चितवन। ‘भरतपुर भ्रमण वर्ष २०२४’को अवसरमा चितवनका होटल व्यवसायीले आकर्षक छूट दिने भएका छन् । उनीहरूले भ्रमण वर्षमा खाना, बसाइदेखि जिप सफारीसम्ममा छूटका कार्यक्रम घोषणा गरिने बताएका हुन् ।

भ्रमण वर्ष कार्यसम्पादन समितिका सहसंयोजक तथा होटल व्यवसायी महासंघका अध्यक्ष दिनेशकुमार चुकेले भरतपुर भ्रमण वर्षलाई सफल पार्न होटल व्यवसायीले गुणस्तरीय खाजा, खानासहितको प्याकेज सर्वसुलभ मूल्यमा तयार पार्नुपर्ने बताए । भ्रमण वर्षमा जिप सफारीका लागि दुईओटा रूट तयार पारिएको उनको भनाइ छ । उनका अनुसार जिप सफारीको एउटा रूट बिसहजारी तालबाट राइनो ताल, टाइगर ताल, धनगढा, गणेशधाम, जलदेवी, प्राकृतिक चिकित्सालय, गौसंरक्षण केन्द्र, देवघाट नारायणी नदी किनारसम्म रहेको छ । त्यस्तै अर्को रूट ज्ञानेश्वर सामुदायिक वनबाट गोलाघाट हुँदै पटिहानी, जगतपुरसम्म छ ।

भ्रमण वर्ष सफल पार्न भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीको अध्यक्षतामा १७ सदस्यीय कार्यसम्पादन समिति बनाइएको छ । भरतपुर महानगरमा मात्र ठूला तथा साना होटल करीब १०० ओटा छन्, जसको क्षमता दैनिक ६ हजार पर्यटक धान्ने रहेको छ ।

भरतपुर भ्रमण वर्षको प्रचारका लागि भरतपुरमै मन्त्रिपरिषद्को बैठकदेखि एनआरएनको राष्ट्रिय सम्मेलनसम्म गर्ने तयारी महानगरको छ ।

भरतपुर भ्रमण वर्षमा दुई लाख विदेशी र ६ लाख आन्तरिक पर्यटक भित्त्याउने लक्ष्य राखिएको कार्यसम्पादन समितिका सहसंयोजक चुकेले बताए । यसका लागि नेपाली पुगेका विश्वका अधिकांश देशमा प्रचारप्रसार हुने उनको भनाइ छ । भरतपुर भ्रमण वर्षको प्रचारका लागि भरतपुरमै मन्त्रिपरिषद्को बैठकदेखि एनआरएनको राष्ट्रिय सम्मेलनसम्म गर्ने तयारी महानगरको छ ।