म्याग्दी- रोजगारका लागि बहराइनमा पुगेका धवलागिरि गाउँपालिका–३ फलीयागाउँका ३९ वर्षीय भीम भण्डारीलाई स्वास्थ्यले साथ नदिएपछि चार वर्षमै घर फर्कनुपर्यो ।
तीन छोराछोरी, वृद्ध बुबाआमा, भाइबहिनीहरूको पठनपाठनदेखि घरव्यवहार चलाउने भीम विदेशबाट फर्किँदा निरास भए पनि हिम्मत हार्नुभएन । विदेशबाट फर्किएपछि बेरोजगार बनेका भीमलाई बाख्रापालन गर्ने सोच पलायो । आठ वर्षअघि सुरु गरेको घुम्तीगोठमा बाख्रापालन व्यवसायले उहाँलाई स्वरोजगारका साथै आत्मनिर्भर बनाएको हो ।
“विदेशबाट फर्किनुपर्दा घरव्यवहार चलाउने खर्च कसरी जुटाउने भनेर पिरोलिएको थिएँ”, उहाँले भन्नुभयो, “घुम्तीगोठमा बाख्रापालन सुरु गरेपछि रोजगारी र घरव्यवहार चलाउनकै लागि पैसा कमाउन विदेश नै जानुपर्दो रहनेछ भन्ने महसुस भयो ।”
भीमले बुबा लालबहादुर भण्डारीले पितापुर्खाको पालादेखि नै गर्दै आएको बाख्रापाल्ने पेसालाई व्यवस्थित गरेर निरन्तरता दिनुभएको हो । पचास वटाबाट सुरु भएको भीमको गोठमा हाल एक सय ५० स्थानीय खरी जातका बाख्रा छन् । उहाँलाई बाख्रापालनमा श्रीमती विपनाले साथ दिनुभएको छ ।
वार्षिक १५ देखि २० वटा खसीबोका र त्यति नै सङ्ख्यामा पाठापाथी तथा माउ बाख्रा बिक्री गर्ने भण्डारी दम्पती बाख्रापालनबाट सन्तुष्ट छन् । “गोठमा बाख्राको सङ्ख्या धेरै हुँदा दुई सय वटासम्म पुगेको थियो”, विपनाले भन्नुभयो, “अर्काको देशमा गर्ने दुःख आफ्नै ठाउँमा गर्ने हो भने आत्मनिर्भर भइने रहेछ ।”
अग्ला र धेरै तौल हुने खरी स्थानीय जातको बाख्रा हो । औसतमा एक बेतमा एकवटा पाठापाठी जन्माउने खरीका खसी दुई वर्ष पालेपछि प्रतिगोटा रु २० हजारमा बिक्री हुने विपनाले बताउनुभयो । धेरै सङ्ख्यामा दानापानी र घाँस पुर्याउन नसकिने हुँदा ग्रामीण क्षेत्रका किसानले घुम्तीगोठमा बाख्रापालन गर्छन् ।
कात्तिकमा बेँसी झरेका भण्डारी दम्पतीका बाख्रागोठ हिजोआज फलीगाउँको फेदीमा रहेको हुचिनमा छ । चिसो हुने भएकाले हुचिनभन्दा अझ न्यायो र बेँसी सोलवाङमा गोठ राखिएको थियो । वैशाखको अन्तिम साता चरनका लागि बाख्रागोठ ढोरपाटन लैजाने उनीहरूको योजना छ ।
जेठ, असार र साउनमा गुर्जाघाट चर्ने बाख्रा भदौ र असोजमा त्यो भन्दा माथिको बुकी अनेरीमा पुग्छन् । किसानले पशुका लागि आवश्यक पर्ने पोषिलो आहारा पाइने चरन क्षेत्रलाई बुकी भन्छन् । त्रिपालको टहरामा रात कटाउने उनीहरूले बाख्राको सुरक्षाका लागि पाँचवटा कुकुर पालेका छन् ।
कुकुरले चितुवालगायत जङ्गली जनावरको गतिविधिलाई निगरानी गर्ने, बाख्रालाई बचाउने, भुकेर सूचना दिने र कतिपय अवस्थामा जङ्गली जनावरसँग भिडेर भगाई सहयोग गर्ने विपनाले सुनाउनुभयो । आफ्नै नाममा जग्गा जमिन नहुँदा व्यवसाय दर्ता गर्न नपाएका उनीहरूले बाख्रापालनलाई नै निरन्तरता दिने र जीविकोपार्जनको माध्यम बनाउने बताएका छन् ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अभियानकै रूपमा महामारीजन्य रोग पिपिआरविरुद्धको खोप र धवलागिरि गाउँपालिकाले प्राविधिक सेवा, त्रिपाल र सौर्य ऊर्जा सहयोग गरेको छ । महामारीबाहेकको अवस्थामा पनि बाख्राको औषधि उपचार निःशुल्क गर्ने र पशु बीमाका लागि सहजीकरण गरिदिन भण्डारी दम्पतीले राज्यका निकायसँग अनुरोध गरेका छन् ।

