<p style="text-align:justify">काठमाडौं। चौधरी ग्रुपका अध्यक्ष एवं संघीय सांसद विनोद चौधरीलाई एशियन अवार्डले ‘फिल्यान्थ्रोपिस्ट अफ दी इयर २०२३’ बाट सम्मान गर्ने भएको छ । दुबईस्थित म्युजियम अफ दी फ्युचर भवनमा आगामी असोज २० मा उनलाई यो सम्मान प्रदान गरिने भएको हो ।</p>
<p style="text-align:justify">एशियन अवार्डले व्यवसाय, कला, प्रविधि, राजनीति, खेलकुद र समाज सेवामा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान गर्दै आएको छ । यस अवार्डबाट यसअघि आर्ट अफ लिभिङका संस्थापक रविशंकर, सर वेन किङ्स्ले, ब्रुसली, सचिन तेन्दुलकर, ज्याक मा, मदर टेरेसा, फ्रेडी मर्करी, ज्याकी च्यान लगायत सम्मानित भएका छन् । उद्योगी चौधरी नेतृत्वको चौधरी फाउन्डेसनले नेपालमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ । नेपालमा २०७२ सालमा भूकम्प पीडितका लागि संस्थाले करीब ३ हजार घर बनाएर हस्तान्तरण गरेको थियो । त्यस्तै, चौधरी फाउन्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा ६१ पक्की घर निर्माण गरेको थियो ।</p>
<p style="text-align:justify">संस्थाले कोभिड महामारीमा नागरिकको उपचारलाई सहज बनाउन वीर अस्पतालमा १८ बेडको आईसीयू निर्माण गरी सञ्चालनमा ल्याएको छ । साथै कान्ति बाल अस्पतालका लागि आकस्मिक वार्ड निर्माण गरिदिएको छ । त्यस्तै, कोभिडका बेला सरकारलाई पीसीआर रिएजेन्ट र भेन्टिलेटर सहयोग गरेको थियो । संस्थाले नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्थानीय अस्पतालको गुणस्तर अभिवृद्धि कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ र्।</p>