तरकारी खेतीबाट आत्मनिर्भर बन्दै राना थारु महिला

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै राना थारु महिला

कन्चनपुर- माघ महिनाको कठ्याङ्ग्रीदो चिसो । त्यसैमा साँझबिहान चल्ने सिरेटोले घरबाहिर निस्कनै मुस्किल छ । त्यहिबीच कञ्चनपुरको भीमदत्त नगरपालिका  १६ स्थित नयाँ कटान गाउँकी सरिता राना भने चिसोको परवाह नगरि बारीमा तरकारी टिप्न व्यस्त हुनुहुन्थ्यो ।

भोलिपल्टका लागि बजार लैजान आजै तरकारी टिप्न लागेको उहाँले बताउनुभयो । दिउँसो र साँझ बारीमा काम गर्ने, फलेका तरकारी टिप्ने काममा व्यस्त हुने उहाँ बिहानै ५ बजे तरकारी बेच्न बजार पुग्नुहुन्छ । बजारबाट फर्किँदा हातमा मिहिनेतको कमाइ हुन्छ, जाडो, गर्मी र थकाइ त्यसैले विर्साउँछ ।

उहाँकी सासुले तरकारी खेतीको काम सुरू गर्नुभएको थियो । सासु काम गर्न नसक्ने भएपछि सरिताले निरन्तरता दिनुभएको छ ।

‘पहिले सासुले गर्नुहुन्थ्यो, मेरो बिहेपछि मैले साइकलमा बेच्न लग्न थालेँ,’ सरिताले भन्नुभयो ‘अहिले सासु बारीको काम गर्न सक्नुहुन्न, त्यसैले सबै काम मैले नै गर्दै आएकी छु।’

पहिले परम्परागत धानगहुँ खेतीबाट मुस्किलले परिवारको गुजारा चल्थ्यो । आज उही मेहनतको उपजबाट ढुक्कैले परिवार चल्ने उहाँ बताउनुहुन्छ ।

‘तरकारी खेतीबाट वर्षमा एक लाख कमाइ हुन्छ । यसैबाट हाम्रो छोरीछोरीको पढाई, घरखर्च चल्ने गरेको छ,  बचेको पैसा समूहमा बचत पनि गर्छु,’ उहाँले भन्नुभयो ।

सरितासँगै त्यहि छेउको अर्को बारीमा रामकुमारी राना हुनुहुन्थ्यो । उहाँ पनि बारीबाट टिपेको तरकारी बेच्न जानका लागि तयार पार्दै हुनुहुन्थ्यो । खेती व्यवसायबाट आफ्नो परिवार चलेकाले उहाँले पनि सन्तुष्ट भएको बताउनुभयो ।

कैलाली र कञ्चनपुरमा बसोबास रहेको राना थारु समुदाय ऐतिहासिक रुपमा सामाजिक, आर्थिक र शैक्षिक रूपमा पछाडि पारिदै आएको समुदाय हो । त्यसमा जातीय सीमान्तकरण र लैगिंक विभेदका कारण दोहोरो मारमा परेका अधिकांश महिलाहरु भूमिहीन, अशिक्षित र परनिर्भर जीवन बिताउन बाध्य थिए । घरधन्दाबाहेक प्रायः फुर्सदीला हुने राना थारु महिलाहरुको न निर्णायक भूमीका हुन्थ्यो, न त नेतृत्वमा पहुँच नै । जसले गर्दा घर व्यवहार चलाउनेदेखि निर्णय लिनेसम्मको सबै जिम्मेवारी पुरुषकै हुने गर्दथ्यो ।

२०६३ सालमा कृषि विकास कार्यालयको सहयोगमा समूह बनाएर नयाँ कटानमा दुई तीन परिवारबाट तरकारी खेती सुरू भएको थियो । ती परिवारले नगद पैसा र राम्रो आम्दानी गरेको देखेपछि अरूले सिको गर्दै सिंगो गाउँ नै तरकारी खेतीमा लाग्यो । यसले नयाँ कटानका राना थारू महिलाहरुको दैनिकी नै फेरिएको छ । दिनभर तरकारी लगाउने, गोडमेल गर्ने र साँझपख तरकारी टिपेर बेच्नका लागि तयार पार्न व्यस्त महिलाहरू बिहानै तरकारी लिएर बेच्न साइकलमा महेन्द्रगर बजार पुग्छन् । कोही घरघर, पसलपसल बेच्दै हिँड्छन् भने कोही सब्जीमण्डीमा दिएर घर फर्किन्छन् । यो उनीहरूको दैनिकी बनेको छ ।

