
गुल्मी – प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्याल सहितको उच्चस्तरीय टोलीले गुल्मी जिल्लामा पुगेर सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन तथा आवश्यक समन्वय बैठक सम्पन्न गरेको छ ।
निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ गरिएको उक्त अनुगमनका क्रममा टोलीले जिल्लाको समग्र सुरक्षा अवस्थाबारे जानकारी लिँदै आवश्यक निर्देशन दिइएको हो ।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल, नेपाल नं. ३७ गुल्म गुल्मीमा आयोजित सुरक्षा समन्वय बैठकमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुसँग विस्तृत छलफल गर्नुभएको थियो ।
छलफलका क्रममा जिल्लाको भौगोलिक अवस्था, सम्भावित सुरक्षा चुनौती, मतदान केन्द्रहरुको संवेदनशीलता वर्गीकरण, जनशक्ति परिचालन योजना, तथा अन्तर निकाय समन्वयका विषयमा जानकारी आदानप्रदान गरिएको थियो ।
उहाँले निर्वाचन अवधिभर उच्च सतर्कता अपनाउन, सूचना संकलन तथा विश्लेषणलाई प्रभावकारी बनाउन र कुनै पनि अप्रिय घटना हुन नदिन पूर्वतयारी सुदृढ गर्न निर्देशन दिनुभयो ।
महानिरीक्षक अर्यालले निर्वाचन सुरक्षा संवेदनशील विषय भएकाले जिम्मेवारी निर्वाह गर्दा व्यावसायिकता, अनुशासन र निष्पक्षता कायम राख्न जोड दिनुभयो ।

