नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सुन तस्करी प्रकरणलगायतका भ्रष्टाचारमा छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकार तयार भए सदनको गतिरोध अन्त्य हुने बताएका छन्।

प्रेस चौतारी पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सुन तस्करी प्रकरणलगायतका विषयमा छानबिनका लागि आयोग गठन गर्न सत्तापक्ष तयार नहुँदा सदनको अवरुद्ध जारी रहेको उनको भनाइ छ।

‘हामीले कुनै जटिल वा अप्ठ्यारो माग राखेका छैनौँ’, उनले भने, ‘उच्चस्तरीय छानबिन आयोग बनाउन भनेका हौँ, प्रतिपक्षको समान्य कुरासमेत सुन्न नचाहेकाले यस्तो परिस्थिति सृजना भएको छ।’ आफूहरुले उठाएका माग सम्बोधन गर्न तयार भए संसद् सञ्चालन हुने उनको भनाइ थियो।

राज्यका सुरक्षा निकायप्रति आफूहरुको कुनै आशङ्का नरहेको उल्लेख गर्दै महासचिव पोखरेल सुन तस्करी प्रकरणमा सत्तापक्षकै कतिपय ठूला नेताहरु मुछिएकाले घटनाको स्वच्छ र निष्पक्ष छानबिन हुनेमा आशङ्का उब्जिएकाले उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरिएको स्पष्ट पारे।

दोषी नछुटोस् र निर्दोष नफसोस् भन्ने आफ्नो पार्टीको मान्यता रहेको बताउँदै ठूलो मात्रामा भित्रिएको सुनबारे सरकारले स्वच्छ, निष्पक्ष छानबिन गर्न दिनुपर्नेमा उनले जोड दिए।

संसद्मा प्रतिपक्षका कुरा सुन्नै नचाहने, बोल्नै नदिने र कुरा उठाउनसमेत बन्देज लगाउने जस्ता कार्य गरिरहेकाले संसद् अवरुद्ध गर्नुपरेको स्पष्ट पार्दै महासचिव पोखरेलले सत्तापक्षले प्रतिपक्षलाई अदृश्य रुपमा घेराबन्दीमा पार्दै आएको आरोप लगाए।  

प्रकाशित: १ भाद्र २०८० १७:१० शुक्रबार

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0