२०८० साउन, ३२
&nbsp



समाचार





अभियान संवाददाता



काठमाडौं । भारतको निर्यात प्रतिबन्धका कारण बजारमा धान, चामल र चिनी जस्ता खाद्यवस्तुको आपूर्ति प्रभावित हुन सक्ने आकलन गर्दै सरकारले भारतसँग १ लाख टन खाद्यान्न माग गरेको छ । 

सरकारले १ लाख ५५ हजार टन खाद्यान्न माग गर्दै नयाँ दिल्लीमा पत्राचार गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले १ लाख टन चामल, ५० हजार टन चिनी, ५ हजार टन धान आपूर्ति गरिदिन आग्रह गर्दै परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पत्राचार गरिएको जानकारी दिएका हुन् । भारतले आफ्नै देशमा खाद्यान्न संकट हुनसक्ने अनुमान गर्दै साउन ४ गते बासमतीबाहेकका सेतो चामलको निर्यात रोक्ने निर्णय गरेको थियो । भारतलाई पत्र पठाइए पनि उताबाट जानकारी आउन बाँकी रहेको बताइएको छ ।

भारतसँगको अनौपचारीक कुराकानीमा नेपालका लागि उक्त प्रतिबन्ध लागू नहुने जानकारी आएको भए पनि नेपाली बजारमा निर्यात प्रतिबन्धको असर देखिइसकेकाले परिमाण तोकेरै खाद्य वस्तु माग गरिएको मन्त्रालयका प्रवक्ता राधिका अर्यालले जानकारी दिइन् । 

व्यवसायीले भने असोजसम्म पुग्ने धान र चामल मौज्दात रहेको बताएका छन् । नेपाललाई स्वदेशी उत्पादनको चामलले पुग्दैन । नेपालमा वार्षिक ५५ लाख मेट्रिक टन हाराहारी धान उत्पादन हुन्छ । त्यसबाट ३५ लाख मेट्रिक टन हाराहारी चामल तयार हुन्छ । नेपालीलाई वर्षभर भात खान करीब ४० लाख मेट्रिक टन चामल आवश्यक पर्ने अधिकारीहरूको भनाइ छ । 

यस हिसाबले नेपालको चामल माग धान्न ५ लाख टन हाराहारी चामल आयात गर्नुपर्छ । नेपालमा एक दर्जनभन्दा बढी देशबाट धान, चामल आयात भएको देखिए पनि ९९ प्रतिशत भारतबाटै आयात भएको सरकारी तथ्यांकले देखाउँछ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष (आव) २०७९/८० मा नेपालमा २ लाख २५ हजार ४६ टन चामल र ५ लाख ५५ हजार ८६९ मेट्रिक टन चामल बनाउने धान विदेशबाट आयात भएको देखिन्छ । नेपालमा धान, चामल आयात हुने अन्य देशमा चीन, भुटान, जापान, इन्डोनेशिया, भियतनाम, क्यानडा, अमेरिका, ओमन, थाइल्यान्डलगायत छन् । 

प्रतिक्रिया [0]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0