मनाङ- प्रतिनिधिसभा निर्वाचनको मतदान गर्न १९ दिन बाँकी छ । निर्वाचन नजिकिँदै गर्दा चुनावी प्रचारप्रसारलाई उम्मेदवारले तीव्र पार्न थालेका छन् । उम्मेदवार आ–आफ्ना एजेण्डासहित मतदातासामु मत आफ्नो पक्षमा पार्ने कसरतमा हुनुहुन्छ ।
निर्वाचनमा यहाँ तीन दलको प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेस (नेका), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र मङ्गोल नेशनल अर्गनाइजेसनबीच प्रतिस्पर्धा हुने भएको छ । यी प्रतिस्पर्धी दलले मुख्य एजेण्डा मनाङको पर्यटन क्षेत्र, पूर्वाधार विकास र जलवायु परिवर्तन अघि सारेका छन् ।
मुख्य त मनाङको पर्यटन क्षेत्र आयस्रोत हो भने पूर्वाधार विकास बिना असम्भव रहेकाले सहज पहुँचको विकासलाई प्राथमिकता दिएको नेपाली कांग्रेस प्रतिनिधिसभा सदस्य उम्मेदवार टेकबहादुर गुरुङ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मनाङ विकट क्षेत्र हो । यहाँको पूर्वाधार विकासका लागि स्थलमार्गको पहुँच महत्वपूर्ण हुन्छ । अझैसम्म पनि सहज बनाउन सकिएको छैन । त्यसैले यही विषयलाई प्राथमिकता दिएको छु ।”
मुख्य आयस्रोतको रूपमा रहेको पर्यटन व्यवसायको प्रवद्र्धन र पर्यटक आउने पहुँचमार्ग सहज बनाउनु आवश्यक रहेको उहाँ बताउनुहुन्छ । “देशैभरमा सबैभन्दा पछि सडक पहुँच पुग्ने जिल्लामा मनाङ पर्छ तर, हालसम्म पनि नार्पाभूमि स्थलमार्गको पहुँचमा छैन”, उम्मेदवार गुरुङ भन्नुहुन्छ, “यस क्षेत्रलाई सडक सञ्जालले जोड्न सकिएमा अझ पर्यटक बढ्छ । यसले मनाङको आयस्रोत नै बढ्ने हो ।” यहाँको साहसिक, ऐतिहासिक, धार्मिक क्षेत्रलाई पर्यटनसँग जोडेर आयस्तर बढाउने लक्ष्य लिइएको छ ।
देशकै आयस्तर वृद्धि गर्नमा महत्वपूर्ण रहेको मनाङमा जलविद्युत् आयोजनाको हब बनाउने योजना बनाएको उम्मेदवार गुरुङ बताउनुहुन्छ । यहाँको तालतलैयामध्ये तिलिचोताललाई धार्मिक पर्यटनसँग जोड्नुपर्ने स्थान हो । तर, विश्वको पर्यटकलाई तानेपनि अझै धार्मिक पर्यटनका रूपमा प्रवद्र्धन गर्ने योजना बनाएको उहाँ बताउनुहुन्छ । हिमाली क्षेत्रमा बढी जलवायु परिवर्तनको प्रभाव पर्ने भएकाले समाधान गर्ने एजेण्डा अघि बढाएको उहाँको भनाइ छ । “यसको असरको समाधानका लागि स्थानीयलाई सचेत गराउदै संसद्बाट उजगार गर्न आवश्यक छ”, उहाँ भन्नुहुन्छ, “यहाँको प्राकृतिक सौन्दर्यतालाई यसको असरबाट जोगाउने लक्ष्यका साथ एजेण्डा निर्धारण गरिएको हो ।”
त्यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार यशोदा सुवेदी गुरुङ पर्यटन मनाङको मुख्य आयस्तर हो यसको प्रवद्र्धन गर्ने बताउनुहुन्छ । “प्रकृति, संस्कृति र साहसिक पर्यटनको विश्वस्तरको पहिचान हो”, उहाँ भन्नुहुन्छ, “पर्यटन समृद्धिको मेरुदण्ड हो । यसको संरक्षण र वैकल्पिक पदमार्ग निर्माण गर्ने लक्ष्य रहेको छ ।”
सडक विस्तारका कारण विश्वको जोखिमयुक्त अन्नपूर्ण पदमार्ग प्रभावित भएकाले वैकल्पिक पदमार्ग निर्माणलाई प्राथमिकतामा राखिएको उम्मेदवार गुरुङ बताउनुहुन्छ । “यहाँको तिलिचो ताल, आइसलेकलगायतका तालतलैयाको प्रवद्र्धन, थोराङ्ला पास, लार्केपास, काङ्ला पासलाई प्रमुख पर्यटनको क्षेत्रका रूपमा प्रवद्र्धन गर्ने लक्ष्य छ”, उहाँ भन्नुहुन्छ, “यसले नै मनाङ समृद्ध बन्छ ।”
यस निर्वाचनमा मनाङमा पुराना दलबीच नै प्रतिस्पर्धा हुने भएको छ । मनाङमा नेपाली कांग्रेस र नेकपाबीच नै मुख्य प्रतिस्पर्धा हुने भएको छ । प्रतिनिधिसभा निर्वाचन २०७९ मा कूल मत ६ हजार ७७९ मतदाता रहेकामा चार हजार ८२७ मत खसेको थियो । कांग्रेसका टेकबहादुरले दुई हजार ५७५ मत ल्याउनुभएको थियो । एमालेका पोल्देन छोपाङ गुरुङले दुई हजार २४७ मत ल्याउनुभएको थियो । समानुपातिकतर्फ कांग्रेसले दुई हजार ४३०, एमालेले दुई हजार १९१, राष्ट्रिय स्वतन्त्र पार्टीले १४६, नेकपा माओवादीले १३३, जसपाले आठ र जनमोर्चाले दुई मत प्राप्त गरेको थियो ।
मनाङमा यसपाली महिला तीन हजार ६२३ र पुरुष तीन हजार ३७७ गरी कूल सात हजार मतदाता छन् । उनीहरुले २९ मतदान केन्द्रमार्फत मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गत निर्वाचनमा भएको प्रतिस्पर्धाभन्दा यस पटकको निर्वाचन भिन्न देखिएको छ । नेकपा एमाले र राप्रपाले कांग्रेसलाई समर्थन गरेको छ । मुख्य प्रतिस्पर्धीको रूपमा यस पटकको निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी रहेको छ ।

