२०८० साउन, ३२
&nbsp



लगानी





अभियान संवाददाता




सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा आईपीओ जारी गर्दैछ । कम्पनीले साउन ३२ अर्थात आज गतेदेखि सर्वसाधारणका आईपीओ विक्री खुला गरेको छ ।  सर्वसाधारणमा प्रिमियम मूल्य समेत प्रतिकित्ता २३९ रूपैयाँमा कुल ९६ लाख कित्ता आईपीओ विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा कम्पनीले सर्वसाधारणका लागि प्रिमियम वापत १३९ रूपैयाँ थप गरेको हो ।
कुल कित्ता शेयरमध्ये १० प्रतिशत दरको ९ लाख ६० हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरी बाँडफाँट गरिएको हो । कर्मचारीहरूमा भने कम्पनीले ४ लाख ८० हजार कित्ता आईपीओ प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमै विक्री गर्ने जानकारी दिएको छ । यी वाहेक ४ लाख ८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ७६ लाख ८० हजार कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा ल्याएको हो । 

यो आईपीओ खरीदका लागि छिटो अवधि भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि भदौ १४ गतेसम्म विक्री लम्बिनेछ । तर सर्वसाधारणमा जारी हुने आईपीओ पहिलो दिनमै विक्दै आएको अवस्थामा यस कम्पनीको आईपीओ पनि छिटो अवधिभित्र मात्र विक्रीमा रहने निश्चित छ । कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ । कम्पनीकोे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर एप मार्फत समेत आवेदन दिन सकिनेछ ।

 

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्न सक्षम रहेको औसत स्तरको सुरक्षित संकेत केयरएनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । केयर रेटिङ्ग नेपालेले केयर एनपी त्रिपल ए इस्यूअरदेखि केयर एनपी डी इस्यूअर सम्मको रेटिङ्ग प्रदान गर्ने गर्दछ । केयर एनपी त्रिपल ए इस्यूअर रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा बलियो आधार रहेको संकेत गर्दछ भने केयर एनपी डी इस्यूअर रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा कमजोर आधार रहेको संकेत गर्दछ । कम्पनीले पाएको रेटिङ्ग पनि लगानी गर्ने महत्वपूर्ण आधारमध्येकै एक हो ।
 

कम्पनीको परिचय
बीमा प्राधिकरणबाट २०७४ साल साउन १८ गते कम्पनीले कारोबार गर्न स्वीकृति पाएको हो । तत्कालिन बीमा प्राधिकरणले कारोबारका लागि स्वीकृति दिएसँगै २०७४ साल असोज ६ गतेदेखि जीवन बीमा व्यवसाय सुरू गरेको हो । रजिष्टर्ड कार्यालय पुतलिसडक काठमाडौंमा रहेको कम्पनीले हाल २९ ओटा शाखा तथा १६१ उपशाखाकार्यालयहरु मार्फत सेवा प्रदान गर्दै आएको छ । 

पूँजी संमरचना 
कम्पनीको जारी पूँजी ५ अर्ब रूपैयाँ छ । हाल संस्थापकतर्फबाट चुक्ता भएको पूँजी २ अर्ब २४ करोड रहेको कम्पनीको सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि चुक्तापूँजी ३ अर्ब २० करोड कायम हुनेछ । संस्थापकतर्फ ७० प्रतिशत शेयर कायम रहेको कम्पनीको आईपीओपछि सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर कायम हुनेछ । जीवन बीमा कम्पनीहरूका लागि ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्था बमोजिम कम्पनीले चालू आर्थिक वर्ष ०८०/८१ भित्र ५ अर्ब रूपैयाँ चुक्तापूँजी कायम गर्ने प्रक्षेपण गरेको छ । 

कम्पनीको वित्तीय अवस्था 
आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक विवरण अनुसार कम्पनी ३९ करोड ५४ लाख रूपैयाँ सञ्चित नाफामा रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी १५ रूपैयाँ ७२पैसा र प्रतिशेयर नेटवर्थ १५८ रूपैयाँ ४१ पैसा रहेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले ८१ करोड रूपैयाँभन्दा बढी सञ्चित नाफा गरेको छ । गत आर्थिक वर्ष ०७९/८० सम्म ९९ करोड १३ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको कम्पनीले चालू आर्थिक वर्ष ०८०/८१ सम्ममा भने ८९ करोड ८३ लाख रूपैयाँ मात्र सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ । 
कम्पनीका सञ्चालक 
यस कम्पनीमा पाँच सदस्यीय सञ्चालक समिति रहेको छ । सञ्चालक समितिको अध्यक्षमा अनुज क्याल रहेका छन् । कम्पनीको संस्थापक तर्फको शेयरमा ३ लाख १६ हजार २ सय कित्ता शेयर अध्यक्ष क्यालकोे स्वामित्वमा रहेको छ । कम्पनीको सञ्चालकहरूमा सशांक अग्रवाल, नारायण रुंगटा,किरण केसी र नितु क्याल रहेका छन् । नितु भने स्वतन्त्र सञ्चालकको रूपमा रहेका हुन । 

पहिलो कारोबारको लागि ओपन रेञ्ज
कम्पनीले प्राथमिक बजारमा विक्री गरेको आईपीओ कारोबारका लागि धितोपत्र दोस्रो बजारमा सूचीकृत गराउनेछ । सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कारोबार योग्य हुने आईपीओ नियमित कारोबारका लागि भने स्पेशल प्रि ओपनिङ सेसनमा कारोबार हुनुपर्दछ । कम्पनीको आईपीओको पहिलो कारोबार मूल्य बजार सञ्चालकले निर्धारण गर्नेछ । हाल दोस्रो बजार सञ्चालकको रुपमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) रहेको छ । नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य रेञ्ज पहिलो कारोबारका लागि तोक्ने गर्दछ । 
यसर्थ कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा न्यूनतम प्रतिकित्ता १५८ रूपैयाँ ४१ पैसादेखि अधिकतम प्रतिकित्ता ४७५ रूपैयाँ २३ पैसासम्मको मूल्यरेञ्ज पाउने देखिन्छ । पहिलो कारोबारपछिको मूल्य भने लगानीकर्ताले गरेको माग र आपुर्तिका आधारमा निर्धारण हुनेछ ।

प्रतिक्रिया [0]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0