२०८० भदौ, ५
 
समाचार
प्रतीकात्मक तस्वीर ।
अभियान संवाददाता
काठमाडौं। काठमाडौं उपत्यकामा मेट्रो रेल निर्माण गरिदिन रूस सकारात्मक देखिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग सोमवार उनकै कार्यालयमा भएको भेटवार्तामा रूसी अधिकारीहरूले काठमाडौं उपत्यकामा मेट्रो रेल निर्माण गरिदिन रूसको रेलवे कम्पनी तयार रहेको जानकारी गराएका हुन् ।
नेपालका लागि रूसी राजदूत अलेक्सी नोमिकोले नेतृत्व गरेको दूतावासको टोलीले मेट्रो रेल निर्माणका लागि ठोस प्रस्ताव ल्याउनसमेत आग्रह गरेको मन्त्रालयका सहसचिव अर्जुन थापाले जानकारी दिएका छन् । रूसको मस्को मेट्रो रेलका लागि विश्व प्रख्यात मानिन्छ । रूसको सहयोगमा विश्वका धेरै देशले मेट्रो रेल सञ्चालन गरिरहेका छन् । छिमेकी भारतका कतिपय शहरहरूमा रूसी मेट्रो रेल सञ्चालनमा छन् ।
रूसी संसद्का अध्यक्ष भ्याचिसलोभ भिक्टोरोभिज भोलोडिन निकट भविष्यमै नेपाल भ्रमणमा आउँदै छन् । उनको भ्रमणअघि मेट्रो रेल, पूर्व–पश्चिम रेलमार्ग र भौतिक पूर्वाधार निर्माणमा सहयोगबारे छलफल गर्न रूसी टोली भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगेको मन्त्री ज्वालाको सचिवालयले जानकारी दिएको छ । रूसी दूतावासको टोलीले मन्त्री ज्वालासँग मेट्रो रेल, सडक, सुरुङमार्ग र पूर्व–पश्चिम रेलमार्गका विषयमा छलफल गरेको सहसचिव थापाले बताए ।
छलफलमा मन्त्री ज्वालाले काठमाडौं उपत्यकामा सञ्चालन गर्ने गरी मेट्रो रेल बनाइदिन प्रस्ताव गरेका थिए । ‘मेट्रो, पूर्व–पश्चिम रेल, सुरुङमार्गलगायत विषयमा पनि छलफल भयो,’ मन्त्रालयका सचिव केशवकुमार शर्माले भने, ‘जवाफमा रूसी राजदूतले मेट्रो रेल निर्माणका लागि रूसी रेलवे कम्पनी तयार रहेको बताउनुभयो । त्यसका लागि ठोस प्रस्तावसमेत माग गरिएको छ ।’
यस्तै पोखरा–रिडी सडकका विषयमा पनि रूसी अधिकारीले चासो देखाएका छन् । रूसी पक्षको चासोलाई मन्त्रालयले प्राथमिकतामा राखेको सहसचिव थापाले बताए । छलफलका क्रममा मन्त्री ज्वालाले नेपालका सयौं इन्जिनीयरले रूसबाट तालीम र शिक्षा लिएको र उनीहरूको दक्षताले नेपाललाई सहयोग पुगेको बताएका थिए ।
काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालन गर्ने चर्चा लामो समयदेखि चल्दै आए पनि निर्माणको विषय अन्योलमै छ ।
नेपालका लागि रूसी राजदूत अलेक्सी नोमिकोले नेतृत्व गरेको दूतावासको टोलीले मेट्रो रेल निर्माणका लागि ठोस प्रस्ताव ल्याउन सुझाएको हो ।
रेल विभागले चिनियाँ परामर्शदाताको सहयोगमा सन् २०१२ मा उपत्यकाका विभिन्न पाँचओटा मेट्रो रूटको सम्भाव्यता अध्ययन गरेको थियो । ती रूटमा २२ किलोमीटरको चोभार–सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक–बूढानीलकण्ठ, ११ दशमलव १५ किलोमीटरको कीर्तिपुर–कालीमाटी–नयाँ बानेश्वर–एयरपोर्ट, २८ दशमलव ५३ किलोमीटरको कोटेश्वर–चाबहिल–स्वयम्भू–कोटेश्वर, ११ दशमलव ७० किलोमीटरको स्वयम्भू–डिल्लीबजार–बौद्ध र १३ दशमलव ८० किलोमीटरको धोबीघाट–सिंहदरबार–नक्साल–गोंगबु छन् । सम्भाव्यता अध्ययनपछि थप काम अघि नबढेको विभागको भनाइ छ । पहिलो चरणमा चोभार–सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक–बूढानीलकण्ठ रूटको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम अघि बढाउने विभागको योजना थियो ।
जमीनमाथि र मुनि दुवैतिर मेट्रो रेल बनाउन सकिने भए पनि निर्माणका विषयमा ठोस निर्णय नहुँदा काम अघि बढ्न नसकेको विभागका अधिकारी बताउँछन् । सम्भाव्यता अध्ययन भएका पाँचओटा रूटको कुल लम्बाइ ८७ दशमलव १८ किलोमीटर छ । पाँचओटै रूटमा मेट्रो रेल सञ्चालन गर्न ५ खर्ब ४७ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने प्रारम्भिक अध्ययनको अनुमान थियो ।
शहरी पूर्वाधारविज्ञ किशोर थापा जनसंख्याको हिसाबले उपत्यकामा मेट्रो रेल सञ्चालन आवश्यक भएको तर क्षमता, लगानी र प्रविधिले नभ्याउने बताउँछन् । अर्का पूर्वाधारविज्ञ तुलसी सिटौलाले मेट्रो रेल परियोजनाका लागि ठूलो धनराशी आवश्यक पर्ने भएकाले स्रोत जुटाउनु नै नेपालका लागि चुनौतीपूर्ण हुने बताउँछन् । यो पृष्ठभूमिमा रूसले मेट्रो रेल बनाइदिन चासो देखाएको छ ।
प्रतिक्रिया [0]