२०८० भदौ, १
 
लगानी
नेप्से विश्लेषण
अभियान संवाददाता
काठमाडौं । यो साताको कारोबारमा लगानीकर्ताहरूले १८ अर्ब १८ करोड रुपैयाँभन्दा बढी गुमाएका छन् । गत साताको अन्तिम कारोबार दिन ३० खर्ब ६१ अर्ब १९ करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३० खर्ब ४३ अर्ब रुपैयाँभन्दा बढी मात्र कायम भएको हो । समूहगत परिसूचकमा आएको कमीलाई आधार मान्दा गत साता उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताहरूले सर्वाधिक गुमाएको देखिन्छ ।
यो साता पाँच कारोबार दिनमा पहिलो कारोबार दिन १४ दशमलव ८१ अंक र अन्तिम कारोबार दिन ८ दशमलव शून्य १ अंकले नेप्से परिसूचक बढेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ६६ दशमलव शून्य ५ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ३३ दशमलव १३ विन्दुमा बन्द भएको छ । गत साताको तुलनामा यो साता नेप्से परिसूचक ३२ दशमलव ९२ विन्दुले घटेको हो ।
यो साता १० अर्ब ४८ करोड ८५ लाख रुपैयाँ बराबरको २ करोड ९५ लाख ८७ हजार कित्ता धितोपत्र कारोबार भएको छ । गत साता १० अर्ब ८० करोड २६ लाख रुपैयाँभन्दा बढीको ३ करोड २८ हजार कित्ता धितोपत्र खरीदविक्री भएको थियो ।
गत साताको तुलनामा यो साता ३१ करोड ४१ लाख रुपैयाँभन्दा कमको धितोपत्र कारोबार भएको हो । कारोबार कित्ता पनि गत साताभन्दा यो साता ४ लाख ४१ हजारभन्दा बढीले घटेको छ ।
स्रोत : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ।
पछिल्लो समय धितोपत्र दोस्रो बजारप्रति लगानीकर्ताहरूको उत्साह खासै देखिएको छैन । ब्रोकरहरूका अनुसार अल्पकालीन लगानीकर्ताहरू बजारमा बढी सक्रिय छन् । छोटो समयमै नाफा बुक गर्ने परिपाटीका कारण बजारले गति लिन नसकेको ब्रोकरहरूको भनाइ छ । यतिबेला धितोपत्र बजारमा नयाँ ब्रोकरहरू भित्रिने क्रमसमेत जारी छ । सात नयाँ ब्रोकर कम्पनीहरूको प्रवेशपछि थप ३० ब्रोकरहरूका लागि समेत बाटो खुला भएको छ ।
बोर्डले हालसम्म ३७ ब्रोकर कम्पनीहरूलाई लाइसेन्स वितरण गरिसकेको छ भने लाइसेन्स प्राप्त गरेका १७ कम्पनीहरूले धितोपत्र दोस्रो बजारबाट समेत सदस्यता प्राप्त गरिसकेका छन् । नेप्सेबाट सदस्यता प्राप्त गरिसकेका थप १० ब्रोकरहरू चाडै नै बजारमा प्रवेश गर्ने तयारी गरिरहेका छन् । एक स्टक डिलर, तीन पूर्ण कार्य गर्ने ब्रोकर र ३० सीमित कार्य गर्ने ब्रोकरहरूलाई बजार प्रवेशको बाटो बोर्डले खुला गरिसकेको छ । नयाँ ब्रोकरहरूको प्रवेशले पूर्णता पाएपछि बजारमा छुट्टै माहोल सिर्जना हुने जानकारहरूको अपेक्षा छ । साथै लाभांशको समय रहेकाले अबको केही महिना लगानीकर्ता उत्साहित हुने अवस्था आउने जानकारहरूको दाबी छ ।
बजारलाई कुनै सिजनले माथि लैजानेभन्दा पनि यसको दीर्घकालीन विकासलाई सहयोग पुग्ने खालका कार्यक्रम आउनुपर्नेमा समेत जानकारहरूले जोड दिएका छन् । सीमित अवधिका लागि लगानीकर्ता उत्साहित हुने अवस्थाभन्दा यो क्षेत्र नै लगानीका लागि उपयुक्त छ भन्ने खालको वातावरण सिर्जना गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
नियामक निकायसँगै सरोकारवाला निकायसमेत यतिबेला बजारको दीर्घकालीन विकासका लागि आवश्यक नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिई अघि बढेका छन् ।
म्युचुअल फण्डको परिसूचक सर्वाधिक २७.८२ प्रतिशत बढ्यो
यो साता तीन समूहगत परिसूचकहरू मात्र बढेका छन् । म्युचुअल फण्डको परिसूचक सर्वाधिक २७ दशमलव ८२ प्रतिशत बढेको छ भने बैंकिङको शून्य दशमलव १८ प्रतिशत र होटल तथा पर्यटनको शून्य दशमलव शून्य ५ प्रतिशत बढेको छ ।
यो साता उत्पादन तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ५ दशमलव २९ प्रतिशत घटेको छ । त्यस्तै जलविद्युतको ४ दशमलव ५१ प्रतिशत, वित्तको ३ दशमलव १८ प्रतिशत, अन्यको २ दशमलव ७९ प्रतिशत, लघुवित्तको १ दशमलव ९६ प्रतिशत, विकास बैंकको १ दशमलव ४७ प्रतिशत, जीवन बीमाको १ दशमलव ४४ प्रतिशत, लगानीको १ दशमलव २४ प्रतिशत, निर्जीवनको शून्य दशमलव ७९ प्रतिशत र व्यापारिक समूहको शून्य दशमलव ६८ प्रतिशत परिसूचक घटेको छ । म्युचुअल फण्डहरूले गत वर्षको लाभांश वितरण गर्न थालिसकेकाले पनि लगानीकर्ताहरू यसतर्फ आकर्षिक भएको देखिन्छ ।
स्रोत : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ।
प्रतिक्रिया [0]