कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

भजनी (कैलाली)- टीकापुर नगरपालिका–८ का पुनिराम थारू पाँच वर्ष पहिलेदेखि कर्णाली नदीको किनारमा बगरखेती गर्दै आउनुभएको छ । सिँचाइको सहजता हुने र उत्पादन पनि राम्रो दिने भएपछि उहाँले कर्णाली नदी किनार तथा टापुको सदुपयोग गर्दै खेती गर्दै आउनुभएको हो ।

उहाँले त्यस क्षेत्रमा प्याजखेतीलाई प्राथमिकता दिनुभएको छ । उहाँको प्याजखेती निकै लोभलाग्दो छ । बर्सेनि १० देखि १२ क्विन्टल प्याज नदी टापुबाट उत्पादन गर्दै आउनुभएका उहाँले प्याजसँगै धनिया, मकै, बन्दागोभी, टमाटरसमेत उत्पादन गर्नुभएको छ । “बालुवामा प्याजले राम्रो उत्पादन दिन्छ । प्याजलाई सिँचाइ धेरै चाहिने हुँदा सिँचाइको सहजता हुँदा प्याज राम्रो उत्पादन हुन्छ ।” उहाँ भन्नुहुन्छ, “खाली खेर गइरहेको बगरको सदुपयोग भएको छ, स्थानीयको आम्दानीको स्रोत बनेको छ ।”

कैलालीको टीकापुर र बर्दियाको राजापुर नगरपालिका जोड्ने सत्ती पुल आसपास क्षेत्रमा आजभोलि हरियाली छ । ढुङ्गा नभएको बालुवा भएको क्षेत्रमा सानासाना प्लट बनाइएका छन् । जहाँ लहरै प्याजको खेती छ । वडा नं ८ फाँटागाउँका ५०–६० घरपरिवारले कर्णाली नदी किनार तथा टापुमा प्याजखेती गर्दै आउनुभएको छ । बर्सेनि उक्त सङ्ख्या बढ्दै गएको देखिन्छ । बगरबाट बर्सेनि लगभग ७०० क्विन्टल बढी प्याज उत्पादन हुने गरेको छ । “एक परिवारले न्यूनतम पाँच–छ क्विन्टल प्याज उत्पादन गर्नुहुन्छ । उत्पादन सोचेभन्दा राम्रो हुन्छ ।” स्थानीय सम्झनी चौधरी भन्नुहुन्छ, “अहिले बगरमा खेती गर्ने किसानको सङ्ख्या पनि बढेको छ । पहिलेको भन्दा क्षेत्र पनि बढेको छ ।” उहाँले अन्य खेतबारीमा लगाएको प्याजभन्दा बगरमा गरेको प्याजको उत्पादन राम्रो हुने गरेको बताउनुभयो ।

टीकापुर नगरपालिका–८ बटनपुरकी सम्पुर्नी चौधरीले पहिलोपटक नदीको टापुमा प्याजखेती गर्नुभएको छ । गत वर्ष अरुले खेती गरेको देखेर यसपटक पाँच केजी प्याज लगाउनुभएकी उहाँ सोचेभन्दा राम्रो उत्पादन दिनेमा विश्वस्त हुनुहुन्छ । हरेक बिहान प्याज सिँचाइ गर्न पुग्नुहुने सम्पुर्नीलाई आजभोलि अलि बढी खेती गरेको भए हुने थियो भन्ने लागेको छ । “मैले अपेक्षा गरेभन्दा राम्रो गरी प्याज फस्टाएको छ । बालुवाभित्रको जमिन ओसिलो हुने हुँदा होला, घामपानीको मात्रा मिलेको देखिन्छ”, सम्पुर्नी भन्नुहुन्छ, “मैले घरमा लगाएको प्याजभन्दा राम्रो बगरको भएको छ ।”

बटनपुरकै पहारी चौधरीले पनि पहिलोपटक बगरमा प्याजखेती सुरु गर्नुभएको छ । खेर गइरहेको बगरबाट उत्पादन हुन्छ भन्ने थाहा पाएपछि उहाँले आफूलाई घरका लागि चाहिने जति प्याज रोप्नुभएको छ । “मलाई बिक्री गरेर आम्दानी गर्नुभन्दा पनि आफूलाई वर्षभरि पुग्ने प्याज उत्पादन भए पुग्छ”, उहाँ भन्नुहुन्छ, “बरु अर्को वर्ष बिक्री गर्नेगरी लगाउनुपर्ला ।” बगरमा नयाँ किसानले परीक्षण गर्न भन्दै प्याजखेती गर्ने गरेको भए पनि विगतदेखि खेती गर्दै आउनुभएका किसानले व्यावसायिक रूपमा नै बगरको सदुपयोग गर्दै आउनुभएको छ । खेती गरेबापत कसैलाई केही दिन नपर्ने भएपछि किसानले झन् उत्साहित भएर खेती विस्तार गर्दै आउनुभएको छ ।

अस्वाभाविक रूपमा बगरबाट आम्दानी गर्न थालेपछि त्यस क्षेत्रका नागरिकहरू निकै उत्साहित छन् । सामान्य मलखाद अनि कम मिहेनतले राम्रो आम्दानी हुने गरेको छ । वर्षात्को समयमा त्यहीँ कर्णाली नदीका कारण रातभर जाग्राम बस्ने वस्ती आजभोलि त्यहीँ कर्णाली नदीका बालुवाका फाँटको उत्पादनले वर्षात्को पीडा बिर्सने गरेका छन् । “वर्षात्को समयमा यहीँ कर्णालीको बेगले जतिबेला जे पनि हुनसक्छ भन्ने चिन्ताले सताउने गर्छ । हिउँदमा निदाएको कर्णालीले स्थानीयलाई राम्रो आम्दानी दिँदै आएको छ ।” स्थानीय बृहस्पति थरूनी भन्नुहुन्छ, “किसान आजभोलि त्यो बर्खाको दुःख सम्झिँदैनन्, बर्खामा आजभोलि दिने उत्पादन बिर्सन्छन् ।”

Source link

संबधित खबर

धेरै पढ़िएको

सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री

सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री

मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’

मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’

अर्घाखाँचीमा मुहान संरक्षण गर्न १५ वटा रिचार्ज पोखरी निर्माण

अर्घाखाँचीमा मुहान संरक्षण गर्न १५ वटा रिचार्ज पोखरी निर्माण

सिरहामा पशु हाटबजार परिसरको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पशु हाटबजार परिसरको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सरकार–काठमाडौं महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

सरकार–काठमाडौं महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

पर्यटन मन्त्री पौडेलद्वारा मुक्तिनाथ मन्दिर क्षेत्रको अनुगमन, धार्मिक पर्यटन विकासका सम्भावनाबारे अध्ययन

पर्यटन मन्त्री पौडेलद्वारा मुक्तिनाथ मन्दिर क्षेत्रको अनुगमन, धार्मिक पर्यटन विकासका सम्भावनाबारे अध्ययन