सिमित जग्गा, थोरै बीउ र आधारभूत ज्ञानबाट तरकारी खेती सुरू गरेका राना थारु महिलाको अहिले यो जीवन परिवर्तनको आधार बनेको छ । तरकारी खेती सुरू गरेपछि घरको सबै जिम्मेवारी आफूले हेर्ने गरेको सरिता बताउनुहुन्छ ।

‘पहिले त श्रीमानसँगै पैसा मागेर घर खर्च चलाउनुपथ्र्यो, धेरै माग्दा कुरा सुन्नुपथ्र्यो, सरिताले भन्नुभयो, ‘कृषि विकास कार्यालयबाट आएर सरहरूले तालिम दिनुभयो, त्यसपछि विस्तारै तरकारी खेती गर्दै गए, अहिले त राम्रै आम्दानी भइरहेको छ ।’
आफ्नो गाउँठाउँका महिलाहरुको आर्थिक, सामाजिक अवस्था र भूमिका नै तरकारी खेती र व्यवसायले फेरेको भीमदत्त नगरपालिका १६ का चेतराम रानाले बताउनुभयो । महिलाहरू पुरूषभन्दा कम खर्च गर्ने र तरकारी बेचेर आएको पैसा बचत गरेर वर्षभरी पुर्याउने भएकाले उनीहरू आर्थिक रुपमा मजबुत भएको पनि उहाँले देख्नुभएको छ ।

‘पहिले महिलाहरूले हरेक कामका लागि श्रीमानसँग पैसा माग्नुपर्ने अवस्था थियो, तर अहिले ठ्याक्कै उल्टो छ,’ चेतरामले भन्नुभयो ‘५० प्रतिशत महिलाले आफूले कमाएर श्रीमानलाई खर्च दिने गरेका छन् । कमाउँछन् र बचाउँछन् पनि ।’

तरकारी खेतीले राना थारू समुदायका महिलालाई आर्थिक रुपमा सबल बनाएपछि घरपरिवारदेखि समाजमा उनीहरूको जिम्मेवारी र भूमिका फेरिएको नयाँ कटानकै बाबुराम रानाको भनाई छ । तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि उहाँको घरमा पनि सबै जिम्मेवारी बुहारीकै काँधमा छ ।

‘पहिले घर चलाउने जिम्मेवारी पुरूषको काधमा हुन्थ्यो, महिलाहरु घरधन्दा मै व्यस्त हुन्थे, तर अहिले त्यस्तो छैन, जसले पैसा कमाउँछ उसैले घर चलाउँछ’ उहाँले भन्नुभयो, ‘मेरो घरमा तरकारी खेती, होमस्टे, सिलाईकटाई सबै बुहारीले नै गर्छिन, घर चलाउने जिम्मेवारी पनि उनकै छ, निर्णय पनि उनकै चल्छ ।’

नयाँ कटानकै कविता रानाले तरकारी खेतीबाट आत्मनिर्भर बनेको बताउनुभयो । पहिले घर खानका लागि मात्रै तरकारी खेती गर्ने रानाले व्यवसायीक रुपमा तरकारी खेती गरेपछि आफैले घरखर्च चलाउनुहुन्छ । तरकारी बेचेर दैनिक दुई हजारसम्म कमाई हुने भएकाले आफ्नै समुदायमा बनाइएको समूहमा मासिक छ हजार बचत पनि गर्नुहुन्छ ।

‘अब त कसैसँग हात थाप्नुपर्दैन, पहिले केहि किन्न पर्यो की अरुसँग माग्नुपर्यो,’ कविता रानाले गर्वका साथ भन्निुभयो, ‘अचेल आफै तरकारी खेती गर्छु, त्यसलाई बेचेर आएको पैसा पनि आफै राख्छु । खर्चदेखि बचत गर्ने सबै मेरै हातमा छ ।’

