आइतवारसम्म १२ लाखभन्दा बढीको आवेदन
२०८० भदौ, ४
 
लगानी
अभियान संवाददाता
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि साउन ३२ गतेदेखि निष्कासन गरेको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छिटो अवधि भदौ ४ गतेसम्म मात्र आईपीओ विक्री गर्न लागेको हो ।
भदौ ३ गतेसम्म १२ लाख २१ हजार १४२ जना आवेदकहरूले १ करोड ३९ लाख ५३ हजार ८९० कित्ता आईपीओ खरीद माग गर्दै आवेदन दिएका छन्, जुन मागभन्दा करीब २ गुणा हो ।
कम्पनीले सर्वसाधारणमा ७६ लाख ८० हजार कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता सर्वसाधारणमा विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
कम्पनीले सर्वसाधारणतर्फको कुल कित्ता आईपीओमध्ये १० प्रतिशत दरको ९ लाख ६० हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा र ५ प्रतिशत दरको ४ लाख ८० हजार कित्ता सामूहिक लगानीकोषहरूमा बाँडफाँट गरिसकेको छ ।
प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा कम्पनीले आईपीओ विक्री गर्न अनुमति पाएको हो । यीबाहेक ४ लाख ८० हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी आईपीओ सार्वजनिक निष्कासनमा ल्याइएको हो ।
कर्मचारीहरूका लागि भने प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमै आईपीओ विक्री गर्ने कम्पनीले जानकारी दिएको छ ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड छ । विक्री प्रबन्धकसँगै खरीदकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्न सक्षम रहेको औसत स्तरको सुरक्षित रहेको संकेत केयरएनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
नयाँ जीवन बीमा कम्पनीको रूपमा कम्पनीले २०७४ असोज ६ गतेदेखि सेवा प्रदान गर्दै आएको छ । हाल कम्पनीले २९ शाखा कार्यालय र १६१ उपशाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । यो कम्पनी नाफामै छ । अघिल्ला तीन आर्थिक वर्ष निरन्तर नाफामा रहेको कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ८१ करोड १० लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गरेको छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया [0]