राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्।
लामिछानेले आइतबार साझ शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई भेटेका हुन्।
राष्ट्रपति पौडेलले संसद्को गतिरोधप्रति सुरुदेखि नै चासो राख्दै आएका छन्। सोहीक्रममा रवि लामिछानेलाई भेटेको बताइएको छ।
भेटमा संसदको जारी अवरोधको बारेमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।
सुन तस्करीको छानविनको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले साउन १० गते देखि संघीय संसदका दुबै सदन अवरुद्ध गरेसँगै राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल देखिका नेताहरूलाई शीतल निवास बोलाएर दवाव दिंदै आएका छन्।
राष्ट्रपतिले पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई साउन २५ गते नै शीतल निवास बोलाएर संघीय संसद सुचारुका लागि पहल लिन आग्रह गरेका थिए। त्यसको भोलिपल्ट साउन २६ गते संघीय संसदन्र्तग प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनालाई शीतल निवास बोलाएका थिए।
सोहीक्रमलाई निरन्तरता दिंदै राष्ट्रपति पौडेलले साउन ३१ गते प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन्। साउन २६ गते देखि नै ओलीलाई भेट्ने प्रयासमा रहेका राष्ट्रपतिले साउन ३१ गते बुधबार ओलीलाई शीतल निवास बोलाएर संसदलाई सुचारु गर्नका लागि पहल लिन आग्रह गरेका हुन्।
प्रकाशित: ३ भाद्र २०८० १९:३१ आइतबार