२०८० भदौ, १
&nbsp



समाचार



लगानी


काठमाडौं । ४३ कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स वितरणका लागि आशयपत्र प्रदान गरेको नेपाल धितोपत्र बोर्डले हालसम्म ३७ कम्पनीलाई लाइसेन्स प्रदान गरेको छ । साउन ३२ गते थप पाँच कम्पनीहरूलाई लाइसेन्स प्रदान गर्ने निर्णय गरेसँगै नयाँ ब्रोकर कम्पनीको संख्या ३७ पुगेको हो । आशयपत्र प्राप्त गरिसकेका कम्पनीहरूले आवश्यक पूर्वाधार तयार गरिसकेपछि बोर्डले लाइसेन्स प्रदान गरेको हो ।

बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठका अनुसार सजिलो ब्रोकर लिमिटेड, रोडसो सेक्युरिटिज लिमिटेड, बेनी सेक्युरिटिज लिमिटेड, हिमालयन सेक्युरिटिज लिमिटेड र सनी सेक्युरिटिज लिमिटेडलाई नयाँ लाइसेन्स प्रदान गर्ने निर्णय भएको हो । श्रेष्ठका अनुसार पाँच कम्पनीहरूमध्ये सजिलो ब्रोकर, रोडसो सेक्युरिटिज र बेनी सेक्युरिटिज पहिलो तह अन्तर्गतको सीमित कार्य ब्रोकरभित्र पर्दछन् भने हिमालयन र सनी सेक्युरिटिज दोस्रो तह अन्तर्गतको पूर्ण कार्य गर्ने ब्रोकर हुन् ।

पुरानो ब्रोकर कम्पनीकै रूपमा हाल ब्रोकर नम्बर ४२ को रूपमा सेवा प्रदान गरिरहेको सनी सेक्युरिटिजले भने पूँजी बढाएर पूर्ण कार्य गर्ने ब्रोकरको लाइसेन्स अपग्रेड गराएको बोर्डले जानकारी दिएको छ । यसअघि सनी सेक्युरिटिजको चुक्ता पूँजी २० करोड रूपैयाँ थियो ।

हालसम्म बोर्डबाट लाइसेन्स प्राप्त गरेका नयाँ कम्पनीहरूमध्ये सात कम्पनीहरूले मात्र धितोपत्र बजारमा प्रवेश गरी सेवा दिन शुरू गरेका छन् । बोर्डको लाइसेन्स प्राप्त गरी हालसम्म १७ कम्पनीहरूले नेप्सेको सदस्यता समेत पाइसकेका छन् । 

बोर्डले विभिन्न चरणमा गरी ३७ कम्पनीहरूलाई नयाँ ब्रोकर लाइसेन्स प्रदान गरेको हो ।

बोर्डबाट पहिलो चरणमा ७, दोस्रो चरणमा ११, तेस्रो चरणमा ११, चौथो चरणमा ३ र पाँचौं चरणमा ५ कम्पनीहरूले ब्रोकर लाइसेन्स पाएका हुन् । बोर्डबाट लाइसेन्स प्राप्त गरिसकेपछि पनि कम्पनीहरूले धितोपत्र दोस्रो बजार सञ्चालक (नेप्से) को सदस्यता प्राप्त गर्नुपर्ने हुन्छ ।

नेप्सेले सदस्यता प्रदान गरेपछि कम्पनीहरूले प्राविधिक व्यवस्थापन मिलाउनुपर्ने हुन्छ । नेप्सेकै कारोबार प्रणाली प्रयोग गर्ने यी कम्पनीहरूले आवश्यक सम्झौता गर्नुपर्ने हुन्छ । त्यसपछि मक ट्रेडिङ गराई कुनै अवरोध नदेखिएमा नेप्सेले गो लाइभको पत्र प्रदान गर्नेछ । नेप्सेको सदस्यता पाएका कम्पनीहरूले सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निक्षेप सदस्यता समेत लिनुपर्ने हुन्छ । 

नेपाल धितोपत्र बोर्डले आगामी तीन वर्षसम्म नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न नपाउने व्यवस्थाबमोजिम यस वर्ष पूँजीका हिसाबमा तीन किसिमको रहने गरी ४३ ओटा नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न लागेको हो ।

पहिलो तहको सीमित कार्य गर्ने ब्रोकरका लागि २० करोड रुपैयाँ, शेयर खरीदविक्री गर्नेसँगै डिपीको रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवम् लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरा सहितको दोस्रो तहको ब्रोकरको चुक्ता पूँजी ६० करोड रुपैयाँ र तेस्रो तहको स्टक डिलरका लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी हुनुपर्ने व्यवस्था बोर्डले गरेको छ । सोही व्यवस्थाबमोजिम बोर्डले हालसम्म एक धितोपत्र व्यापारी, तीन पूर्ण कार्य गर्ने धितोपत्र दलाल र ३३ सीमित कार्य गर्ने धितोपत्र दलाललाई लाइसेन्स प्रदान गरेको हो ।

नयाँ ब्रोकर लाइसेन्सका लागि आशयपत्र प्राप्त गरेका अझै ६ कम्पनी लाइसेन्सको प्रतीक्षामा छन् । आशयपत्र प्राप्त गरेका कम्पनीहरूले आवश्यक पूर्वाधार तयार गरिसकेपछि बोर्डले अनुगमन तथा निरीक्षण गरी योग्य ठानेमा मात्र लाइसेन्स दिने व्यवस्था छ । बाँकी कम्पनीहरू समेत सोही प्रक्रियाबमोजिम लाइसेन्स पाउने लाइनमा रहेको जानकारी बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले दिएका छन् । 

नयाँ लाइसेन्स प्राप्त गर्ने थप पाँच कम्पनीको पूँजी


  
 

प्रतिक्रिया [0]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0