<p style="text-align:justify">काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पक्राउ परेको सुन तस्करी प्रकरणको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज थप चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । </p>
<p style="text-align:justify">पक्राउ पर्ने चिनियाँ नागरिकमा डीङ सेग्फा, वेन तोङ, ली–नेङकाई र टीयान मी रहेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनका अनुसार पक्राउ परेका चिनियाँ नागरिकलाई अवैध सुन ओसारपसार तथा सङ्गठित अपराधअन्तर्गत मुद्दा चलाइने छ ।</p>
<p style="text-align:justify">उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ । यससँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक कडायतले बताए । </p>
<p style="text-align:justify">राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सुन सहितको एक सय ५५ किलो ब्रेक शु बरामद गरेको थियो । तर, यही मङ्गलबार गालेर जोख्दा ६० किलो मात्र सुन भएको पुष्टि भएको थियो । <em>रासस</em></p>