काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ ।

कम्पनीले स्थानीयमा असार २८ गतेदेखि साउन २६ गतेसम्म २ लाख ७२ हजार ७३० कित्ता आईपीओ विक्री खुला गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूमा १ लाख ९३ हजार ७०० कित्ता आईपीओ साउन ३१ गते बाँडफाँट गरिएको जानकारी कम्पनीले दिएको छ ।

यस आधारमा स्थानीयका लागि छुट्याइएको कुल कित्ता शेयरमध्ये ७९ हजार ३० कित्ता शेयर भने वितरण हुन नसकेको देखिन्छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयसँगै वैदेशिक रोजगारीमा रहेका नेपालीमा समेत आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीमा असार २८ गतेदेखि साउन ११ गतेसम्म विक्री गरेको आईपीओ साउन २१ गते बाँडफाँट गरिएको हो ।

सर्वसाधारणमा दोस्रो चरणमा विक्री गरिने आईपीओमध्ये १० प्रतिशत दरको १ लाख ३६ हजार ३६४ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरिएको थियो ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ विक्री गरेको हो । अब दोस्रो चरणमा सामूहिक लगानीकोष र कर्मचारीसमेत सर्वसाधारणमा आईपीओ विक्री हुनेछ ।

कम्पनीले मकवानपुरमा २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत आयोजना निर्माण गरेको छ । उक्त आयोजनाबाट २०७५ चैत १९ गतेदेखि व्यापारिक उत्पादन शुरू भएको हो । उक्त आयोजनको कुल निर्माण लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार रुपैयाँ छ भने प्रतिमेगावाट औसत लागत १८ करोड २७ लाख रुपैयाँ छ ।