आत्मनिर्भरता र आत्मसम्मान

तरकारी खेतीले आर्थिक हैसियत बदलिएपछि महिलाहरू समूह, सहकारीमा मात्रै आवद्ध छैनन्, बिक्रिका लागि बजार पुग्नेदेखि नेतृत्व प्रक्रियामा पनि सहभागी छन् । यसले उनीहरुको आत्मविश्वास, आत्मसम्मान बढाएको जानकारहरू बताउँछन् ।

तरकारी खेतीबाट आर्थिक रुपमा बलियो हुँदा घरपरिवारदेखि समाजमा पनि महत्व बढेको बसन्ती राना बताउनुहुन्छ ।

‘पहिले त सबै कुराका लागि श्रीमान, ससुरासँग पैसा माग्नुपर्ने, आर्थिक रुपमा कमजोर हुँदा घरमै पनि त्यति महत्व पाइदैनथ्यो,’ बसन्तीले भन्नुभयो, ‘अहिले त कतै केहि गर्नुपर्यो भने उद्यमी महिला भनेर बोलाउछन्, नजानेको कुरा सोध्न आउँछन् । जानेको सिकाउन पाइएको छ, यसले पैसा, सम्मान र सन्तुष्टी सबथोक दिएको छ ।’

आफूले त चार वटा समूहमा बचत गर्दै आएको नयाँ कटानकै गोमती रानाको भनाई छ ।

‘पहिले त केही किन्नुपर्यो भने श्रीमानसँग पैसा माग्नुपथ्र्यो,’ गोमतीले भन्नुभयो, ‘अब कसैसँग हात थाप्नु पर्दैन, आफैले कमाएर आफै खर्च गर्न सक्छु, चार वटा समूहमा त बचत नै गर्छु ।’

भीमदत्त नगरपालिका १४ र १६ नयाँ कटानमा झण्डै ४३ परिवार राना समुदायको बसोबास छ ।

शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा अर्जुनी क्षेत्रबाट विस्थापित भएका उनीहरू अहिले पनि निकुञ्जकै मध्यवर्ती क्षेत्रमा बसोबास गर्दछन् । उनीहरुलाई २०४५ सालमा सट्टाभर्ना गरि नयाँ कटानमा सारिएको हो ।

भीमदत्त नगरपालिकाका अनुसार यहाँका ४१ परिवार राना थारु महिला व्यवसायीक तरकारी खेतीमा संलग्न छन् । उनीहरूले एकल तथा समूह बनाएर उत्पादन, बचत र बजार व्यवस्थापनको काम गर्दै आएका छन् ।

यसरी व्यवसायीक तरकारी खेती गर्दै आएका सीमान्तकृत राना थारु महिलालाई स्थानीय तह, कृषि ज्ञान केन्द्र र एनएनएसडब्लुए, निड्स नेपाललगायतका संघसंस्थाहरूले सहयोग गर्दै आएका छन् ।

तरकारी खेतीले यहाँका राना थारु महिलाको आर्थिक तथा सामाजिक जीवनशैली नै फेरिएको सहयोगी संस्था एनएनएसडब्लुएका सामाजिक परिचालक अनिला लावडले बताउनुभयो ।

उहाँका अनुसार अहिले यहाँका महिलाहरू तरकारीबाट आएको पैसा बचत गरेर सहकारीसँगै होमस्टे पनि चलाउदै आएका छन् । पहिले मौसमी तरकारी खेती मात्रै गर्ने राना थारु महिलाहरु संस्थाहरूले आइपीए तालिम, टनेल तथा उन्नत जातका बिउबिजन दिएपछि हिजोआज मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरिरहेका छन् । साथै उनीहरुलाई कृषि पाठशाला तथा तरकारी खेतीका लागि प्रशिक्षकका रूपमा जिल्लाका विभिन्न ठाउँहरुमा बोलाउने गरिन्छ ।

‘पहिले उहाँहरुले सिजनमा थोरै क्षेत्रफलमा मात्रै तरकारी खेती गर्नुहुन्थ्यो, बिउबिजन, प्रविधि र नेतृत्व विकासका लागि विभिन्न तालिम तथा सहयोग पाएपछि अहिले आफै प्रशिक्षक बनेर तरकारी खेतीबारे सिकाउन जानुहुन्छ,’ उहाँले भन्नुभयो ।

