म ६ दशमलव ४ किलोमिटर सुरुङ खन्ने कार्य सम्पन्न भइसकेको छ । सबैभन्दा लामो ३ दशमलव ४ किलोमिटरको महादेवडाँडा सुरुङ यसै आर्थिक वर्षको असार मसान्तभित्र ‘ब्रेकथ्रु’ गर्ने योजना सहित निर्माण कार्य अघि बढाइएको सेनाले जनाएको छ ।

चार किलोमिटर सुरुङको ‘लाइनिङ’ कार्यसमेत सम्पन्न भइसकेको छ ।

त्यसैगरी आयोजनाअन्तर्गत जम्मा ८९ स्थानमा पुल निर्माण हुनेमध्ये ८५ स्थानमा पुल निर्माण कार्य भइरहेको छ ।

पुलहरूको दुईतर्फी कुल लम्बाइ २५ दशमलव ७७ किलोमिटर रहेको छ । हालसम्म ३८ स्थानका पुलको सबस्ट्रक्चर तथा १६ स्थानका पुलको सुपरस्ट्रक्चर निर्माण सम्पन्न भइसकेको छ ।

खोकना खण्डमा पर्ने बाँकी चार स्थानका पुलमा भने जग्गा अधिग्रहणसम्बन्धी समस्या रहेको छ । सडक निर्माणतर्फ ४७ दशमलव ११३ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ भने सात किलोमिटर सर्भिस लेन कालोपत्रे गरिएको छ ।

आयोजनाअन्तर्गत खोकना, बुदुने र निजगढमा गरी तीन वटा इन्टरचेन्ज, बुङमती, बुदुने र निजगढमा तीन वटा टोल प्लाजा तथा दुई वटा विश्रामस्थल निर्माण गरिनेछ ।

ठूला पुल, वाल प्रोटेक्शन तथा जटिल संरचनालगायत अधिकांश काम सम्पन्न भइसकेकाले अब बाँकी निर्माण कार्य तुलनात्मक रूपमा सहज हुने आयोजना प्रमुख, नेपाली सेनाका उपरथी धर्मेन्द्र कुमार झाले बताउनुभयो ।

भौगोलिक बनावट, विपद्ले पुर्‍याउने क्षति, जग्गा प्राप्तिको समस्या तथा ‘राइट अफ वे’ सम्बन्धी विवादका कारण आयोजनाको प्रगति अपेक्षा अनुसार हुन नसकेको उहाँको भनाइ छ ।

२०७४ साल वैशाखमा मन्त्रिपरिषद्को निर्णयबाट द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको थियो ।

२०७६ सालमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत भएको थियो । २०७७ साल जेठमा अन्तर्राष्ट्रिय परामर्शदातासँग सम्झौता गरी २०७८ जेठबाट नेपाली सेनाले कार्यारम्भ गरेको हो ।

द्रुतमार्ग सञ्चालनमा आएपछि काठमाडौँलाई मधेश तथा भारतीय नाकासँग सिधा र द्रुत पहुँच दिने भएकाले व्यापारिक गतिविधि वृद्धि हुने विश्वास गरिएको छ ।

आयोजना निर्माणकै चरणमा हजारौँले रोजगारी पाएका छन् ।

ही चैत मसान्तसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य भए पनि खोकनामा देखिएको विवादका कारण प्रस्थान बिन्दूमा निर्माण कार्य सुरु हुन सकेको छैन ।

खोकना क्षेत्रको विवाद समाधान भई ठेक्का प्रक्रिया अघि बढ्ने समयसम्म अन्य स्थानको काम पनि सम्पन्न हुने नेपाली सेनाले जनाएको छ ।

द्रुतमार्ग सञ्चालनमा आएपछि काठमाडौँ-निजगढ यात्रा करिब एक घण्टा दुई मिनेट तथा हेटौंडाकाठमाडौँ यात्रा करिब ३० मिनेटमा पूरा हुने लक्ष्य राखिएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

आज पनि सुनचाँदीको मूल्य घट्यो

आज पनि सुनचाँदीको मूल्य घट्यो

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

कानुनी समयसीमा उल्लंघन गर्दै स्थानीय सरकार, ७५३ मध्ये जम्मा २६० स्थानीय तहले ल्याए बजेट

कानुनी समयसीमा उल्लंघन गर्दै स्थानीय सरकार, ७५३ मध्ये जम्मा २६० स्थानीय तहले ल्याए बजेट

सुरु भयो नागढुंगा-मुग्लिन सडक निर्माण कार्य – सार्वजनिक सेवा प्रसारण संस्था

सुरु भयो नागढुंगा-मुग्लिन सडक निर्माण कार्य – सार्वजनिक सेवा प्रसारण संस्था

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

 रास्वपा केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी

विपद्का पीडित राहतको पर्खाइमा, करोडौँ बजेट खर्चविहीन

विपद्का पीडित राहतको पर्खाइमा, करोडौँ बजेट खर्चविहीन