२०८० भदौ, ३
 
लगानी
नेप्से विश्लेषण
अभियान संवाददाता
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । यस दिन परिसूचक १ दशमलव ०८ प्रतिशत अर्थात् २१ दशलमव ९९ अंक घटेर २ हजार ११ दशमलव १४ विन्दुमा झरेको छ । अघिल्लो कारोबार दिन रू. १ अर्ब ५४ करोड बराबरको शेयर कारोबार भएकोमा आइतवार रू. १ अर्ब ४४ करोडमा झरेको छ ।
गत बिहीवार भने नेप्से परिसूचक ८ अंक बढेको थियो । पछिल्लो पाँच कारोबार दिनमा बजार एक दिन ८ अंक बढेको छ भने बाँकी चार दिनमा बजार ७६ अंक घटेको छ । यसरी हेर्दा बजारमा विक्री चाप नै बढी रहेको देखियो ।
वित्तीय प्रणालीमा पर्याप्त मात्रामा तरलता सहज हुँदा पनि बैंकहरूबीच देखिएको अस्वस्थ प्रतिस्पर्धाका कारण कतिपय बैंकहरूले ब्याजदर बढाए भने कतिपयले स्थिर राखे । यसले गर्दा पनि शेयर बजारमा नकारात्मक प्रभाव परेको लगानीकर्ताहरू बताउँछन् ।
यसो त बजार घट्न थालेसँगै नयाँ र साना लगानीकर्ताहरूले आत्तिएर शेयर विक्री गर्न थाल्छन्, यस कारण पनि बजार घट्न मद्दत पुग्ने जानकारको भनाइ छ ।
आइतवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ८४ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशलमव ९७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ६७ प्रतिशत घटेको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी ४ दशमलव ५७ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार २४६ दशमलव ५० कायम भएको छ । शेयर मूल्य सर्वाधिक बढ्ने सूचीमा दोस्रोमा आरएसडिसी लघुवित्त वित्तीय संस्था छ । कम्पनीको शेयर मूल्य ४ प्रतिशत बढेर रू. ५६७ दशमलव १० कायम भएको छ ।
यस दिन १०.३५ % कृषि विकास बैंक २०८३ नाम ऋणपत्रको मूल्यमा नेगेटिभ सर्किट लागेको छ । ऋणपत्रको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । ऋणपत्र मूल्य रू. १ हजार २९ दशमलव ६० मा झरेको छ ।
त्यस्तै अप्पर स्याङ्गे हाइड्रोपावरको शेयर मूल्य ९ दशलमव ०२ प्रतिशत घटेर रू. २९७ दशमलव ५० कायम भएको हो ।
आइतवार सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ओगटेको छ । कम्पनीको रू. ६ करोड ६३ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५८० कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने कम्पनीको सूचीमा दोस्रोमा हिमालयन डिष्टीलरी छ । कम्पनीको रू. ४ करोड ६३ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।
यस दिन कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक घटेका छन् । सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक २ दशमलव ३४ प्रतिशत घटेको छ । यसकारण आइतवार हाइड्रोपावर कम्पनीका शेयरधनीले धेरै गुमाएका छन् । त्यस्तै होटल तथा पर्यटन समूहको परिसूचक १ दशलमव ८५ प्रतिशत घटेको छ ।
प्रतिक्रिया [0]