कञ्चनपुरका स्थानीय तहहरूबाट लिएको तथ्यांकअनुसार यसवर्ष जिल्लामा व्यवसायीक तरकारी खेतीमा सात सय ४८ परिवार राना महिला संलग्न छन् । यस्तै चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्र कञ्चनपुरबाट अनुदानका लागि छानिएकामध्ये दुई सय ८६ राना थारु महिला छन् । जसमा तरकारी खेती गर्ने ६३ परिवार र बगर खेती गर्ने दुई सय २३ परिवार रहेको तथ्यांकमा उल्लेख छ ।

कार्यालयका अनुसार गत आर्थिक वर्ष  २०८१÷०८२  मा कञ्चनपुरमा छ हजार पाँच सय ३६ हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिएको थियो । जसमा जसमध्ये ८० महिला संलग्न छन् ।  तर व्यवसायीक तरकारी खेतीमा सीमान्तकृत राना थारू समुदायको महिलाहरू कति भन्ने एकीन तथ्यांक नभएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ ।

अनुदानका लागि निवेदन दिने तथा स्थानीय तहमा दर्ता भएका कृषि समूहहरु हेर्दा अधिकांश महिलाहरु नै सक्रिय हुने गरेको पाइएकाले तरकारी खेती गर्नेमध्ये ७० प्रतिशत थारु तथा राना थारु महिलाहरु नै रहेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख हरिप्रसाद पनेरूले बताउनुभयो ।

‘व्यवसायीक तरकारी खेती हेर्दा कृष्णपुर, बेलौरी, पुर्नवास, शुक्लाफाँटा, लालझाडीमा बढी गरेको देखिन्छ,’ उहाँले भन्नुभयो, ‘तरकारी खेती त अन्यत्र पनि छ, तर यी पालिकामा बढी मात्रामा छ र त्यसमा अधिकांश राना थारु महिलाहरु नै संलग्न हुनुहुन्छ, उहाँहरुलाई विभिन्न तालिम, बजारीकरण, कृषि उपकरण, मल तथा बीउबिजनमा कार्यालयले सहुलित दिदै आएको छ ।’

कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारु समुदाय नेपालको सीमान्तकृत समुदाय हो । राष्ट्रिय जनगणना २०७८ अनुसार राना थारू समुदायको जनसंख्या ८३ हजार ३०८ रहेको छ । यस्तै कञ्चनपुरमा ६० हजार दुई सय ७७ जना राना समुदायको बसोबास छ । जसमध्ये २९ हजार सात सय १२ पुरु छन् भने ३० हजार ८ सय ६३ जना महिला रहेका छन् ।

तरकारी खेतीबाट आत्मनिर्भर बनेसँगै राना थारू महिलाहरू अन्य समुदायका लागि प्रेरणाको पात्र बनेका छन् । यद्यपी सबै समस्याहरू समाधान भइसकेका छैनन्। सिंचाईको अभाव, बजार अनिश्चितता र आधुनिक प्रविधिको पहुँच नपुग्नु अझै पनि उनीहरूका चुनौतीका रुपमा रहेका छन् ।

 

Source link

संबधित खबर

धेरै पढ़िएको

सुनको भाउ तोलामा करिब २० हजारले घट्यो

सुनको भाउ तोलामा करिब २० हजारले घट्यो

सहिद दिवस सम्झनाको मात्र नभई आत्मसमीक्षा र प्रतिबद्धताको दिन हो : मन्त्री चौलागाईँ

सहिद दिवस सम्झनाको मात्र नभई आत्मसमीक्षा र प्रतिबद्धताको दिन हो : मन्त्री चौलागाईँ

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै राना थारु महिला

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै राना थारु महिला

जेनजीको भावना बमोजिम विशेष महाधिवेशनबाट पार्टी नयाँ भएको छ – सभापति थापा

जेनजीको भावना बमोजिम विशेष महाधिवेशनबाट पार्टी नयाँ भएको छ – सभापति थापा

आजदेखि ‘आ बाट आमा’ प्रदर्शनमा

आजदेखि ‘आ बाट आमा’ प्रदर्शनमा

पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

निर्वाचन आचारसंहिताको पालना एवम् कार्यान्वयन साझा दायित्व

निर्वाचन आचारसंहिताको पालना एवम् कार्यान्वयन साझा दायित्व