२०८० भदौ, ५
 
सम्पादकीय
मुलुकभित्र देखिएको मन्दीका कारण व्यवसाय चल्न गाह्रो भएपछि व्यवसायीहरू विदेश पलायन हुने र अन्य विकल्प खोज्ने क्रम चितवनमा देखिएको छ । चितवनमा मात्रै होइन, मन्दीका कारण मुलुकका प्रमुख क्षेत्रमा व्यवसायहरू बन्द हुन थालेको र उद्योगहरूले उत्पादन कटौती गरिरहेको समाचार आइरहेका छन् । अर्थतन्त्रमा देखिएको यस संकटको घडीमा केही व्यावसायिक घरानाप्रति लक्षित गरी सार्वजनिक घृणा फैलाउने काम पनि भइरहेको छ । व्यवसाय गर्ने वातावरण बिग्रँदै गइरहेको बेला दुर्गा प्रसार्इंले खुलेयाम निश्चित समुदायको नामै किटान गरेर दोष थुपारिरहेका छन् । कानूनले उद्योग, व्यवसाय गर्ने सुविधा सबैलाई समान रूपले दिएको छ । खुला बजार अर्थतन्त्रको मूल मर्म नै यस्तो हो कि प्रतिस्पर्धामा जो खट्न सक्छन्, तिनै टिक्छन् । खुलेयाम अनर्गल प्रचार गर्दा यसले व्यवसायी र उद्योगीहरूमा चिन्ता बढेको छ । उनीहरू पनि पलायन हुन थाले भने मुलुकको अर्थतन्त्र डुब्ने सम्भावना बढ्छ ।
बुझाइ आआफ्नै होलान् । तर, मुलुकको अर्थतन्त्र निर्माणमा मारवाडी समुदायको योगदान उच्च रहेको छ । पुस्तौंपुस्तादेखि नेपालमा व्यवसाय गरेका यिनीहरूका विरुद्ध केही तप्काका मानिस खुलेर लागेका छन् । सांसदहरूले समेत अर्थतन्त्रको वास्तविकता नबुझी गलत सन्देश फैलाउने काम गरेको पाइन्छ । यस्ता अभिव्यक्तिले अर्थतन्त्रमा थप समस्या आउने देखिन्छ । यही कारण उद्योग व्यवसाय र रोजगारी सृजनामा योगदान दिएका व्यापारिक घरानाहरू अहिले निकै तनावमा रहेका छन् । कतिपय उद्योगपतिले त असुरक्षित हुनु परेको गुनासो गरिसकेका छन् । उद्योगपति नै असुरक्षित भएपछि उद्योग, व्यवसाय कसरी सञ्चालन हुने ? उद्योग नै सञ्चालन नभए सबल अर्थतन्त्रको के कुरा गर्ने ?
बाह्य क्षेत्र खुकुलो भएको अहिलेको अवस्थामा सरकारले आन्तरिक लगानी बढाई उद्योगी व्यवसायीलाई विश्वासमा लिएर काम गर्ने हो भने डिलमा पुग्नै लागेको अर्थतन्त्रलाई सही ट्र्याकमा ल्याउन त्यति गाह्रो पनि नहुन सक्छ ।
यदि सरकार यस्ता कुरामा संवेदनशील नहुने हो भने त्यसले मुलुकभित्रै निकै ठूलो आर्थिक उथलपुथल ल्याउने निश्चित नै छ । अहिले जनताको क्रयशक्ति घटेको छ । क्रयशक्ति भए पनि उनीहरू खर्च गर्न डराइरहेका छन् । मुलुकमा व्याप्त निराशाका कारण सन्ततिहरू विदेशतिरै जान लालायित भइरहेको सन्दर्भमा नेपालमा अचल सम्पत्तिमा लगानी गर्नसमेत डराइरहेको अवस्था छ । त्यसैले उपभोग्य वस्तुदेखि विलासिताका वस्तुसम्मको कारोबार सुस्ताएको छ । उपभोक्ता र उद्योगीको मनोबल नउकासेसम्म अर्थतन्त्रले गति लिन सक्दैन । संकटको अर्थतन्त्रमा बढी कर लगाउनु प्रत्युत्पादक हुन्छ भन्ने यथार्थ सरकारले नबुझेको हो वा बुझेर पनि राजस्व बढाउनुपर्ने बाध्यताले हो करमा सरकार निकै अनुदार देखिएको छ । यसको मारमा उद्योगी व्यवसायी परेपछि उनीहरूले व्यवसाय बन्द गर्नु नै उपयुक्त देखेको हुन सक्छ । त्यही भएर कुनै बेला खोसाखोस हुने सटरहरू अहिले खाली छन् । महीनौंदेखि सटर खाली भएपछि घरधनीहरू तनावमा छन् । यस अवस्थाको अन्त्यका लागि सकारात्मक र आशावादी सन्देश प्रवाह गर्नु जरुरी छ ।
त्यसैले अहिले अर्थतन्त्रको उपचारमा सरकारले विशेष नीति ल्याउन आवश्यक छ । मुलुकलाई थप आर्थिक समस्यामा नलैजाने हो भने केही न केही नयाँ नीति ल्याउन आवश्यक भइसकेको छ । अर्थतन्त्र उपभोक्ताको आत्मविश्वासमा बढी चलायमान हुने हो । यो आत्मविश्वास जगाउने काम निकै चुनौतीपूर्ण देखिन्छ । किनभने समाजका हरेक पक्ष अहिले निराशाको अवस्थामा छ । यस्तो निराश जनतालाई घृणात्मक सन्देश दिएर उचाल्ने काम भइरहेको छ । यसले भोलिका दिनमा समाजमा अर्को द्वन्द्व ननिम्त्याउला भन्न सकिँदैन । वैदेशिक रोजगारीमा जानेको संख्या बढेकाले मात्र अहिले विपे्रषण आय बढिरहेको हो । यही विप्रेषणलाई देखाएर अर्थतन्त्र सुधारोन्मुख छ भन्न मिल्दैन । विप्रेषणमा जुनसुकै बेला समस्या आउन सक्छ । धेरै नेपालीहरूले काम गर्ने खाडी मुलुक र मलेशियामा कुनै समस्या आयो भने नेपालीहरू स्वदेश फर्कनुपर्ने हुन्छ । अन्तरराष्ट्रिय राजनीतिका कारण ती मुलुकमा समस्या नआउला भन्न सकिँदैन । त्यसैले दीर्घकालीन र बलियो अर्थतन्त्रका लागि स्वदेशी उद्योग, व्यवसायको प्रवर्द्धन गर्नु अनिवार्य छ । बाह्य क्षेत्र खुकुलो भएको अहिलेको अवस्थामा सरकारले आन्तरिक लगानी बढाई उद्योगी व्यवसायीलाई विश्वासमा लिएर काम गर्ने हो भने डिलमा पुग्नै लागेको अर्थतन्त्रलाई सही ट्र्याकमा ल्याउन त्यति गाह्रो पनि नहुन सक्छ । तर, अहिलेको जस्तो नीतिहीनता रहिरहे अर्थतन्त्रको आगामी दिशा र दशाबारे यसै होला भनी आकलन गर्न सकिँदैन ।
प्रतिक्रिया [0]